सरकारले खटाएको सहसचिवलाई हाजिर नगर्न जीतपुरसिमराका नगर प्रमुखको पत्र

सरकारले खटाएको सहसचिवलाई हाजिर नगर्न जीतपुरसिमराका नगर प्रमुखको पत्र
सुन्नुहोस्

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका सहसचिव वीरेन्द्रदेव भारतीलाई कार्यालयमा हाजिर नगर्न पत्र लेखेका छन्। पौडेलको यो पत्रले जीतपुरसिमरा उपमहानगरपालिका पुनः एकपटक विवादमा तानिएको छ। 

भदौ २७ गते बसेको मन्त्रीपरिषद्को बैठकले भारतीलाई जीतपुरसिमरामा खटाउने निर्णय गरेको थियो। ४० जना सहसचिवको एकैपटक सरुवा गर्दा भारतीलाई जीतपुरसिमरामा पठाइएको थियो। तर मन्त्रिपरिषदको उक्त निर्णयविरुद्ध नगर प्रमुखद्वारा लेखिएको पत्रले उपमहानगरपालिकासंगै नेपाल सरकारको सहसचिव स्तरका कर्मचारीलाई विवादमा ल्याउन खोजिएको छ।
जीतपुरसिमरामा सहसचिव स्तरकै दरबन्दी छ। सोही अनुसार सरकारले तेस्रोपटक सहसचिव पठाउन लागेको थियो। यसअघि सहसचिव शिवकुमार कार्की र बैकुण्ठ निधी शर्माले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए। त्यसबाहेक उपसचिव स्तरका कर्मचारीबाटै उपमहानगरपालिकाको कार्यसम्पादन हुँदै आएको थियो। 

लामो समयपछि सहसचिव र स्थानीय तहको अनुभव बटुलेका भारतीलाई खटाउने मन्त्रिपरिषदको निर्णयपछि उपमहानगरपालिकाका कर्मचारी र नगरबासी समेत खुसी थिए। तर, हाजिर गराउन असमर्थ रहेको भन्दै नगर प्रमुख पौडेलले लेखेको पत्र सार्वजनिक भएपछि स्थानीय स्तरमा उक्त पत्रको चर्चा सुरु भएको छ। 

नगर प्रमुख पौडेलले प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेको सरुवा निर्णयविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले यस्तो अवस्थामा हाजिर गराउँदा अदालतको अवहेलना हुने भन्दै हाजिर गराएर कामकाज गराउन असमर्थ रहेको व्यहोरासहितको पत्र भारतीलाई पठाएका छन्। यसका साथै पौडेलले मन्त्रिपरिषदको भदौ २७ गतेको निर्णयविरुद्ध उपसचिव काफ्लेले सर्वोच्चमा अर्को रिट दायर गरेको जानकारी समेत भारतीलाई पत्रमार्फत गराएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव काफ्लेलाई साउन ३ गते मन्त्रालयमा सरुवा गर्दै उनको स्थानमा चेतकुमार पोखरेललाई पठाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध काफ्लेले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश लिएर काफ्ले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएकी छन्। 

सहसचिव स्तरको दरवन्दी रहेको उपमहानगरपालिकामा उपसचिव स्तरका कर्मचारी सरुवाको विषय विवादित बनेपछि सरकारले भदौ २७ गते सहसचिव नै पठाउने निर्णय गर्‍यो। जुन निर्णयविरुद्ध पनि उपसचिव काफ्लेले रिट दायर गरेकी छन्। असोज ४ गते दायर रिटमा सर्वोच्चले मन्त्रिपरिषदसँग लिखित जवाफ माग गरेको छ। 

यता मन्त्रिपरिषदको निर्णयअनुसार सहसचिव भारती सोमबार जीतपुरसिमरा आएका छन्। उपमहानगरपालिकाको कार्यालयमा पुगेर भारतीले नगर प्रमुख पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसँग भेट गरेका थिए। नगर प्रमुख र उपप्रमुखसँग भेट गरे पनि भारतीले हाजिर भने गरेनन्। हाजिर गर्नका लागि भारतीले दबाब पनि दिएनन्। 

प्रमुख र उपप्रमुखसँग उपमहानगरपालिकाको पछिल्लो अवस्थाबारे छलफल गरेर भारती चितवन गएका थिए । भारतीले स्थिति सहज बनाएर अघि बढ्ने विषयमा चासो देखाएको कर्मचारी स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.