जुवा खालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ

१८ लाख बढी नगद बरामद

जुवा खालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा लामो समयदेखि संचालित जुवा खालमा प्रहरीले शनिबार राति छापा हानेको छ । 

जुवा खालबाट ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जुवा खेल्दै गर्दा राति ८ बजेतिर पक्राउ परेकाहरूबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । कटहराको बाँसघारीभित्र लामो समयदेखि अवैध जुवा खाल चलिरहेको थियो ।  

खालमा मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबी लगायतका स्थानमा घर भएकाहरू पनि जुवा खेल्न पुग्ने गरेका थिए । जुवा खेलिरहेका ग्रामथानका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पक्राउ पर्ने अन्य व्यक्ति पनि प्रतिष्ठित र धनाड्यहरु रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो । 

लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले संयुक्त रूपमा टोली परिचालन गरेका थिए । जुवा खाल आसपासमा केही समयदेखि निगरानी बढाएको प्रहरी छापा हान्ने उपयुक्त समयको पर्खाइमा थियो । 

पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको एसपी कार्कीले बताए । उनका अनुसार जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको हो । 

nullइलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो । 

बाँसघारीभित्र व्यवस्थित हिसाबमा जुवा खाल कसले संचालन गरेको थियो भनेर पत्ता लाग्न बाँकी छ । तर, उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन । 

प्रहरीका अनुसार जुवा खाल वरपर निगरानी गर्नका लागि खाल संचालकले तेतरिया बजारलगायतका विभिन्न स्थानमा पैसा दिएर मानिस खटाउने गरेका थिए । प्रहरी आउनसाथ निगरानीमा खटिएका व्यक्तिहरूको सूचनामार्फत जुवा खाल उठाएर जुवाडेहरु भाग्ने गरेका थिए । यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् । 

एसपी कार्कीका अनुसार शनिबार राति भने अर्कै बाटो प्रयोग गरेर पुगेको प्रहरी टोली छापा हानेर जुवा खेलिरहेकाहरुलाई ठूलो रकमसहित पक्राउ गर्न सफल भएको हो । छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवा खाल कसले संचालन गरिरहेको थियो भन्ने यकिन गर्ने काम भइरहेको छ ।

‘घरमा भएको भए घरधनी पक्राउ पर्थे । बाँस झ्याङमा भएकाले कसले संचालन गरेको थियो भनेर खुलाउन गाह्रो भइरहेको छ । पक्राउ परेकाहरुले केही बताउन मानेका छैनन्,’ एसपी कार्कीले भने, ‘आफैं मिलेर खेलेको हो मात्रै भन्छन् । बाँकी कुरा अनुसन्धानपछि खुल्दै जान्छ । यस विषयमा विस्तृतमा अनुसन्धान अघि बढाइएको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.