सिन्धुलीको हरिहरपुरगढीमा बेवारिसे शव फेला
![सिन्धुलीको हरिहरपुरगढीमा बेवारिसे शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/Badi-Photo-Sindhuli-2_5wheglDM1M_40uyPYOHfb.jpg)
सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ बस्तिपुर स्थित बागमती नदी किनारामा एक जना महिलाको बेवारिसे शव फेला परेको छ।
आइतबार दिउँसो करिब १२ बजे सिन्धुली र मकवानपुर जिल्लाको सिमना भइ बग्ने बागमती नदी किनारामा अन्दाजी ३२/३४ वर्षकी महिलाको शव फेला परेको हो।
हरिहरपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष कुलबहादुर भोलन (उज्जवल) का अनुसार बागमती नदीले बगाएर ल्याएको अवस्थामा उक्त शव भेटिएको हो।
शव भेटिएको खबर प्राप्त भएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी, स्थानीयले उक्त शवलाई निकाल्ने काम गरिरहेको छ।
यस्तै अध्यक्ष भोलनका अनुसार बिहीवारदेखि परेको वर्षातका कारण हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १ को बस्तीपुरमा सयौं कठ्ठा धान खेत बागमती नदीका कारण बगरमा परिणत भएको छ।
यस्तै वडा नम्बर ३ को साँडेमा बाढीले पाँच घर बगाएको छ। २० घर डुवानमा परेका छन्। बाढीका कारण चार वटा राँगा, ८ वटा बाख्रा र ४ वटा गाई बगाएको छ।
बागमती नदीमा आएको बाढीले ड्याम फुटाउँदा बागमती पुलको पश्चिमतर्फको कज्वेमा क्षति पुगेको छ। उक्त कज्वे भत्किँदा सिन्धुली र मकवानपुर जोड्ने यातायातका साधनहरु रोकिएका छन्।
बागमती नदीको उक्त कटानलाई नियन्त्रण गर्दै यातायातका साधन सुचारु गराउन मकवानपुरको बागमती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू सक्रिय भएका छन्। उक्त स्थानमा डाईभर्सन निर्माण थालिएको र केही घण्टापछि यातायात सुचारु हुने बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले जानकारी दिए।
यसअघि लागातारको वर्षातका कारण आएको बाढी र पहिरोले सिन्धुलीमा दुई जनाको ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)