मधेस प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ आयोजना हुँदै
![मधेस प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ आयोजना हुँदै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_az4RMD3yr3_dmscltbdqe.jpg)
वीरगन्ज : वीरगन्जमा मधेस प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ आयोजना हुने भएको छ। मधेस प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले वीरगन्जमा आगामी कात्तिक २४ गते ‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ आयोजना गर्न लागेको हो।
आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्ने जानकारी गराए।
देशकै औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्जमा आयोजना गर्न लागिएको मधेस प्रदेशस्तरीय सम्मेलनले स्टार्टअप प्रवर्द्धनमा योगदान गर्दै नवउद्यमीहरूलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको अध्यक्ष टेमानीले बताए।
अहिलेको विश्व अर्थतन्त्र, उद्यम र व्यापारमा स्टार्टअप संस्कृति अपरिहार्य बन्दै गएको भन्दै उनले सम्मेलनले मधेस प्रदेशका नवप्रवर्तनशील उद्यमी, स्टार्टअपहरू र सम्भावित उद्यमशील व्यक्तिहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएको उनले बताए।
सम्मेलनमा नव उद्यमीहरूका लागि अवसरको खोजी, जोखिम व्यवस्थापन र नवीन उद्यमशीलताका उपायहरूको बारेमा जानकारी दिनुका साथै नेपालमा स्टार्टअपको वातावरण कसरी तयार पार्न सकिन्छ, स्टार्टअप संस्कृति कसरी अघि बढाउन सकिन्छ र यसको आर्थिक महत्व के छ ? लगायतका विषयमा बृहत छलफल पनि हुने जानकारी अध्यक्ष टेमानीले बताए।
यसका साथै सम्मेलनमा देशविदेशमा ख्याति कमाएका प्रशिक्षकहरूबाट नेपाल सरकारले स्टार्टअपहरूका लागि लिएका नीति, सुविधा र योजनाहरूको बारेमा सम्मेलनमा जानकारी गराउँदै नवउद्यमीहरूका लागि स्टार्टअप सुरु गर्ने प्रक्रिया, चुनौती र त्यसलाई सफलतामा परिणत गर्ने उपायका बारेमा विज्ञहरूबाट व्यावहारिक सुझावहरू प्रदान गरिने पनि उनले बताए।
सम्मेलनमा वक्ताका रुपमा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरिया, उद्यम क्षेत्रकी अध्येता जुना माथेमा, रिसाइफका संस्थापक डा. सार्थक बक्षी, नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा परराष्ट्र मामिला मञ्चका अध्यक्ष मनोज पौडेल, उद्यमी एवं प्रख्यात प्रशिक्षक सुमन शाक्य, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम, हेल्भटास नेपालका मधेस संयोजक कृष्णलाल कर्ण, खल्ती एपका सहसंस्थापक अमित अग्रवाल, उपायका सहसंस्थापक रञ्जीव श्रेष्ठ लगायतले अनुभव साझा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)