डुबानमा परेका क्षेत्रको पानी निकासपछि किसान खुसी
![डुबानमा परेका क्षेत्रको पानी निकासपछि किसान खुसी](https://annapurnapost.prixacdn.net/media/albums/pani-nikas_yUOLDR7fBX_Tv7wYrxyWB.jpg)
वीरगन्ज : वर्षाको पानीको निकास बन्द हुँदा डुबानमा परेका वीरगन्जका तीन वटा वडाका ५० बिघाभन्दा बढी धान खेतको पानीको निकास खोलिएपछि पीडित किसानहरू खुशी भएका छन् ।
गत असोज ११ र १२ गते अविरल परेको वर्षाका पानीको निकास नुहुँदा वीरगन्ज महानगरपालिका वडा नम्बर २०, २४ र २६ मा पर्ने सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी गाँउको धानबाली डुबानमा परेको थियो ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पटक-पटकको प्रयासपछि डुबानमा परेको क्षेत्रको पानीको निकास बिहीबारदेखि पूर्ण रुपमा खोलेपछि ती तीनवटै वडाका किसानहरू खुशी भएका हुन् ।
कार्तिक १ गते मेयर सिंह, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसहितको टोलीले डुबान क्षेत्रको स्थलगत अवलोकन गरेपछि डुबानको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युम पाइप खुलाएर र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउनका लागि त्यही दिनदेखि महानगरपालिकाले ३ वटा जेसीबीसहितको टोली परिचालन गरेको थियो । करिब एक हप्ताको निरन्तर प्रयासपछि बिहीबारदेखि डुबान क्षेत्रमा जमेको पानीको निकास पूर्ण रुपमा खोलिएपछि डुबानले चिन्तामा परेका किसानहरु खुसी भएका हुन् ।
बहुअरीका स्थानीय रामशशंकर द्विवेदीले भने,‘झण्डै एक महिनादेखि हाम्रो धानबाली डुबानमा परेको थियो । पाकेर काट्न तयार भइसकेको धान पानीको डुबानमा परेकाले सम्भव नै थिएन । अब भने पानीको निकास भइरहेको छ । अब छिट्टै बाली भित्र्याउँछौं ।' महानगरका मेयर सिंहको प्रयास र पहलले आफूहरूको बाली बिग्रनबाट जोगिएको उनले बताए ।
बहुअरीकै अर्का किसान वीरेन्द्र द्विवेदीले पनि पानीको निकास खोलिएपछि अब खेतबाट बाली घरमा सहजै भित्र्याउन सकिने बताए । उनले भने,‘यो डुबानको समस्याले हामी वर्षौंदेखि पीडित थियौं । यसपालि त झन् धेरै वर्षा हुँदा पुरै धानखेत जलमग्न थियो । केही दिन अझ ढिला भएको भए सारा धानबााली खेतमै गलेर नष्ट हुन्थ्यो । किसानको मर्कालाई बुझेर निकास खोलिदिएकोमा मेयर साबलाई धेरै धेरै धन्यवाद ।’
गत असोज ११ र १२ गते दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगन्ज महानगरपालिकाको वडा नम्बर २०, २४ र २६ का अधिकांश क्षेत्र डुबानमा परेको थियो । ती तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि वर्षाको पानी उक्त स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी गाँउ र त्यहाँका खेत डुबानमा परेका थिए ।
विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।
गत असोज १८ गते महानगरको जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, त्यहिदिन साँझ वडा नंम्बर १७ स्थित अलौँवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । वीरगन्ज–१७ अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुर्व्यवहार गरेपछि कुटाकुटसमेत भएको थियो ।
तर डुबानमा परेका अन्य तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ गते महानगरका मेयर सिंह महानगरको प्राविधिक र नगर प्रहरीसहितको टोली लिएर निरीक्षणमा जाँदासमेत विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)