किसानलाई 'कृषि एम्बुलेन्स'
बेनी : म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो ।
किसानलाई सहज रूपमा तरकारी,फलफूल, दूध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
‘गत आर्थिक वर्षमा खरिद गरेको कृषि एम्बुलेन्सले यसै हप्तादेखि सेवा दिन सुरु गरेको छ,’उनले भने, ‘कार्यविधि बनाएर सहुलियत दरमा कृषि उपज ढुवानीको व्यवस्था मिलाएका छौं ।’गाउँपालिकामा मौजुदा तीनजना सवारी चालकमध्ये फुर्सदमा हुनेलाई कृषि एम्बुलेन्स चलाउन लगाउने व्यवस्था मिलाएको अध्यक्ष पुनले बताए ।
सिङ्गल क्यापको बोलेरो जिपमा कृषि उपज सढ्नेगल्ने नहोस् भनेर एसी जडान गरिएको छ । कृषि एम्बुलेन्समा दूध, ताजा तरकारी, आलु, सुन्तलालगायतका कृषि उपज सुरक्षित रुपमा भण्डारणसँगै ढुवानी गर्न सकिन्छ । आवश्यकता अनुसार चिस्यान कायम गर्न सकिने कृषि एम्बुलेन्स भित्र राखेको कृषि उपज सडे गलेर नोक्सान हुने जोखिम कम हुन्छ ।
एम्बुलेन्सले सेवा दिन थालेपछि कृषकलाई ढुवानीका लागि सहज भएको अन्नपूर्ण गाउँपालिका–६ घारको धौलागिरि बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक शिव खड्काले बताए । अन्नपूर्णका कृषकले सार्वजनिक सवारी साधन, ट्याक्टर र मोटरसाइकलमा कृषि उपज ढुवानी गर्दै आएका थिए ।
एम्बुलेन्स खरिद गर्न आर्थिक वर्ष २०८०–०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपैयाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा थप दश लाख ४२ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
कृषि एम्बुलेन्स सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिका म्याग्दीको पहिलो स्थानीय तह बनेको छ । अन्नपूर्णको नागी, राम्चे, हिस्तान, टिकोट, घराम्दी, शिख, खिवाङ, पाउद्धारमा आलु, साग, बन्दा, काउली र किवीको व्यवसायिक खेती हुन्छ ।
बिरौटा,दोसल्ले, औला, महभिर, पोखरेबगर, भुरुङ तातोपानी, दाना र नारच्याङको तल्लो भेगमा ब्यवसायिक सुन्तला तथा दोवा, दाना र मान्द्रेढुङ्गा क्षेत्रमा स्थानीय जातको सिमी खेती हुने गरेको छ ।
सडक भएको गाडी पुग्ने ठाउँमा कृषि एम्बुलेन्सले सेवा दिने भएपछि कृषकलाई सहज भएको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर सडकले समेटिएको अन्नपूर्णको अधिकांश बस्तीमा सडक सुविधा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !