रहस्यको गर्भमा खुमलटारको कौसी

रहस्यको गर्भमा खुमलटारको कौसी

मिश्र त्यति सजिलै खुमलटारको कौसीमा पुगेका होइनन्। उनलाई बोलाउनुका कारण पनि पछिल्ला दिनमा प्रचण्डको खुलेर प्रशंसा गर्न थालेका थिए। प्रचण्ड प्रशंसामा रमाउने नेता हुन्।

बालकोटको बार्दलीपछि खुमलटारको कौसीको चर्चा व्यापक छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई खुमलटारमै बोलाए। एक गणतन्त्रवादी र अर्को राजतन्त्रवादीबीच खुमलटारस्थित प्रचण्ड निवासको कौसीमा एक घण्टा अन्तरंग कुराकानी भयो। एकअर्कामा मनपेट खोलेर कुराकानी गरे। मिश्र त्यति सजिलै खुमलटारको कौसीमा पुगेका होइनन्। उनलाई बोलाउनुका कारण पनि पछिल्ला दिनमा प्रचण्डको खुलेर प्रशंसा गर्न थालेका थिए। प्रचण्ड प्रशंसामा रमाउने नेता हुन्।

रवीन्द्रको प्रशंसाबाट प्रभावित भएर नै प्रचण्डले निवासमै बोलाए। लामो समयसम्म सत्ताको रजगजमा अल्मलिएका प्रचण्ड सत्ताच्युत भएपछि छटपटिरहेका थिए। ठूला दल भनिने कांग्रेस र एमालेले नै मिलेर उनको सत्ता खोसेका थिए। कहिले कांग्रेस त कहिले एमालेलाई खेलाएर ३२ सिट जितेर पनि सत्तामा हालिमुहाली गरिरहेका प्रचण्डलाई मिश्रको प्रशंसाले पग्लाइदियो। सत्ताबाट बाहिरिनुको पीडा उनका छँदै थियो। आफ्नामा मनका कुण्ठा कसलाई बताउँ कसलाई बताउँ भइरहेको थियो। प्रचण्ड आफ्नो प्रशंसाबाट त्यति हौसिएकी आफ्नो सबै कुरा खोलेर कट्टर राजावादी नेता रविन्द्र मिश्रलाई सबै मनपेटका कुरा खोलिदिए।

मिश्रको भनाइमा गणतन्त्रवादी प्रचण्डले राजतन्त्र, राजा, पञ्चायतको समेत प्रशंसा गरेका थिए। हिजो पत्रकार हुँदा जसरी समाचार खोतलखातल पार्थे, त्यसरी मिश्रले प्रचण्डका सबै कुरा थुतिदिए। उनले दुवै जनाबीच भएको अन्तरंग कुराकानीलाई सात बुँदामा समेटेर मिश्रले सामाजिक सञ्जालमा पोस्ट्याइदिए। पहिलो बुँदामा ‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकें। आजभोलि प्रशिक्षणमा यही भनिरहेछु’ भन्ने थियो। मुुलुकमा पञ्चायती निरंकुश व्यवस्था ल्याउने राजा महेन्द्रलाई त प्रचण्डले प्रशंसामात्रै गरेनन्, भिजनरी राजा नै भनिदिए। यो विषयमा मिश्रले दोस्रो बुँदामा लेखे। पछिल्लोपटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाका सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रा काम भएका रहेछन्। राजा महेन्द्र त गज्जबका भिजिनरी राजा रहेछन्।

गणतन्त्रवादी नेताले मिश्रसँग यतिसम्म भन्न भ्याएकि ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पूरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’ चौथो बुँदामा पनि मिश्रले राजाकै बारेमा प्रचण्डले बोलेका कुरा खोलिदिए। ‘राजा ज्ञानेन्द्रले पनि २०६२–०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो’ मिश्रले यस्तो लेखे। त्यसपछिका बुँदामा मात्रै मिश्रले अन्य विषय समेटे। ‘देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो’ पाँचौं बुँदामा छ।

छैटौं बुँदामा छ, ‘अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनुपर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।’ सातौंमा ‘म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा पुगेको छैन। तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो’ भनी उल्लेख गरे। कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौं साथी प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा–बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। जसको जीवन पर्खिएरै बितिसकेको छ वा बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए। मिश्रले वर्षौंपछि प्रचण्डसँग भेट भएको उल्लेख गर्दै लेखेका छन्, ‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने यो देश विस्फोटनतर्फ उन्मुख हुँदैछ। त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन’ लामो व्यवस्थासहित सार मैले यही भनें।

मिश्रका सात बुँदाप्रति प्रचण्डका सशस्त्र द्वन्द्वकालीन सहयात्री डा. बाबुराम भट्टराईले भने कडा टिप्पणी गरे। भट्टराईले प्रचण्डलाई ‘बिरालो’को संज्ञा दिएका छन्। उनले यस्तो लेखेः वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा– बिरालोलाई खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ। अहिले ‘बिरालो म्याउँ’ गरेकै हो। किनकि प्रचण्डको वास्तविकता त्यही हो।’

भट्टराईले थप लेखेका छन्, ‘यसको अर्थ हो– गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन, नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादी चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्, खोस्न दिनु हुँदैन।’

मिश्रले गरेको प्रचार ‘आफ्नो राजनीतिक स्वार्थअनुकूल’ भनी प्रचण्डको सचिवालयले खण्डन गर्‍यो। ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ। साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ।’ जुन खण्डन भट्टराईको कटाक्षपछि मात्रै आएको हो। ‘पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी ? तसर्थ यति सस्तो राजनीतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’ भनेर भट्टराईले लेखेपछि प्रतिउत्तरमा मिश्रले लेखे, ‘हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ। त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व सम्झिएको छु। उहाँको सचिवालयले भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।’

थप लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा– यो कुराचाहिँ बाहिर नगरौं, हामी बीचमा रहोस्– भनिएका कुरा कहिल्यै सार्वजनिक गर्दिनँ।’ प्रचण्डको प्रशंसामा उनले थप शब्द खर्चिएका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। कांग्रेस र एमालेलगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभामार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु। यसैले ठूला पार्टीहरूलाई आआफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुन्ड्याउन सल्लाह पनि दिने गरेको छु।’

गणतन्त्रवादी प्रचण्ड र राजावादी मिश्रसँग भलाकुसारीले प्रचण्ड नेतृत्वमा १० वर्ष भएको सशस्त्र संघर्ष केका लागि थियो ? १७ हजार नेपालीको बलिदानको मात्रै सत्तालिप्साका लागि थियो त ? प्रचण्डमा माथि थप प्रश्न खडा भएको छ। के ज्ञानेन्द्र ‘लोयल’ भइदिएको भए गणतन्त्र मुद्दाबाट प्रचण्ड ‘ब्याक’ नै हुने रहेछन् त ? प्रचण्डका पुराना सहकर्मी डा. भट्टराईको भनाइमा बिरालोलाई जति खास्टोले छोपे पनि म्याउ गरिहाल्छ भन्नुको मतलव सशस्त्र सघर्षको ‘हतियार’मा मात्रै थियो त ? हुुन त सशस्त्र संघर्षको समयमा माओवादीमा दुई लाइन संघर्ष थियो। प्रचण्ड दरबार लचक भएमा राजासँग मिलेर जाने फरक पर्दैन भन्ने पक्षमा थिए भने भट्टराई राजनीतिक दलसँग मिलेर जानुपर्छ भन्ने पक्षमा थिए। अझ उनी त भारतको सहयोग लिनुपर्छ भन्थे।

अन्तरसंघर्षका कारण बाबुराममाथि कारबाही नै भयो। भट्टराईलाई ‘भारतपरस्त’को आरोप लगाइथ्यो भने प्रचण्डलाई ‘राजापरस्त’ भनियो। प्रचण्डको गणतन्त्रको एकल हकदारको दाबीमा नै प्रश्न खडा गरिदिएका छन्। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले पनि प्रचण्ड र मिश्रको भेटघाटको रहस्य पुष्टि गर्छ। कुनै एक नेताले मात्रै गणतन्त्र ल्याएको भन्ने भ्रमबाट सबै मुक्त हुन जरुरी छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.