भैंसेपाटीस्थित मन्त्री निवास आसपासका सडकको बेहाल (फोटो फिचर)
![भैंसेपाटीस्थित मन्त्री निवास आसपासका सडकको बेहाल (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Bhaisepati1_SfF2p3XCUH_mEzJGJ6aC9.jpg)
काठमाडौं : ललितपुरको भैंसेपाटीमा अवस्थित छ मन्त्री निवास। सरकारले संघीय र मुख्यमन्त्रीका लागि बनाएको निवासलाई महलसरी सजाइएको छ। मन्त्री निवास आलिशान बनाइरहँदा त्यहीँ वरपरका सडकको भने बेहाल छ। त्यस वरपरका सडकको दुर्गति भनिसाध्य छैन। सयौं सवारीसाधन चल्ने सडकहरू हिलोपानीमा परिणत भएको छ।
ललितपुरको सानो खोकना र सिकाली मन्दिर पुरातात्विक महत्त्वको ठाउँमात्र होइन, नेवारी समुदायक आस्थाको केन्द्र पनि हो। तर, त्यही सिकाली मन्दिर र सानो खोकाना जाने सडक हिलोमा परिणत भएको हो। जसका कारण सिकाली मन्दिरमा हुने पूजाअर्चना गर्न जानका लागि पनि सडक बाधक बनिरहेको स्थानीहरूको गुनासो छ।
भैंसेपाटीस्थित मन्त्री निवास ललितपुरको निर्वाचन क्षेत्र नं ३ मा पर्छ। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी थिइन्। उनले एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पराजित गरेकी थिइन्। निर्वाचनताका तोसिमाले ती क्षेत्रहरूका सडक कालोपत्रे गर्ने आश्वासन दिएको स्थानीयहरूले बताएका छन्।
कार्कीले निर्वाचनका बेला स्थानीयसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै उनीप्रति आक्रोशित भएका छन्।
स्थानीयहरूले सडकको अवस्था बेहाल हुँदासमेत सम्बन्धित निकायको ध्यान जान नसकेको गुनासो गरेका छन्। 'मन्त्रीहरू क्वाटरमा बस्न थालिसकेका छन्। दिनहुँ आवात जावत गर्दासमेत आसपासका सडकमा उनीहरूले चासो देखाएका छैनन्। भोट माग्न आएका स्थानीय जनप्रतिनिधि पनि अहिले मुख देखाउन आउँदैनन्,' स्थानीयहरूले गुनासो गर्छन्।
सडक बनाइदिने आश्वासन दिएको पनि दुई वर्ष बढी भइसकेको स्थानीयहरूले बताएका छन्। वर्षायाममा सडक हिलोपानी बन्दा दैनिक जीवन नै कस्टकर बनेको उनीहरूको आरोप छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)