चुरे क्षेत्रमा सबैभन्दा धेरै वर्षा

मनसुन सक्रिय

चुरे क्षेत्रमा सबैभन्दा धेरै वर्षा
सुन्नुहोस्

काठमाडौं : मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आएसँगै देशभर वर्षा सक्रिय बनेको छ। सोमबार चितवनमा सबैभन्दा धेरै २१९ मिलिमिटर वर्षा मापन भएको छ भने चुरे र तराईका अधिकांश क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारी वर्षासँगै नदीमा बहाव बढ्ने, डुबान तथा बाढी–पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक आएकाले राम्रो वर्षा भएको जानकारी दिए। उनका अनुसार अर्को साता पनि पुनः राम्रो वर्षा हुन सक्ने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार नेपालका प्रायः चुरे क्षेत्रमा सबैभन्दा धेरै वर्षा भइरहेको छ। उक्त क्षेत्रमा प्रायः अधिकांश स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। विशेषगरी तराई क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ। उनले भने, ‘सोमबार चितवन आसपासमा धेरै वर्षा भइरहेको छ। कतै वर्षा हुने र कतै रोकिने भए पनि बुधबारदेखि मात्रै वर्षा अलि कम हुनेछ।’ उनका अनुसार तराई क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी पानी परेपछि नदीको बहाव बढ्ने हुन्छ। तराईमा डुबान हुने हुन्छ। उनले कमजोर भूभागहरूमा पनि पहिरो जान सक्ने भएकाले सचेत हुनुपर्ने बताए।

मनसुनको समय भएकाले एकदमै ठूलो परिवर्तन नदेखिने र वर्षा भने भइरहने पनि विभागले जनाएको छ।मौसमविद् ढकालका अनुसार बागमती प्रदेशको काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोक आसपास, कोशी प्रदेश तथा गण्डकी प्रदेशका विभिन्न भूभागमा मध्यम वर्षा भइरहेको छ। यो समाचार तयार गर्दासम्म सबैभन्दा बढी चितवन आसपासका क्षेत्रमा २१९ मिलिमिटर वर्षा भएको देखिएको छ। देशमा अहिले भइरहेको वर्षाको मुख्य कारण मनसुनी वायुको प्रभाव नै रहेको र अझै केही समयसम्म वर्षा जारी रहने ढकालले बताए।

रातिको समयमा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

  •     मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै देशभर मनसुनी वर्षा सक्रिय।
  •     सोमबार चितवनमा सबैभन्दा धेरै २१९ मिलिमिटर वर्षा मापन । 

वर्षाका कारण कमजोर भूभागहरूमा पहिरो जान सक्ने, नदी तथा खोला किनारका क्षेत्रमा पानीको सतह बढ्दै जाँदा डुबानको समस्या आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ। मंगलबार पनि वर्षा कायमै रहने र विशेषगरी देशको पश्चिमी भूभागमा भने कम स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

वर्षाको प्रकृति हेर्दा देशका विभिन्न भूभागमा कतै भारी वर्षा हुने र कतै थोरै मात्र पानी पर्ने देखिएको छ। मनसुनको समय भएकाले वर्षा हुनु सामान्य रहेको उनले बताए।

जल तथा मौसम विज्ञान विभागले हालै सार्वजनिक गरेको अप्रिल महिनाको प्रतिवेदनले पनि यस वर्ष सुरुदेखि नै वर्षाको ढाँचा सामान्यभन्दा बढी रहेको देखाएको छ। विभागका अनुसार अप्रिल २०२६ मा देशभर औसत ८६.१ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, जुन बहुवर्षीय सामान्यभन्दा १४४.२ प्रतिशत बढी हो।

कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका अधिकांश भूभागमा ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको थियो भने कोशी र गण्डकीका केही क्षेत्रमा वर्षा २०० मिलिमिटर नाघेको थियो। सोही महिना सप्तरीको राजविराज स्टेसनमा सामान्यको तुलनामा सबैभन्दा बढी १,२६२ प्रतिशत वर्षा दर्ता भएको थियो भने संखुवासभाको नुम स्टेसनमा महिनाभरिकै सबैभन्दा बढी २८३.७ मिलिमिटर वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त झापाको केचना र गुल्मीको तम्घास स्टेसनमा एकदिने वर्षाको ऐतिहासिक उच्चतम रेकर्डसमेत कायम भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.