खुल्लारुपमा गाई गोरु तस्करी

खुल्लारुपमा गाई गोरु तस्करी
पालुङ्टार नगरपालिका ९ कुमालगाउँस्थित संकलन केन्द्रमा राखिएका गाईगोरु।
सुन्नुहोस्

गोरखा : नेपालमा कानूनतः गाईगोरु बध गर्न निषेध छ। गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ। तर बध गर्ने उद्देश्यले प्रहरी, प्रशासन र सर्वसाधारणकै सामु गाईगोरु ओसारपोसार तथा तस्करी भइरहेको छ।

तस्करीका गाईगोरु आँखैअघि ओसारपोसार भइरहे पनि पक्राउ गरी दण्ड जरिवाना गर्न सरकारी कागजात बाधक बनेको छ।
तस्करहरूले पालुङ्टार नगरपालिका ९ कुमालगाउँमा संकलन केन्द्र बनाएर खुल्लमखुल्ला गाईगोरु ओसारपोसार गरिरहेका छन्। 

सरकारी निकायले बनाइदिएको पुर्जीको आडमा कारोबारीहरूले पहाडी गाईगोरु यहाँ संकलन गरी सीमा कटाउने गरेका छन्। अदालतको फैसला लगायतको पुर्जी देखेपछि नियन्त्रण गर्नुपर्ने प्रहरी पनि मुकदर्शक भएर बस्ने गरेको छ। 

आइतबार मध्यराती एक बजे कुमालगाउँको गाईगोरु संकलन केन्द्रबाट ३२ वटा गाईगोरु सप्लाई गरिएको छ। सोमबार यहाँबाट चलान गर्ने योजना रहे पनि स्थानीयबासीले अवरोध गर्ने सक्ने संकेत पाएपछि मध्यराती लगेका स्थानीयबासीको भनाइ छ।

यहाँबाट दिनदहाडै नियमित गाईगोरु सप्लाइ भइरहेको टुलुटुलु हेरेर बस्नु परेको स्थानीयबासी गुनासो गर्छन्। ‘यहाँबाट महिनामा दुई पटक ट्रकमा राखेर खुल्लमखुल्ला गाईगोरु सप्लाई गर्छन्’, स्थानीय महेन्द्र श्रेष्ठ भन्छन्, ‘आफ्नै आँखाअघि गाईगोरु तस्करी भइरहेको टुलुटुलु हेरेर बस्नु परेकोछ। प्रहरीलाई खबर गर्दा पनि केही सीप लाग्दैन। प्रहरी पनि ‘हामीले केही गर्न सक्दैनौँ, अन्तिममा जसरी पनि छोड्नै पर्छ’ भन्छन्। हामी स्थानीयबासीले त झन के गर्न सक्छौँ र ?’ 

कुमाल गाउँको गाईगोरु संकलन केन्द्रमा सप्लायर्सका कामदारहरूले पालुङ्टार नगरपालिकाको वडा नं. ९ र १० र गोरखा नगरपालिकाको वडा नं. १३ र १४ को सो पाटोबाट गाई गोरु संकलन गर्ने गर्छन्। ‘कुमार गाउँको संकलन केन्द्रमा राखेको गाईगोरु त्यही क्षेत्रमा संकलन गरिएको हो। अरु धेरै कुरा भोलि भनौंला’, फोन काट्न हतार गर्दै चौपाया सप्लायर्सका प्रतिनिधि अर्जुन बुढाथोकी भन्छन्। उनले आफू आँबुखैरेनीमा रहेर काम गर्ने गरेको बताए।

केही समयअघि ओसार्न तयारी गरेको एक ट्रक गोरु स्थानीय रातामाटे प्रहरीचौकीले एकरात रोकेको  थियो। तर भोलिपल्टै व्यवसायीले सप्लाई गर्न सरकारले बनाइदिएको पुर्जी, अदालतको आदेश, कर तिरेको कागजात र क्वारेन्टाइनको कागज तेर्स्याएपछि छाडिदिनु परेको थियो। गाउँबस्तीबाट संकलन गरेको गाईगोरु ‘स्वस्थ छ’ भनेर गोरखा सदरमुकाममा भेटेरिनरी पसल गरी बसेका पशु चिकित्सकले फिल्डमा नगई ‘क्वारेन्टाइन पास’ बनाइदिने गरेका छन्। 

कागजात दुरुस्त देखाएपछि आफूहरूले चाहेर पनि नियन्त्रणमा लिन नसक्ने गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकको भनाइ छ। ‘हामीसँग सूचना पनि नभएको होइन, हामीले नियन्त्रण गर्ने प्रयास नगरेको पनि होइन’, एसपी पाठक भन्छन्, ‘हामीले नियन्त्रणमा लिएर के गर्ने, पशुचौपाया ओसार्न पाउने सबै कागजात दुरुस्त लिएर आउँछन्। अदालतको फैसला समेत बोकेर हिँड्छन्।’ 

पशुचौपाया सप्लाई गर्ने उद्देश्यले दर्ता भएका फर्महरूलाई बिना रोकटोक देशभर गाईगोरु सप्लाई गर्न दिनू भन्ने ब्यहोराको अदालतको आदेश, कम्पनी दर्ता प्रमाणपत्र, कर तिरेको पुर्जी, क्वारेन्टाइन पास भएपछि सप्लायर्सहरुले विधिवत रुपमा गाईगोरु सेटिङमा देश कटाउने गरेका छन्। सप्लायर्सहरूसँग गोरखालगायतका पहाडी जिल्लाबाट मकवानपुरसम्मका लागि सप्लाई पुर्जी हुने गर्छ। त्यहाँबाट सेटिङ मिलाएर तस्करहरूले पहाडी गाईगोरु वर्षौंदेखि भारत, बंगलादेशतर्फ तस्करी गर्ने गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.