जननायक कोइरालाको संकल्प, सुन्दर बीपी राजमार्ग

जननायक कोइरालाको संकल्प, सुन्दर बीपी राजमार्ग

सिन्धुली : घुम्ती र नागवेली आकारको सुन्दर र सफा बनेपा–सिन्धुली–बर्दीवास (बीपी राजमार्ग) राजधानी काठमाडौंं र पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने वैकल्पिक राजमार्ग हो। 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइराला (बीपी कोइराला)का नाममा निर्माण गरिएको यस राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकासको ढोका खुला भएको हो। यसले आर्थिक तथा सामाजिक गतिशीलतालाई बढाउनुका साथै पूर्वी नेपाल र मध्य तराईलाई छोटो दूरीमा जोड्न सक्दा समयको समेत बचत भएको छ। बीपीले यस राजमार्गलाई तराई र राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा विक्रम सम्वत् २०१५ सालमै परिकल्पना गरेका थिए। २०१७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमा परेको राजमार्गलाई २०४६ सालको राजनीतिक परिवर्तनपछि निर्वाचिनत सरकारको पहलमा २०५२ सालबाट चार खण्डमा विभाजन गरेर निर्माण थालिएको थियो।

राजमार्गको पहिलो खण्ड महोत्तरीको बर्दिबास–सिन्धुलीमाढी ३७ किलोमिटर रहेको छ। राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किलोमिटर रहेको छ भने खुर्कोट–नेपालथोक तेस्रो खण्डअन्तर्गत ३७ किलोमिटर रहेको छ। यस्तै नेपालथोक–धुलिखेल चौथोखण्ड हो।

करिब २० वर्ष लगाएर निर्माण सम्पन्न गरिएको राजमार्ग मित्रराष्ट्र जापान सरकारको २६ अर्ब जापानी येन अर्थात् झन्डै २५ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको बीपी राजमार्ग र जननायक बीपी कोइरालाबीचको सम्बन्ध उत्तिकै छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को पुर्ख्यौली थलो सिन्धुलीको सुनकोशी गाउँपालिका १ धरिनडाँडा दुम्जा हो।

जहाँ बीपी राजमार्ग सँगसँगै निर्माण भएको छ। उक्त स्थानमा नजिकै १ सय ७८ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लागतमा ‘बीपी स्मृति पार्क’ निर्माण गरेर उक्त क्षेत्रलाई ‘पोलिटिक्स टुरिजम’ क्षेत्रका रूपमा समेत विकास गर्न थालिएको छ। जुन ठाउँमा बीपी कोइरालाको पिता कृष्णप्रसाद कोइरालाको जन्मघर तथा युवा उमेर बिताएको थिए।

२०५२ सालको सुरुमा नेपाली कांग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाको नामाबाट ‘बीपी सडक’ नाम राखेर निर्माण थालिएको कुल १ सय ६० किलोमिटर सडकलाई २०५४ साउन २८ गते राजपत्रमा सूचना निकालेर बीपी राजमार्ग नामकरण गरिएको थियो। 

यस राजमार्ग निर्माणको जिम्मा जापानी हाज्मा-आन्दो जेभीले लिएको थियो। यस आयोजनाको परामर्शदाताका रूपमा निप्पोनकै कम्पनी लिमिटेड रहेको थियो। जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो। 

बीपी कोइरालाको नामबाट निर्माण थालिएको राजमार्ग तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले २०७२ साल असार १८ गते शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक भव्य कार्यक्रमका बीच उद्घाटन गरेका थिए। यस साजमार्ग निर्माणका क्रममा जापनले यहाँको भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि अपनाइएको छ। पहिरोलाई नियन्त्रण गर्न सटक्रिट (सिमेन्ट छ्याप्ने कार्य) र पहिरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधिको प्रयोग गरिएको छ। 

बीपी राजमार्ग निर्माणले सिन्धुलीको भित्रिमधेस, महाभारत, सुनकोशीगढ तिर तथा रामेछाप र काभ्रेका नागरिकहरूलाई राजधानी काठमाडौं आवतजावत गर्न मात्र हैन अहिले पूर्वी नेपालको काँकडभिट्टादेखि झापा, मोरङ, धरान, धनकुटा तथा मध्यतरार्ईदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, हुँदै रामेछाप मन्थलीदेखि राजधानीसम्मका लागि दैनिक यातायात सञ्चालन भएका छन्। 

राजमार्ग निर्माणसँगै स्थानीय कृषि उपजलाई बजारीकरण गर्नसमेत सहजता पुगेको छ। भने राजमार्ग आसपासमा होटल तथा रेष्टुरेन्टहरू निर्माण भएका छन्।

बीपी राजमार्गका कारण आन्तरिक तथा बाह्य पर्यटकहरू आउने क्रमसमेत बढेको छ। प्रकृतिक सुन्दरता र मनोरम दृश्यहरूको अवलोकन गर्दै यात्रा गर्न सकिने राजमार्गकै कारण सिन्धुलीको मूलकोटमा करोडौंको लागतमा ठूला रिसोर्टहरूको समेत विकास भएको छ। 

नागबेली आकारमा निर्माण भएको राजमार्गले दैनिक यात्रा गर्नेहरूका लागि थप अकर्षित गर्ने गरेको छ। यस राजमार्गबाट यात्रा गर्नेहरूले पहाड तथा तरार्ईसम्मका सुन्दर दृश्यहरू अवलोकन गर्न सक्ने भन्।

यस राजमार्ग सँगै मध्येपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गसमेत मिसिएका छन्। जसका कारण छिमेकी मुलुकहरू भारत र चीनसम्मको व्यापारिक मार्गका रूपमा समेत लिने गरिएको छ। यस राजमार्गमा अहिले दैनिक १० हजार बढी साना ठूला सवारीसाधनहरू सञ्चालन हुने गरेको प्रहरीको भनाइ छ।

बीपी राजमार्गमा पहिरोको चुनौती

बीपी राजमार्ग पहिरोको उच्च जोखिममा परेको छ। भूकम्पपछि चिराचिरा परेको बीपी राजमार्गसँग जोडेर निर्माण गरिएका सहायक सडकमा पहिरो बग्न थालेपछि राजमार्ग पहिरोको जोखिममा परेको हो। बीपी राजमार्गको बर्दीबासदेखि धुलिखेलसम्म झन्डै ३३ वटा स्थानमा पहिरोको उच्च जोखिम सिर्जना भएको विज्ञहरूको भनाइ छ। 

मापदण्डविपरीत स्थानीय निकायमा निर्माण गरिएको ग्रामीण सडकको कारण सबभन्दा धेरै बीपी राजमार्ग जोखिममा परेको छ। वर्षात् सुरु भएसँगै ठाउँठाउँमा खसेको पहिरो र बाढीले बीपी राजमार्गलाइनै क्षति गर्न थालेको हो। राजमार्गको ढुङ्ग्रेभन्ञ्याङ, पीपलभन्ञ्या, सोलाभन्ञ्याङ लगायतका ठाउँमा राजमार्गनै धस्सिएर बग्ने अवस्था आएको छ। 

भूकम्पपछि धस्सिएर चिरा परेको खुर्कोटमाथिका घुम्तीहरू पनि बग्ने खतरामा छन्। त्यसबाहेक अधिकांश सहायक सडक जोडिएका स्थानहरूमा पहिरो बग्न थालेपछि राजमार्ग नै बग्ने खतरा आएको सडक डिभिजन कार्यालय खुर्कोटले जनाएको छ। नेपालथोकदेखि धुलिखेलसम्मको अधिकांश भागहरूमा बीपी राजगर्माभन्दा माथि कच्चीसडक निर्माण गरेपछि माथिबाट पहिरो बग्दा बीपी राजमार्गलाई क्षति गर्न थालेको छ। यस्तो स्थानको पहिरो बीपी राजमार्गका लागि थप चुनौती देखिएका छन्।

यसअघि २०७२ को भूकम्पपछि खुर्कोट–नेपालथोक खण्डअन्तर्गत शीतलपाटीमा ३० मिटर बढी राजमार्गको पिचनै खसेर सुनकोशी नदीमा पुग्दा झन्डै ६ महिना सडक अबरुद्ध भएको थियो। 

पछिल्लो समय राजमार्गमा यसरी पहिरो बग्न थालेपछि दैनिक जसो बीपी राजमार्गमा घण्टौं जाम हुन थालेको यातायात व्यवसायीहरूको गुनासो छ। अलिकति पानी पर्ना साथ राजमार्ग माथिबाट पहिरो र बाढी आउने गरेको स्थानीयको भनाइ छ। वर्षाको समयमा अनियन्त्रित रूपमा निर्माण भएको ग्रामीण सडकको कारण ठाउँठाउँमा सडक अवरुद्ध हुने क्रम बढेको नेपालथोकका स्थानीय कौशल कोइरालाको गुनासो छ। काभ्रेको रोशी खोला, सिन्धुलीको सुनकोशी नदीको किनारै किनार सिन्धुली गढी हुँदै वर्दिवास जोडिएको बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुलीको दजनौं स्थानमा वर्षाको समयमा ढुंगा माटोसहितको खहरे आउँदा सवारी आवतजावत अवरुद्ध हुने गरेको छ।

स्थानीय तहमा सरकार गठन भएसँगै सबैभन्दा बढी लगानी सडक निर्माणमा भएको कारण पनि पछिल्लो वर्षमा बिपी राजमार्गको माथिल्लो भागबाट कच्ची सडक निर्माण हुँदा पहिरो र लेदो आएर पुर्ने र सडक अवरुद्ध हुने गरेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दाहालको भनाइ छ। गाउँघरमा खनिएका सडकको कारण मुख्य राजमार्गलाई समेत असर गरेको भन्दै स्थानीयले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। 

राजमार्ग अतिक्रमण

सुन्दर राजमार्गका रूपमा चिनिएको बीपी राजमार्ग पछिल्लो चरणमा अतिक्रमणमा पर्न थालेको छ। सिन्धुली र काभ्रे जिल्लामा राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउन नसक्दा यसको सुन्दरतामा कुरूप मात्र बनेको छैन यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ। यस्ता अतिक्रमित संरचनाहरू हटाउन जिल्ला स्तरीय समन्वय समिति र यातायात व्यवस्थापन समितिको बैठकले निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।

यसअघि बनेपा–सिन्धुली–बर्दीबास (बीपी) राजमार्ग मिचेर बनाइएका सबै संरचनाहरू हटाउने निर्णय भएको थियो। राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि २०७५ बमोजिम जिल्लामा जोडिएका राजमार्गका सडक छेउमा अतिक्रमण गरी बनाइएका संरचनाहरू तथा सम्बन्धित निकायबाट स्वीकृति नलिई निर्माणाधीन वा निर्माण सम्पन्न भएका संरचनाहरू हटाउनुपर्ने हुन्छ।

यस्ता संरचनाहरू हटाउन पटक–पटक अनुरोध गर्दासमेत स्थानीयले अटेर गर्दै आएका छन्। सडक मिचेर बनाइएका संरचना र निर्माण सामग्रीले सडक दुर्घटना बढ्दै गएको सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेको भनाइ छ। सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने गरी महोत्तरीको बर्दीबासदेखि काभ्रेको धुलिखेलसम्म बीपी राजमार्ग अतिक्रमण गरेर सयौं ठाउँमा सडक मिचेर भौतिक संरचना निर्माण गरिएको छ।

बीपी राजमार्गको भयानक दुर्घटना

बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा तीनवटा भयानक दुर्घटना भए। उक्त दुर्घटनाबारे जानकारी भएको जो कोही यस राजमार्गमा यात्रा गर्दा झस्कन्छन्। 

बीपी राजमार्ग निर्माणाधिनकै क्रममा रिठ्ठेभीरमा भयानक दुर्घटना भएको सात वर्षभित्रमा सोही स्थानबाट तीनवटा भयानक दुर्घटनामा भए।  रिठ्ठेभीरमै २०६७ साल असोज २६ गतेकै दिन सिन्धुलीबाट काठमाडौंंंतर्फ यात्रु लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाका घटना स्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो। 

त्यसको केही दिनअघि सोही ठाउँमा अर्को बस दुर्घटना हुँदा १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो। सोही स्थानमै पुनः दुर्घटना हुँदा थप तीन जनाको मृत्यु हुँदा एकै स्थानमा भएको दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको सिन्धुली प्रहरीको तथ्यांकमा उल्लेख छ। एक सय ५० बढी घाइते भइसकेका छन्। उक्त स्थान सिन्धुली सदरमुकाममाढीबाट झन्डै ५८ किलोमिटरको दूरी पर्छ।

बीपी राजमार्ग निर्माणधिन अवस्थामा रहेकै बेला भएका दुवै बस केही दिनको फरकमा मात्र दुर्घटना हुँदा ५७ जनाको ज्यान गएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीसहितको टोलीले उक्त स्थानमा देवी रिसाएको भन्दै पूजापाठ गरी मन्दिर स्थापना गरिएको थियो। त्यसको ठीक ७ वर्ष पुगेकै दिन सोही ठाउँबाट अर्को दुर्घटना भएपछि स्थानीयले भने पुनः देवी रिसाएका कारण दुर्घटना भएको हुन सक्ने प्रतिक्रिया दिएका थिए।

रिठ्ठेभीरमा सुरक्षाको ऐना

पूर्वीपहाडी जिल्ला र मध्ये तरार्ईको जिल्लाबाट राजधानी काठमाडौंंं भित्रने बाहिरिने सबैभन्दा छोटो दूरीको बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारीसाधनहरू आवतजावत गर्छन्। नियमित रूपमा आवतजावत गर्ने सावरीसाधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूको सवारीको पनि उत्तिकै चाप हुन्छ। 

बर्दीवासबाट सुनकोशी र रोसी नदीको तीरैतीर अनेकन घुम्तीमोड, उकालो र ओरालो छिचोल्दै काभ्रेको धुलीखेल बनेपासम्म १ सय ६० किलोमिटर लामो दूरीको यात्रा बीपी राजमार्गबाट गर्न सकिन्छ। 

चारखण्डमा विभाजन गरेर जापान सरकारले निर्माण सम्पन्न गरिदिएको बीपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक (३७ किमी)को रिठ्ठेभीरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुहरूका लागि भने एउटा नयाँ र आश्चर्य लाग्दो दृश्यले एकछिन् रोक्किन बाध्य पु¥याउँछ। त्यो हो, सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतीदेवीको मन्दिर र त्यसको वरिपरि भित्तैभरी झुन्डाइएका हजारौं ऐनाहरूले। 

जहाँ हजारौं ऐनैऐनाका विचमा सेतिदेवी माइको स्थापना गरिएको छ। जुन दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्रासँग मनोभावना जोडिएको छ र यहाँ दुर्घटनाको भय रोक्न सिन्धुलीको रिठ्ठेभीरमा हजारौं ऐन चढाउन थालिएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटनजिकै रहेको रिठ्ठेभीरको तल अक्कर भीर र सुनकोशी नदी अवस्थित छ। 

यहाँ पुग्नेहरूलाई मन्दिर र ऐना किन राखियो भन्ने कौतुहलता पक्कै लाग्न सक्छ। रिठ्ठेभीरमा ऐनै ऐनाको विचमा सेतीदेवीको मन्दिर स्थापना गर्नुको कारण आश्चर्य र डरलाग्दो भएको स्थानीयहरू बताउँछन्। त्यही ठाउँ हो जहाँ २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभीरबाट सुनकोशीमा खस्दा १४ जनाको घटनास्थलमै ज्यान गएको थियो। त्यसको पाँच महिनापछि असोज २६ गते सोही ठाउँमा सिन्धुलीबाट काठमाडौंंं गइरहेको यात्रुबस सुनकोशीमा खस्दा ४२ जनाले घटनास्थलमै ज्यान गुमाए। 

त्यसको ठीक ६ वर्षपछि २०७४ असोज २६ गते सोही स्थानमा अर्को वस दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो। २०७० भदौ ३१ गते रिट्ठेभीरमै भएको जिप दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएका थिए।

त्यसयता उक्त ठाउँमा मात्र भएका सवारी दुर्घटनामा एक दर्जन बढीको ज्यान गइसकेको छ। पहिलोपटक सडक दुर्घटना देखेर त्रसिद स्थानीय त्यस यता पटक–पटक हुने दुर्घटनाबाट थप भयभित भएको सेतीदेवी मन्दिरका पूजारी नीरप्रसाद आचार्य सुनाउँछन्।

२०६८ असोज २६ गते ४२ जनाको ज्यान जान गरी भएको वस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत त्रर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्लाअधिकार जितेन्द्र भण्डारीको पहलमा मनमा पैदाभएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाइ छ।

उनले भने, ‘दुर्घटनामा मृतकका आफ्नतहरू सहित लगाइएको पुराणमा एक महिलाले काम्दै सुनकोशीको एउटा ढुङ्गा टिपेर देखाउँदै म सेतिदेवी हुँ मेरो बासस्थानमा सडक निर्माण गर्दा क्षति पु¥याएपछि मैले मान्छेको भोग खान थालेको हुँ। मलाई सडकमै मन्दिर बनाएर बस्न दिएमात्रै राम्रो गर्ने नत्र थप ठूलो क्षति गर्ने बताएपछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाइ दिएपछि ऐना चढाउँने र पूजा गर्न थालिएको हो।’

बीपी राजमार्गका कारण तराई पहाड सम्बन्ध जोडियो : देउवा 

कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीले ०१६ सालमा परिकल्पना गरेको बीपी राजमार्गले तराई र पहाडबीचको सम्बन्ध राम्रो बनाएको बताएका छन्। धुलिखेलस्थित बीपी राजमार्गको धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको बीपीको प्रतिमाको शनिबार अनावरण गर्दै देउवाले यस्तो बताएका हुन्। बीपीको जन्म ठाउँ सिन्धुलीको दुम्जा हुँदै तराई छिचोल्ने काम यो राजमार्गले गरेको देउवाले बताए। 

‘यो राजमार्गको सेवाले जनताको आर्थिक स्तरदेखि सबै पक्षमा सकारात्मक प्रभाव देखिएको छ,’ देउवाले भने। कार्यक्रममा सभापति देउवाले शान्ति र प्रजतन्त्रको रक्षाका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको बताए। 

‘प्रजातन्त्रको रक्षाको निम्ती कांग्रेस सधैं अघि रहेको छ,’ देउवाले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा देशभर सकारात्मक सन्देश गएको छ। अबको दिनमा कांगे्रस एक भएर लाग्छ।’  बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको शालिकको अनावरण भएको छ। ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ छ। 

कार्यक्रममा कांग्रेसका नेता एवं बीपी पुत्र शशांक कोइरालाले पार्टीमा युवाहरूलाई अघि बढाउनुपर्ने बताए। कार्यक्रममा केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, मधु आचार्य, गणेश लामा, उमेश श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामालगायतले बीपीको योगदानबारे चर्चा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.