एउटा बिरामी जसले बचाइरहेछ हजारौं बिरामी

स्वास्थ्य

एउटा बिरामी जसले बचाइरहेछ हजारौं बिरामी
तस्बिर  :  पुरुषोत्तम घिमिरे

१८ वर्षदेखि निरन्तर लागिरहेका हरि सापकोटाको दाबी छ कि रहजरमा औषधिको गोली होइन, मान्छेको बोलीले रोग आधा निको बनाउँछ।

उपचारका लागि सबै अस्पतालमा धाउँछन् उनी। केही जोर नचलेपछि मात्र चेकजाँच गरेका रिपोर्ट र औषधिको झोला बोकेर नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पुग्छन् उनी। जहाँ भेटिन्छन्, हरि सर।

‘तपाईंले मोटरसाइकल कतिमा किन्नुभयो ? पेट्रोल नभए कहिलेकाहीँ मट्टीतेल हालेर चलाउन मिल्छ होला नि ? सर्भिसिङ समयमा नगरे केही हुँदैन होला है ?’ चिकित्सालय पुगेका उनै बिरामीलाई हरि सर बुझाउँदै थिए, ‘तीन लाखको फलामको साधनको यति माया गर्नेले यति अमूल्य शरीरको स्याहार गर्न पर्दैन ? सर्भिसिङ चाहिँदैन ?’ अनिमात्र उनी आफ्नो दिनचर्या र शरीरको अवस्थाबारे घोत्लिएर सोच्न थाल्छन्।

उपचार गर्दा कतै निको नभएका अनि पैसा सकेर हरेश खाएका उनीजस्ता बिरामी रजहर पुगेपछि आशा जाग्छ। रहजरमा पनि जब हरि सर भेटिन्छन् तब बिरामीको हौसला मात्रै होइन, बाँच्ने आशा पलाउँछ। बिरामीको अवस्था थाहा पाएपछि उनले उपचारको ग्यारेन्टी दिलाउँछन्। कारण र उपचार पद्धति बुझेपछि बिरामी हरि सरको भरोषामा उत्साहित हुन्छन्। हरि सरको भेटपछि खुसीले बिरामीको अनुहार फेरिन्छ।

त्यसो त सबैतिर धाएर शरीरले दु : ख पाएर हैरान भएकाहरूलाई प्राकृतिक चिकित्साप्रति झट्ट पत्यार लाग्दैन। अनि हरि सर भेटेपछि हौसिन्छन्। हँसिलो अनुहार, मिलेको जीउडाल, सबै उमेर समूहसँग उत्तिकै मिलनसार। नरम बोली र मिजासिलो व्यवहारले जोकोही पनि उनीसँग झ्याम्मिन्छन्। चिकित्सकको उपचारसँगै हरि सरको परामर्शले बिरामीलाई हौसला दिन्छ। उनै हरि सापकोटाकै अवधारणा र पहलमा रजहरमा प्राकृतिक चिकित्सालय स्थापना भएको हो।

ooo

२५ वर्षको उमेर। आठ थरीका जटिल रोग। कहीँ जाँदा पनि निको नभएपछि हरेस खाएका हरि सापकोटालाई भारतको गोरखपुरमा लैजाने तयारी थियो। ‘अब बाँचेर फर्कंदैन’ भनेर घरको आँगनमा रहेको एम्बुलेन्सको झ्यालबाट आफन्त र इष्टमित्रले हेर्दै थिए। रोग जटिल बनेर अन्तिम अवस्थामा पुगेपछि जीवनको मूल्य महसुस गर्न थाले। निको हुने आशमा सुविधासम्पन्न अस्पताल सबै पुगे। एउटैमात्र विकल्प बाँकी थियो, प्राकृतिक चिकित्सा। निको भए र अन्तत :  त्यही विधाबाट निको भएर प्राकृतिक चिकित्साको अभियन्ता बने ‘हरि सर’।

null

व्यवसाय गर्ने हुनाले पैसाको कमी थिएन उनीसँग त्यसबेला। २८–२९ वर्षको उमेरमा दीर्घरोगले थलिएका रजहरका उनी ग्यास्टिक, अल्सर, पिनास, टन्सिल, डिप्रेसनलगायतका रोगबाट ग्रसित थिए। नचहारेको अस्पताल थिएन। दस वर्ष धाए, लाखौं रकम सकियो। व्यवसायको कमाइ स्वास्थ्योपचारमा सकियो। उनको दिनचर्या रोएरै बित्थ्यो। रातभर निदाउँदैनथे। त्यसबेला उनले जीवनको मूल्यको महसुस गरे। चिनेका र सुनेका सबै अस्पताल धाउँदा र पैसा सकिँदा पनि निको नभएपछि भारतको गोरखपुरस्थित आरोग्य मन्दिर प्राकृतिक चिकित्सा केन्द्रमा पुगे।

तत्काल उनले कुनै परिणामको महसुस गरेनन्। एलोपेथिकको जस्तो रोग दबाउने दबाइ जस्तो थिएन, प्राकृतिक चिकित्सा पद्धतिमा। तीन महिनाको उपचारपछि उनी निराश हुँदै घरमै मरुँला भन्ने सोचेर फर्किए। त्यसको केही दिनमा पोखरामा पनि यस्तै अस्पताल छ भन्ने सुनेर त्यहाँ पनि पुगे।

बाँच्ने झिनो आशमा उपचार सुरु गरेका थिए उनले। तीन महिनामा त पूरा ठीक भयो। उनलाई पछि मात्रै थाहा भयो, भारतमा गरेको उपचारले शरीर सफा (शोधन) भएको रहेछ। पोखराकोले ‘हिलिङ’ ‘रिबिल्ट’ भएछ। र पो उनले नयाँ जीवन पाएछन्। त्यसैले त्यहाँ तीन वर्ष निस्वार्थ सेवा गरे उनले।
त्यसपछि प्रण गरे– ‘मैले त नयाँ जीवन पाएँ, अरूलाई किन नदिने ? ’ त्यही कारण जन्मियो, रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालय। उनको अठोट र दृढ संकल्पले सुरु भएको हो, सामुदायिक प्राकृतिक चिकित्सालय। ‘बाँचांैला भन्ने लाग्दैनथ्यो, एउटा मात्रै विकल्प थियो, प्राकृतिक उपचार विधि। 

त्यसले बाँचे जीवन त्यसैको विकासमा खर्चिन्छु भनेर हरि सरले कसम खाएका रहेछन्। हरि विगत सुनाउँछन्, ‘देशभरबाट बिरामी आएर निको भएर जाँदा आफैं निको भएर गएको महसुस हुन्छ। मैले उपचार विधि थाहा नपाएर दु : ख पाएँ। अब अरूले दु : ख नपाऊन् भनेर लागेको छु।’ आफूलाई पूर्ण रूपमा निको गराएको चिकित्सालय सञ्चालन हुन नसकेपछि त्यसलाई रजहर ल्याउनु सहज थिएन। एक त प्राकृतिक चिकित्सा पद्धतिप्रति नै विश्वास थिएन मानिसलाई। पोखराको प्राकृतिक चिकित्सालय सञ्चालन हुन नसकेपछि त्यसको ऋण तिरेर रजहर ल्याउनुपर्ने।

विभिन्न स्रोत जुटाएर जन्मस्थान नवलपरासीको रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालय स्थापना गर्ने निर्णय गरे। नाफाको जीवन समर्पण गर्ने अठोट गरेका उनको पहिलो काम बन्यो, समाज जगाउनु। सबै राजनीतिक दल र सामाजिक अगुवालाई कुरा बुझाउन लागे उनी। कालिका सामुदायिक वनको जग्गा भोगाधिकार मागे। सरकारसँग निर्णय गराएर उनले चिकित्सालय बनाउन अभियान चलाए।

२०६४ सालमा धान्याञ्जल महायज्ञ लगाएर करिब डेढ करोड संकलन भयो। त्यसबेला उनलाई धेरैले पत्याएनन्। चिकित्सालयको भवन निर्माण हुँदा पनि माटो सेकेर उपचार गर्ने कुरा विश्वास नलागेर भवनमा पछि कुखुरापालन या विद्यालय सञ्चालन होला भन्ने धेरैले सोचे। भोगाधिकार दिएको ठाउँ गाईगोठ भनेर धेरैले खिल्ली उडाए।

५२ शैय्यासहितको भौतिक संरचना निर्माण गरी २०६७ सालबाट चिकित्सालयको सेवा सुरु भयो। सुरुआतमा बैसाखी टेकेर आउने धेरै थिए। अहिले रोग नलागोस् भनेर आउने धेरै छन्। ‘एउटा बिरामीले पाएको पुनर्जीवनका कारण अरू हजारौं बिरामीले सही उपचार पाएका छन्। अहिले विश्वास बढ्नेमात्रै होइन, स्वास्थ्यप्रति मानिस जागरुक भएको पाएका छौं’, चिकित्सालयका निर्देशक डा. विनोद पौडेल भन्छन्, ‘हरिजी सबैका लागि एउटा उपचार हो भन्दा पनि फरक पर्दैन। उहाँको ऊर्जाले चिकित्सालय यहाँसम्म आएको हो। उहाँको सम्पूर्ण र त्यागको योगदान अतुलनीय छ।’

सापकोटा बिहान ७ बजेबाट बेलुकी ९ बजेसम्म चिकित्सालयमा भेटिन्छन्। राजनीतिक संक्रमणकालमा पनि सन्तुलन मिलाएर सबैलाई एकै ठाउँ ल्याएर अभियानमा अपनत्व हुने बनाए। भवन निमार्णका लागि मन्त्रालय धाउने, अस्पताल विकासका लागि सहयोग जुटाउने अभियानमा उनी १६ वर्षदेखि सक्रिय छन्। अहिले तीन सय शय्याको चिकित्सालयको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ। चिकित्सालयको सञ्चालनका लागि कार्यकारी समिति छ। समितिलाई अग्रसर गराएर उनी विभिन्न निकाय धाउनेदेखि सम्पर्क बढाएर सहयोग जुटाउन तल्लीन छन्। उनी घरपरिवार नै छोडेर समर्पित भएका छन्।

‘शत्मार्गको बाटो रोजेछु। हिजोभन्दा आज खुसी छु। धेरै मान्छे निको भएर जाँदा आशीर्वाद पाउँछु। सत्कर्म गरेछु भन्ने लाग्छ’, सापकोटा भन्छन्। अहिले चिकित्सालय सुविधा सम्पन्न हुँदै गएको छ। अत्याधुनिक मेसिन भित्रिएको छ। निराश भएकाहरू अनुहारमा खुसी बोकेर फर्किन्छन्। सर्जरीबाहेक सबै रोग निको पार्छन् उनी। कोरोना भाइरस संक्रमणको महामारीमा ७ सय ८९ जनालाई प्राकृतिक चिकित्सा र योगबाटै निको पारेको तथ्यांक छ। सीमित स्रोत, निश्चित जनशक्ति र न्यून शुल्कबाटै अहिले पनि प्राकृतिक चिकित्सालय सञ्चालन भएको छ। प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन उनी निरन्तर लागेका छन्।

अहिले प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो छ। एलोपेथिक औषधिले एउटा रोग निको भए पनि अरू समस्या आउने भएकाले अधिकांश रोगी अस्पताल धाउँदा पाएको सास्ती र औषधिले शिथिल बनाएको शरीर लिएर सामुदायिक प्राकृतिक चिकित्सालय आउँछन्। कहीँ कतै केही नलागेपछि मात्रै रोजाइ बन्छ रजहर। प्राकृतिक चिकित्सा र योग अस्पतालको विकासमा हरिले भने सरकारको साथ खोजेका छन्। अब प्राकृतिक चिकित्सा विधामा शिक्षण अस्पताल सञ्चालनमा ल्याउने योजना छ उनको।

चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री सापकोटाका पुराना दिन सम्झेर दंग पर्छन्। उनी कालिका सामुदायिक वनको अध्यक्ष हुँदा चिकित्सालयका लागि जग्गा दिने निर्णय भएको हो। अध्यक्ष क्षत्री र निर्देशक पौडेलसँगै हरि सापकोटा चिकित्सालयको विकासमा एकसाथ छन्। ‘एउटा बिरामी आफूमात्रै निको भएनन्, धेरैलाई रोग नलागोस् भनेर समर्पित भएर लाग्नु समाजका लागि उदाहरण हो’, अध्यक्ष सन्त भन्छन्, ‘बिहानदेखि बेलुकासम्म यति लाग्नुहुन्छ कि उहाँको खटनले हामीलाई पनि ऊर्जा दिएको छ।’ सापकोटाको दाबी छ कि रहजरमा औषधिको गोली होइन, मान्छेको बोलीले रोग आधा निको बनाउँछ। १८ वर्षदेखि उनी निरन्तर लागेका छन्। चिकित्सालय सुरु हुँदा धेरैको प्राकृतिक उपचार पद्धतिमा विश्वास नै थिएन। त्यसबेला बिरामी पाउनै मुस्किल थियो, अहिले बिरामीले पालो पाउनै मुस्किल छ। अहिले परिवारको तीनै पुस्ता उपचार लिन आउँछन्। ५० हजारले सेवा लिएका छन्।

कतिसम्म भने कहलिएका राजनीतिज्ञदेखि कलाकार, व्यवसायी, चिकित्सक सबैको रोजाइ बनेको छ, रजहरको यो चिकित्सालय। शान्त वातावरण, मनोरम बगैंचा। झट्ट हेर्दा चिकित्सालय भनेर विश्वास नै लाग्दैन। यहाँबाट हजारौंले नयाँ जीवन पाएका छन्। औषधिको ठेली छोडेर जीवनशैली सिकेर गएका छन्। उनीहरूले प्रचार गरेर अरू बिरामी आउँछन्। उपचार पद्धतिमा प्राकृतिक चिकित्सा र योग नै ठीक हो भन्ने बुझेर फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.