नेपाली सेनाले सकेसम्म दशैं अघिनै सम्पन्न गर्ने गरी द्रुतगतिमा बेलिब्रिज निर्माणको कामलाई अघि बढाएको छ।
सिन्धुली : असोज ११ र १२ गते भारी बर्षापछि आएको बाढीले बगाएर क्षति भएको सुनकोसी नदीको पुल निर्माण थालिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज निर्माण थालिएको हो।
सुनकोशी नदीको मोटरेवल पुल बाढीले बगाएपछि तत्काल यातायातका साधन सञ्चालन गर्ने गरी नेपाली सेनाले बेलिब्रिज पुल निर्माण थालेको हो। बेलिब्रिज निर्माणका लागि पाँच वटा ट्रकमा शुक्रबार नै निर्माण सामाग्री खुर्कोट ल्याएको छ। शुक्रबार नेपाली सेनाले हेलिकोप्टरद्वारा सर्वेक्षण गरेपनि शनिबारबाट नेपाली सेनाको प्राविधिकसहितको टोलीले सुनकोशी नदीमा बेलिब्रिज निर्माण थालेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार सुनकोशी नदीमा अस्थायी रुपमा यातायात सञ्चालनका गर्न बेलिब्रिज निर्माणका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिए अनुसार शनिबारबाट बेलिब्रिज निर्माण थालिएको हो। डेढसाता अघि सुनकोसी नदीमा आएको बाढीले बगाउँदा रामेछाप, ओखलढुंगा र दोलखा जिल्लाकै लाइफलाइनका रुपमा रहेको खुर्कोट पुल करोडौंको क्षति भएको थियो।
सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोट पुलको रामेछापतर्फको स्पान बगाएको भएपनि पिल्लर भने केही भएको छैन। त्यही पिल्लरमा नेपाली सेनाले सकेसम्म दशैं अघिनै सम्पन्न गर्ने गरी द्रुतगतिमा बेलिब्रिज निर्माणको कामलाई अघि बढाएको छ।
स्थानीय तहसँग सहकार्य
बेलिब्रिज निर्माणमा स्थानीय तह, राजनीति दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय नागरिकहरूले समेत सहयोग गरेका छन्। पुल निर्माणमा खटिएका नेपाली सेना लगायतको खान, बस्न लगायतका व्यवस्थापन गोलन्जोर गाउँपालिकाले गर्ने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानले बताए। उक्त पुल बगाएपछि पूर्वी नेपाल र तराई मधेशका साथै छिमेकी राष्ट्र भारतबाट आउने यात्रुका साथै सरसामान ओसारपसारमा समस्या भएको थियो।
यो पनि पढ्नुहोस्
रामेछापले नागरिकको उत्साह बोकेको खुर्कोट पुल बगेसँगै रामेछाप र दोलखाको विकासको सम्भावनासमेत बगेको छ। रामेछापको संघीय राजधानी काठमाडौंसँग यातायात ठप्प जस्तै भएको छ। यस पुल निर्माण हुँदा रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारबाट काठमाडौं जान ७५ किलोमिटर दुरी छोट्टिएको थियो।
१४ वटा पुलमा क्षति
यसैबीच बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग र खुर्कोट–घुर्मी मध्यपहाडि लोकमार्गसँग जोडिएको खुर्कोट पुलसँगै सिन्धुलीमा मात्र बाढी र पहिरोले १४ वटा पुलमा क्षति पुर्याएको छ। लगातारको वर्षात्का कारण रोशी खोला र सुनकोसी नदीमा आएको बाढीका कारण मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो। यस्ता पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्ला जोड्ने छोटोदुरीका सबै नाकाहरू बन्द जस्तै भएका छन्।
तस्बिर : राजन गाउँले