कर वृद्धिविरुद्ध मोरङमा आन्दोलन, रंगेली बजार र यातायात बन्द

कर वृद्धिविरुद्ध मोरङमा आन्दोलन, रंगेली बजार र यातायात बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरू गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै शुक्रबार रंगेली बजार र यातायात बन्द गराएका छन् । 

मुख्य सडकमा रोक लगाइएपछि प्रहरीले भित्री सडकबाट सवारीसाधन सञ्चालन गराएको छ । बन्दका कारण बजार र यातायात ठप्प भएको छ । त्यसअघि कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारीमाथि हातपात एवं दुव्र्यवहार गरिएको रंगेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले बताए । 

उनका अनुसार बिहान ९ बजेदेखि नै आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए । ‘आन्दोलनकारीहरू ९ बजेदेखि नै भेला भएर गेटमा बसेका थिए । कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरे,’आचार्य भन्छन्, ‘कर्मचारीमाथि हातपात र दुव्र्र्यवहार भएको छ । बजार र यातायात बन्द गराएका छन् ।’ 

त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । रंगेली–२ का ४३ वर्षीय सुवास सिग्देललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी कांग्रेस मोरङ क्षेत्र नम्बर २ का सचिव रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार उनीलगायतले कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेका थिए । 

आन्दोलनको नेतृत्व कांग्रेस मोरङका सचिव मोदराज घिमिरे र रंगेली नगर सभापति जगरनाथ मण्डलले गरिरहेका छन् । कर्मचारीलाई अवरोध गर्ने योजनासहित आज बिहानदैखि करिब १ सय ५० जनाको संख्यामा कांग्रेस कार्यकर्ताहरु नगरपालिकाअगाडि भेला भएका थिए । 

आन्दोलनको नेतृत्वकर्ता घिमिरे गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का दिलिप बगडियासँग मेयरमा पराजित भएका थिए । नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै केही दिनदेखि कांग्रेसले आन्दोलन गरिरहेको छ । 

मेयर बगडिया भाइको उपचारका लागि भारतमा छन् । उनी भारत भएकै बेला कांग्रेसले आन्दोलन चर्काएको हो । वृद्धि गरिएको कर तत्काल नघटाए आन्दोलनलाई थप सशक्त बनाउने घोषणा कांग्रेसको छ । 
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधबार आन्दोलनमा उपस्थित भएर नारा जुलुस र प्रदर्शनमा सहभागी भएका थिए । मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार आन्दोलनमा साथ दिए पुगे । एउटा पालिकाविरुद्ध भएको आन्दोलनमा साथ दिन थालेपछि अर्को पालिकाका प्रमुख तथा जनप्रतितिधि विवादमा तानिन थालेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित घटनालाई मध्यनजर गरेर रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘कुनै अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ,’ उनले भने, ‘विभिन्न युनिनबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

कुनै पनि उच्छृङ्खल गतिविधि भएमा त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने डीएसपी बस्नेतले बताए । उनले बन्द गराइएको बजार र यातायात खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.