पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिकालाई
स्याङ्जा : स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति)को आयोजनामा वालिङ्मा सञ्चालित स्थानीय पालिका स्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिकाले जितेको छ।
कात्तिक २ गतेदेखि सुरु प्रतियोगिता अन्तर्गत सोमबार भएको इ खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै बिरुवाले उपाधि जितेको हो। उपाधिसँगै बिरुवाले १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल पाएको छ। यसैगरी, उपविजेता पुतलीबजार नगरपालिकाले १ लाखसहित ट्रफी र मेडलसहित तृतीय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार, ट्रफी, मेडल, पाएको हो।
सान्त्वना भएको कालीगण्डकी गाउँपालिकाले २५ हजारसहित ट्रफी र मेडल पाएको छ। यसैगरी उत्कृष्ट खेलाडीलाई १० हजार र अन्य ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।
विजयी समूहलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पुरस्कारसहित अन्य प्रमाणपत्र प्रदान गरे। ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले ४ दिने पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको समाजका अध्यक्ष विरेन्द्रजंग केसीले जानकारी दिए।
लिग चरण अनुरूप खेलाइएको प्रतियोगितामा स्याङ्जाका ११ वटै स्थानीय पालिकाको सहभागिता थियो।