काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेकखर्कमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘२ जनाको शव फेला परेको छ। उनीहरुको पहिचान हुन बाँकी रहेको छ। १ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी कार्य जारी रहेको छ।’
स्थानीयका अनुसार ८/१० जना बेपत्ता भएका छन्। पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। गएरातिको वर्षापछि पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन्।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !