अमेरिकामा चुनावी सरगर्मी, कस्ले मार्ला बाजी ?

अमेरिकामा चुनावी सरगर्मी, कस्ले मार्ला बाजी ?

काठमाडौं : राष्ट्रपतीय निर्वाचनको लागि ह्यारिस र डोनाल्ड ट्रम्पबीच गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि अहिले चुनावी चहलपहल निकै बढेको छ। बहसमा दुवै नेताले एक अर्कालाई कडा प्रहार गरेका थिए। अमेरिकी टेलिभिजन च्यानल एबीसी न्युजमा करिब ९० मिनेट प्रत्यक्ष प्रसारण गरिएको बहसको पहिलो आधा घण्टा राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसले एकआपसलाई झुटो बोल्ने व्यक्तिको आरोप लगाए। बाँकी एक घण्टाको बहसमा ट्रम्प बढी आक्रोशित देखिए पनि ह्यारिस संयमित र तर्कसम्मत रूपमा अगाडि बढिन्। ह्यारिसले ट्रम्पमाथि विभिन्न विषयमा प्रहार र व्यंग्य गरिरहिन्। ट्रम्पले भने आफ्ना अधिकांश विषयलाई प्रभावकारी ढंगले राख्न सकेनन्। त्यसैले पनि बहसमा ट्रम्पमाथि ह्यारिस हाबी भएको धेरैले महसुस गरे। 

यता ट्रम्पले भने बहसपछि नै आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा मध्यस्थकर्ताहरूले आफूविरुद्ध पक्षपात गरेका भन्दै पोस्ट गरेका थिए। बुधबार बिहान फक्स न्युज च्यानलको ‘फक्स एन्ड फ्रेन्ड्स’ मा उपस्थिति जनाउँदै ट्रम्पले उक्त बहस अनुचित र एक धाँधलीपूर्ण सम्झौता भएको बताउँदै टेलिभिजन च्यानललाई नै बदमाशको संज्ञा दिए। उनले एबीसीका मध्यस्थकर्ता लिन्से डेभिस र डेभिड मुइरले उनलाई मात्र तथ्य–जाँच गरेका र उपराष्ट्रपति ह्यारिसको पक्ष लिएका आरोप लगाए। उनले उक्त च्यानललार्ई दण्डित गर्नुपर्नेसमेत बताए। त्यसैगरी ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी प्रतिद्वन्द्वी ह्यारिससँग दोस्रो बहस गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्। दोस्रो बहस आगामी सेप्टेम्बर १६ तारिखका दिन टेक्सासको सान मार्कोसमा तय गरिएको छ। हाल दुवै उम्मेदवार आफ्नो चुनावी अभियानमा व्यस्त रहेका छन्।

चुनावी एजेन्डामा को अगाडि

अमेरिकामा चुनाव जित्न लैंगिक र भावनात्मक विषयले भन्दा उनीहरूको चुनावी एजेन्डाले नै महŒवपूर्ण भूमिका निभाउने हालै चुनावी वक्ताका रूपमा काठमाडौं आएकी अमेरिकाको मोन्टाना विश्वविद्यालयकी सहप्राध्यापकले एक कार्यक्रममा बताइन्। 

चुनावी एजेन्डामध्ये अमेरिकी राष्ट्रपतीय चुनावको हारजितमा सबैभन्दा महŒवपूर्ण मुद्दा अर्थतन्त्रलाई मानिन्छ। ह्यारिसको तुलनामा ट्रम्पलाई आर्थिक नीतिमा राम्रो निर्णय गर्न सक्ने व्यक्तिका रूपमा लिइन्छ। त्यसैले अमेरिकाको अर्थतन्त्र र मुद्रास्फीतिको विषयमा अधिकांश मतदाता ट्रम्पकै पक्षमा देखिन्छन्। यसैगरी सीमा सुरक्षा र अध्यागनमका विषयमा पनि ट्रम्पमाथि मतदाताको धेरै विश्वास रहेको देखिन्छ। गर्भपतन अधिकार र प्रजनन स्वास्थ्यसम्बन्धी विषयमामा ह्यारिसलाई मतदाताले पत्याएका छन्। अन्तर्राष्ट्रिय नीति र सम्बन्धहरू, युक्रेन–रुस युद्ध, इजरायल–गाजा युद्धलगायतका विषयमा भने मतदाता दुवै पक्षमा विभाजित रहेका देखिन्छन्।

स्विङ राज्यका अनिर्णीत मत

अमेरिकामा करिब २४ करोड नागरिक मतदानका लागि योग्य मानिन्छन्। तर यिनीहरूमध्ये सम्भवतः सानो संख्याको मतदाताले आगामी राष्ट्रपति को बन्ने भन्ने तय गर्नेछ। मतदानको विश्लेषण गर्दै अधिकांश विश्लेषकले अमेरिकाका केही स्विङ स्टेट्मा भने डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्मध्ये जोसुकैले पनि जित्न सक्ने स्थिति रहेको बताएका छन्। अमेरिकाको ५० राज्यमध्ये एरिजोना, फ्लोरिडा, जोर्जिया, मिसिगन, मिनिसोटा, नभडा, न्यु मेक्सिको, नर्थ क्यारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनजस्ता राज्यका अनिर्णीत मतदाताले आफ्नो हातमा ह्वाइट हाउसको साँचो लिएर बसेको बताइन्छ। त्यसैले यिनै मतदाताको मन जित्ने ह्यारिसले सक्दो कसरत गर्नुपर्ने देखिन्छ। यस्ता स्विङ राज्यका ‘स्विङ भोटर’ले गर्भपतनमा डेमोक्रेटिकका उम्मेदवारप्रति आफ्नो झुकाव देखाएका छन्। गर्भपतनलाई अपराध नमान्ने सन् १९९३ मा भएको फैसलालाई सर्वोच्च अदालतले सन् २०२२ को जुनमा उल्टाएको थियो। सर्वोच्चले गरेको उक्त निर्णयपछि धेरै अमेरिकी मतदाताको लागि गर्भपतन राजनीतिक एजेन्डाको शीर्ष स्थानमा परेको छ। राष्ट्रपति चुनाव नजिकिँदै गर्दा मतदाताका लागि प्रमुख मुद्दाहरूमध्ये गर्भपतन अधिकार एक हो। गर्भपतन अधिकार उल्टाउने सर्वोच्चको उक्त फैसलाको श्रेय ट्रम्पले लिँदै आएका छन्। उनी आफू राष्ट्रपति हुँदासमेत २० साता बढीको गर्भपतन गर्न नपाइने कानुनको पक्षमा उभिएका थिए। गर्भपतनलाई चुनावको एक परिभाषित मुद्दाको रूपमा सेट गरिएसँगै बेलायती परामर्श कम्पनी रेडफिल्ड एन्ड विल्टन स्ट्राटिजिजले द टेलिग्राफसँगको साझेदारीमा हालै गरेको ए सर्वेक्षणअनुसार दसमध्ये नौ वटा स्विङ राज्यहरूमा ५० देखि ५३ प्रतिशत मतदाताहरूले नोभेम्बरमा आफ्नो मत निर्धारण गर्न गर्भपतन अत्यन्तै महŒवपूर्ण विषय हुने बताए। प्रत्येक राज्यका ४९ देखि ६० प्रतिशत महिलाले भोट निर्धारणमा गर्भपतन अत्यन्तै महŒवपूर्ण एजेन्डा हुने बताए भने प्रत्येक राज्यका पुरुषमध्ये ४४ देखि ५१ प्रतिशतले पनि सोही विषयलाई समर्थन गरे। स्विङ राज्यका धेरै मतदाताहरू ४८ देखि ५७ प्रतिशतले गर्भपतनको मुद्दामा ट्रम्पभन्दा ह्यारिसलाई बढी विश्वास गरेको बताए। तुलनात्मक रूपमा करिब २६ देखि ३५ प्रतिशत मतदाताले मात्र यस मुद्दामा ह्यारिसभन्दा ट्रम्पलाई बढी विश्वास गरेको बताए। 

त्यसैगरी करिब ८ हजार ५ सय २४ स्विङ मतदाताहरूबीच गरिएको भोटिङ इन्टेन्सन पोलमा ह्यारिस १० सम्भावित स्विङ राज्यहरूमध्ये पाँचमा ट्रम्पभन्दा एकदेखि सात अंकले अगाडि रहेको पाइयो। पेन्सिलभेनियामा दुवैको ४५ प्रतिशतबराबर मतदाता छन्। ट्रम्प एरिजोनामा ह्यारिसभन्दा एक अंकले, फ्लोरिडामा ६ अंकले, जर्जियामा दुई अंकले र नेभाडामा एक अंकले अगाडि रहेको पाइयो। 

इतिहास रचिँदै

यस पटकको राष्ट्रपतीय निर्वाचनमा दुई उम्मेदवारमध्ये जसले जिते पनि अमेरिकामा एक इतिहास रचिनेछ। ह्यारिसको जितले उनी पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन्। अमेरिकाले महिलालाई मतदानको अधिकार दिएको १ सय ४ वर्षपछि उनी पहिलो एसियाली अमेरिकी र पहिलो अश्वेत महिला राष्ट्रपति पनि हुनेछिन्। संयुक्त राज्य अमेरिकाको संविधानको १९औं संशोधनपछि सन् २०२० देखि महिलाले मताधिकार पाएका थिए। ह्यारिसले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेर पहिले नै इतिहास रचिसकेकी छन्। ट्रम्पले जिते भने उनले ७८ वर्षको उमेरमा उक्त पद सम्हाल्ने सबैभन्दा वृद्ध राष्ट्रपतिको इतिहास निर्माण गर्नेछन्। 

मत सर्वेक्षणमा आआफ्नै दाबी
अमेरिकी राष्ट्रपतीय निर्वाचनको सिलसिलामा केही दिनअघि भएको ट्रम्प र ह्यारिसबीचको राष्ट्रपतीय बहसपछि धेरै मत सर्वेक्षण बाहिर आएका छन्। यसमा मतदाताले यी दुवै उम्मेदवारका जितका बारेमा विभिन्न दाबी गरेका छन्। गत बिहीबार सम्पन्न रोयटर्स र इप्सोस पोलका अनुसार राष्ट्रपतीय बहसपछि पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ह्यारिसको ग्राफ अचानक बढेको देखिन्छ। मतदाताबीच गरिएको दुईदिने मत सर्वेक्षणमा ह्यारिसले पाँच प्रतिशत अंकले अग्रता लिएको देखिन्छ। 

अमेरिकाको पिउ रिसर्च सेन्टरले गत अगस्ट २६ देखि सेप्टेम्बर २ सम्म गरेको एक अध्ययनमा ह्यारिसको उम्मेदवारीमा उनको लिंग, जात र जातीयताको प्रभावको बारेमा मतदाताहरूले मि िश्रत विचारहरू राखेका छन्। उनी एक महिला हुन् र उनी कालो र एसियाली हुन् भन्ने तथ्यले उनलाई नोक्सानी नभई, सहयोग नै पु¥याउने धेरै मतदाताको विचार छ। तर ह्यारिसका प्रशंसकमध्येका ३०% ले र ट्रम्पका प्रशंसकमध्येका १९% ले उनको जात र जातीयताले मतमा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।

८ हजार ४४ मतदातासहित ९ हजार ८ सय २० वयस्कमा गरिएको पछिल्लो राष्ट्रिय सर्वेक्षणले राष्ट्रपति जो बाइडेन चुनावी अभियानबाट पछि हटिसकेपछिको अवस्थामा कतिको परिवर्तन भएको छ वा छैन भन्ने पनि प्रष्ट्याएको छ। 

सर्वेक्षणमा झन्डै आधा मतदाताले ट्रम्पको उमेरले उनको उम्मेदवारीलाई असर गर्ने बताए। ४९% मतदाताहरूले ट्रम्पको उमेरले उनलाई चुनावमा सहयोग गर्नुभन्दा नोक्सान गर्ने बताए भने ३% प्रतिशतले सहयोग पु¥याउने जनाए। बाँकी मतदाताले भने धेरै फरक नपर्ने विचार राखे। ४६%मतदाताहरूले ह्यारिसको उमेरले उनलाई सहयोग गर्ने बताए। ५९ वर्षीया ह्यारिसलाई उमेरकै कारणले अप्ठेरो पर्ने जम्मा ३ प्रतिशत मतदाताको धारणा थियो। 

आलोचनामा ट्रम्प अगाडि

ट्रम्प व्यक्तिगत रूपमा ह्यारिसको निकै आलोचना गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। करिब दुईतिहाइ मतदाता ६६%ले ट्रम्पले ह्यारिसको व्यक्तिगत रूपमा धेरै आलोचना गरेको बताउँछन्। तुलनात्मक रूपमा, कम अर्थात् ४५% ले ह्यारिसले व्यक्तिगत रूपमा ट्रम्पको धेरै आलोचना गरेको बताए। करिब १० मध्ये चार जना ट्रम्पका समर्थकहरू अर्थात् ४१% ले ट्रम्पले आफ्नो प्रतिद्वन्द्वीको धेरै आलोचना गर्ने बताए। यसको तुलनामा ह्यारिसका समर्थकहरूमध्ये १२% ले उनले ट्रम्पको आलोचना गरेको जनाए।

अनिश्चित परिणाम र २०२० को चुनाव

यस पटकको चुनाव कसले जित्ला भन्ने अझै स्पष्ट नभइसकेको अधिकांशको भनाइ छ। केवल २०% मतदाताले चुनावमा कुन उम्मेदवारले जित्ने भनेर पहिले नै स्पष्ट भइसकेको बताए भने ८०% ले भने अझै स्पष्ट नभइसकेको जनाए। कसले जित्छ भन्ने प्रस्ट भइसकेका मतदाताले भने आफ्नो मनपर्ने उम्मेदवार विजयी हुने बताए। अझै स्पष्ट नभएको बताउनेहरूलाई सोध्दा पनि उनीहरूले सबैभन्दा उत्तम अनुमान भन्दै आफूलाई मनपर्ने उम्मेदवारको नाम लिने गरेको पाइएको छ। 

सन् २०२० को चुनावमा ट्रम्पको भूमिका विभाजनकारी देखिएको मतदाताको भनाइ छ। १० मध्ये चार मतदाता अर्थात् ४६% भन्दा बढीले ट्रम्पले सन् २०२० को चुनावको नतिजा परिवर्तन गर्ने प्रयासमा कानुन तोडेको बताए। अन्य १४% ले भने ट्रम्पले केही गल्ती गरे पनि कानुन भने नतोडेको विचार राखे। अन्य २७% ले भने ट्रम्पले कुनै गल्ती नगरेको जनाए। 

ट्रम्पको न्युयोर्क ठगी मुद्दामा पनि मतदाताहरू विभाजित देखिन्छन्। न्युयोर्कका न्यायाधीशले ट्रम्पविरुद्धको आपराधिक मुद्दामा सजाय सुनाउन ढिलाइ गर्नुअघि नै यो सर्वेक्षण पूरा भइसकेको थियो। उक्त मुद्दामा उनी झुटा व्यापारिक रेकर्ड र स्टोर्मी डेनियललाई ‘हश मनी’ भुक्तानीसँग सम्बन्धित आरोपमा दोषी पाइएको थियो। सबै मतदाताहरूमध्ये, ३९% ले ट्रम्पले जेलमा समय बिताउनुपर्छ भनेका थिए भने ४५% ले पर्दैन भनेका थिए। ह्यारिस समर्थकहरूमध्ये ७२% ले भने ट्रम्पले जेलसजाय भोग्नुपर्ने विचार राखेका थिए। त्यसैगरी ट्रम्प समर्थकहरूमध्येको ठूलो भाग अर्थात् ८१% ले उनले जेलसजाय भोग्नु नपर्ने बताएका छन्। 

डेमोक्र्याट र रिपब्लिकनको प्रतिक्रिया

हालै सम्पन्न रोयटर्सको सर्वेक्षणका अनुसार राष्ट्रपतिमा उम्मेदवार दुई नेताबीचको बहसपछि ५३ प्रतिशत रिपब्लिकनले ट्रम्पले चुनाव जितेको बताएका छन्। त्यसैगरी ९१ प्रतिशत डेमोक्र्याटले भने ह्यारिसको जितको सम्भावना व्यक्त गरेका छन्। एबीसी न्युजको उक्त बहसलाई करिब ६७.१ मिलियन दर्शकले हेरिसकेका छन्। यसअघि जुन महिनामा भएको ट्रम्प र राष्ट्रपति बाइडेनबीचको बहस ५१ मिलियनले मात्र हेरेका थिए। उक्त बहसमा ट्रम्पले बाइडेनमाथि विजय हासिल गरेका थिए। त्यसपछि बाइडेनका पार्टीका मानिसले उनलाई राष्ट्रपतीय दौडबाट बाहिरिन आग्रह गरेपछि ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरिएको थियो। सर्वेक्षणले १ हजार ४ सय ५ दर्ता भएका मतदातासहित राष्ट्रव्यापी १ हजार ६ सय ९० अमेरिक वयस्कहरूको धारणा बुझेको थियो। 

निर्वाचनमा इलेक्टोरल मत निर्णायक

अमेरिकाको अन्य निर्वाचनमा उम्मेदवारहरू प्रत्यक्ष जनमतद्वारा निर्वाचित हुन्छन्। तर राष्ट्रपति र उपराष्ट्रपति भने जनताबाट प्रत्यक्ष निर्वाचित हुँदैनन्। उनीहरू इलेक्टोरल कलेज प्रक्रियामार्फत छनोट हुन्छन्। अमेरिकाका ५० राज्य र वासिङ्टन डीसीका तीन इलेक्टोरलसहित जम्मा ५ सय ३८ इलेक्टोरल मत हुन्छन्। यीमध्ये निर्वाचनमा विजयी हुनका लागि कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ। प्रत्येक राज्य नै पिच्छे फरक मतभार हुन्छ। जनताबाट चुनिएका इलेक्टरलले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्छन् र आफ्नो भावी राष्ट्रपतिको छनोट गर्छन्। 

नजिकबाट उम्मेदवार नियाल्दा

अमेरिकी राष्ट्रपतिको उम्मेदवार ह्यारिस प्रमुख राजनीतिक दलको नेतृत्व गर्ने पहिलो अश्वेत महिला र पहिलो एसियाली अमेरिकी हुनेछन्। भारत र जमैकाका आप्रवासीकी छोरी, ह्यारिस ओकल्यान्डमा हुर्केकी हुन्। उनले आफ्नो राजनीतिक करियरको धेरैजसो समय क्यालिफोर्नियाको खाडी क्षेत्रमा बिताइन्। एक अमेरिकी सिनेटरको रूपमा ह्यारिस ट्रम्प प्रशासनका अधिकारीहरू र महान्यायाधिवक्ता जेफ सेसन्स र सर्वोच्च अदालतका भावी न्यायाधीश ब्रेट काभानोलगायतका उम्मेदवारहरूसँग सुनुवाइको क्रममा प्रश्न गर्ने शैलीका लागि परिचित छन्।

वर्तमान उपराष्ट्रपति ह्यारिस अमेरिकी इतिहासमा उच्च श्रेणीको महिला राजनीतिक अधिकारी हुन्। उनले यसअघि अमेरिकी सिनेटर, क्यालिफोर्नियाको महान्यायाधिवक्ता र सन्फ्रान्सिस्को जिल्ला न्यायाधिवक्ताको रूपमा काम गरिसकेकी छिन्। आफ्नो राष्ट्रपतीय अभियानलाई पूर्ण रफ्तारमा अघि बढाउँदै उनले राष्ट्रपति बाइडेनका धेरै नीतिगत मुद्दाहरूलाई जारी राख्ने विषय उठाएकी छन्। जसमा मध्यम–वर्ग र निम्न आय भएका परिवारहरूलाई कर ‘क्रेडिट’ प्रदान गर्ने, औषधिको लागत घटाउने र तथाकथित जंक शुल्कहरू हटाउने विषय समावेश छन्। 

ह्यारिसले उपराष्ट्रपति उम्मेदवारका रूपमा टिम वाल्जलाई खडा गरेकी छन्। वाल्ज मिनेसोटा गभर्नरको रूपमा आफ्नो दोस्रो कार्यकालमा छन् र डेमोक्रेटिक गभर्नर एसोसिएसनको अध्यक्ष पनि हुन्। एक समयको हाइस्कुल शिक्षक र फुटबल कोच रहेका वाल्जले आर्मी नेसनल गार्डमा पनि सेवा गरे। उनले त्यसपछि दक्षिणी मिनेसोटाको एक रुढिवादी झुकावयुक्त ग्रामीण जिल्लाको प्रतिनिधित्व गर्दै १२ वर्ष कंग्रेसमा बिताए। स्पष्ट वक्ता वाल्ज जो बाइडेनका ‘डिफेन्डर’ थिए। तर जब राष्ट्रपति बाइडेनले छोडे, उनले ह्यारिसलाई समर्थन गरे।

 त्यसैगरी, राष्ट्रपतीय निर्वाचनका अर्का उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर २०२२ मै ह्वाइट हाउसमा आफ्नो पुनः दाबी पेस गरेका थिए। ट्रम्पले जो बाइडेनसँग हारेपछि सन् २०२० को चुनावको नतिजालाई अस्वीकार गर्दै चुनावी धोकाबाजीका विषयमा आधारहीन षड्यन्त्रलाई बढावा दिए। आफ्नो चुनावी पराजयपछि जनवरी ६, २०२१ को विद्रोहलाई उक्साउन भूमिका निभाएको भन्दै अमेरिकी प्रतिनिधिसभाले ट्रम्पलाई दुई पटक महाभियोग लगाएको थियो। 

ट्रम्पले पेन्सिलभेनिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। सन् २०१६ को राष्ट्रपतीय चुनावअगाडि ट्रम्प घरजग्गा कारोबारी, व्यापारी र ‘द एप्रेन्टिस’ नामक टेलिभिजन रियालिटी शोका होस्टका रूपमा चिनिन्थे। 

यदि आफूले अर्को कार्यकाल जितेमा संघीय सरकारका प्रमुख गुटहरू फेरबदल गर्ने र सामाजिक सुरक्षा कार्यक्रमहरू घटाउने ट्रम्पले बताएका छन्। उनले आफ्ना राजनीतिक विपक्षीहरूविरुद्ध बदला लिने वाचा पनि गरेका छन्। ट्रम्पले बाइडेन र उनका परिवारलाई पछ्याउन विशेष अभियोजक नियुक्त गर्ने बताएका पनि केही सञ्चारमाध्यमले जनाएको छ। 

उनले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार उठाएका छन्। भान्स सन् २०२२ मा ओहायोबाट अमेरिकी सिनेटमा निर्वाचित भएका हुन्। सबैभन्दा धेरै बिक्री भएको संस्मरण ‘हिलबिली एलेगी’का लेखक भान्स सन् २०१६ को चुनावमा ‘नेभर ट्रम्प’ आन्दोलनका प्रमुख अगुवा बनेका थिए। तर पछि उनी विस्तारै ट्रम्पका एक प्रमुख समर्थक बने। 

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.