चिसो बढेसँगै मुस्ताङमा उच्चलेकका याक/चौरी बेसी झारिए

चिसो बढेसँगै मुस्ताङमा उच्चलेकका याक/चौरी बेसी झारिए
सुन्नुहोस्

जोमसोम : मुस्ताङका याकचौरी चिसो बढेसँगै उच्चलेकबाट बेसी झारिएका छन्। हिउँदयामसँगै उच्चलेकको अत्यधिक चिसो र हिमपात छल्न मुस्ताङका याकचौरी पालक किसानले बस्ती नजिकको न्यानो स्थानमा स्थान्तरण गर्न थालेका हुन्। 

मुस्ताङमा जेठदेखि कार्तिकको अन्तिमसम्म उच्चलेकका विभिन्न स्थानमा गोठ खडा गरेर याकचौरी पालन गर्ने गरिएको छ। बर्खायामको मौसममा उच्चलेकको पाटनमा याकचौरीका लागि अनुकूल हावापानी र पर्याप्त चरन क्षेत्र हुने भएकाले मुस्ताङका  समूहगत रूपमा अस्थायी गोठ निर्माण गरी चाकचौरी पालन गर्ने गरिएको छ। 

मुस्ताङका पशुपालक किसानले परम्परागत रूपमा हिउँ पर्ने समयमा बस्तीमा र हिउँ पग्लिने समयमा उच्चलेकमा लगेर याकचौरीको व्यवस्थापन गर्ने प्रचलन रहेको याकचौरी हिमालयन चौरी पालक तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिए। ‘हिउँदयामा हिमालको फेदमा हिउँ पर्ने गर्छ, गोठाला र कचौरीहरूलाई समेत चिसो र हिमपातले निकै सास्ती हुन्छ', सचिव हिराचनले भने,‘चरनक्षेत्र पूरै हिउँले ढाकिन्छ, पशु आहाराको व्यवस्थापन गर्न पनि निकै दुःख हुन्छ।’ उच्चलेको पाटनमा व्यवस्थापन गरिएको याकचौरी बस्ती नजिक न्यानो स्थानमा झारिंदा  याकचौरी र गोठालाहरूलाई रेखदेख गर्न निकै सजिलो हुने सचिव हिराचनले बताए।

 
मुस्ताङमा सदिंयौ वर्षदेखिको याकचौरी पालन व्यवसाय यहाँको जैविक तथा सांस्कृतिक विशेषताको रूपमा लिने गरिएको छ। मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकादेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म किसानहरूले याकचौरी पाल्दै आइरहेका छन्। यहाँ पालन गरिएको याकचौरीलाई मंसिरदेखि वैशाखको अन्तिम महिनासम्म बस्तीमा स्थान्तरण गर्ने गरिन्छ। त्यसपछि बिस्तारै गर्मीयाम सुरु हुन थालेपछि बस्तीका याकचौरीलाई पुन उच्चलेकको पाटनमा लगेर व्यवस्थापन गर्ने प्रचलन रहेको सचिव हिराचनले जनाए। 

मुस्ताङमा पुख्यौली व्यवसायका रुपमा अपनाउँदै आइरहेको याकचौरीहरुले पारिस्थितीक प्रणली (ईको सिस्टम)मा समेत ठूलो योगादन पुर्‍याउने सचिव हिराचनको दावी छ।
 
मुस्ताङका ५ स्थानीय तहमा कुल ४ हजार ७ सय बढी याकचौरी पालन गरिएको छ। जिल्लाका ५ वटै स्थानीय तहका याकचौरी पालन व्यवसायीहरूको हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भइसकेको छ। 

हिमाली तथा उच्चपहाडी जिल्लामा पालन गरिने याकचौरी व्यवसायलाई थप संगठित गर्ने याकचौरी पालकलाई व्यवसायिक र व्यवस्थित तुल्याउनका लागि २०८० सालमा केन्द्रीय संस्थाको रुपमा याकचौरी कृषक महासंघ नेपाल गठन भएको छ। हिमाली तथा उच्चपहाडी क्षेत्रमा याकचौरी पालकहरूले भौग्दै आइरहेका समस्या र चुनौतीहरूलाई सहजीकरण गर्ने उद्देश्यले महासंघ गठन भएको हिमालयन याकचौरी पालक तथा संरक्षण समितिका सचिव हिराचनले बताए। हिराचन महासंघको केन्द्रीय महासचिव हुन्।
 
हिमालयन याकचौरी पालक तथा सरक्षण समितिको तथ्यांक अनुसार मुस्ताङमा सबैभन्दा धेरै याकचौरी थासाङ गाउँपालिकामा पालिएको छ। थासाङको कुल २३ गोठमा करिव १ हजार ५ सयभन्दा बढी याकचौरी छन्। यसैगरी मुस्ताङको घरपझोङमा ७ वटा गोठमा करिव ७ सयभन्दा बढी, वारागुङ मुक्तिक्षेत्रमा ३ वटा गोठमा ५ सयभन्दा बढी, लोघेकर दामोदरकुण्डमा २ गोठमा ५ सय बढी र लोमान्थाङ गाउँपालिकामा करिव १ हजार ५ सयभन्दा बढी याकचौरी पालन गरिएको छ।
 
मुस्ताङको थासाङमा बर्खायामको मौसममा बतासे लेंक, मार्चे लेंक, मुलिखर्क लगायतका स्थानमा याकचौरी पालन गर्ने गरिएको छ। यहाँ थासाङको सौरु, कोवाङ, कुञ्जो, लार्जुङ, बोक्सी खोला र नाउरिकोटका किसानले याकचौरी पाल्न गर्छन्। घरपझोङको मार्फा, स्याङ र जामसोमका गरी ७ घरधुरीले याकचौरी पालेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ—५ पनि ठूलो संख्यामा याकचौरी पालन गरिएको छ।

समुन्द्री सतहको झन्डै ४ हजार भन्दा अग्लो उचाईमा परम्परागत रुपमा पालन गरिने याकचौरी व्यवसायमा पछिल्लो समय जलवायु परिवर्तनका कारण निकै समस्या र चुनौती थपिएको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले उल्लेख गरे। बर्खायाममा जलवायु संकटकै कारण हिमालमा हिउँ जम्न छोडेको, पानीका मुहान सुक्दै जान थालेको र उच्चलेकको पाटनमा घाँस उम्रिन छोडेर अनावश्यक झारहरू पलाउन थालेकाले पशु व्यवस्थापनमा निकै समस्या पर्ने गरेको वडाध्यक्ष शेरचनको भनाइ छ। ‘उच्चलेकमा जाने पदमार्ग बाटो जीर्ण र असहज भइरहेको छ', वडाध्यक्ष शेरचनले थपे,‘हिमचितुवा तथा अन्य वन्यजन्तुका कारण याकचौरीका पाठापाठीहरू बर्सेनि असुरक्षित बन्दै गइरहेको छ।’ वडाध्यक्ष शेरचनले वन्यजन्तुबाट हुने क्षतिको आकलन गरी एक्याप कार्यालयले आशिंक भए पनि राहत प्रदान गर्ने गरेको बताए।
 
अत्यधिक चिसो र हिमपातका कारण २०७५ सालमा उपल्लो मुस्ताङको लोमान्थाङ उच्चलेकमा चरनक्षेत्रमा व्यवस्थापन गरिएको ठुलो संख्यामा याकचौरी हिउमा पुरिएर मरेका थिए। त्यस समय गण्डकी प्रदेश सरकारले पीडित याकचौरी पालकहरूको एकिन गरी क्षति राहत उपलब्ध गराएको थियो। यस्तै थासाङको धौलागिरी आइसफलको मुलिखर्कमा पनि हिमपहिरोका कारण दर्जनौं याकचौरी पुरिएर मृत्यु भएको थियो।

मुस्ताङमा सामूहिक र व्यक्तिगत रूपमा विभिन्न प्रयोजनका लागि याकचौरी पालन व्यवसाय गर्ने गरेको पाइन्छ। उच्चलेकको चिसो हावापानीमा पालन गरिएका याक-चौरीले हिमाली जटिबुटी सेवन गर्ने भएकाले यसको मासु स्वादिलो र पोषिलो हुने जनविश्वाश रहिआएको छ। पशुपालक किसानले चौरीको दूधबाट दही, घ्यु , छुर्पी र चीज जस्ता विभिन्न परिकार बनाउँछन्। याक-चौरीको पुच्छर पूजाआजाको लागि प्रयोग हुने भएकाले महङ्गो मूल्यमा बिक्री हुने गर्छ। 

मुस्ताङमा एउटै जिउँदो याकको मुल्य १ लाख ३० हजारदेखि १ लाख ५० हजारसम्म पर्छ। मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत  मार्चे लेंक, बतासे लेंक, नमुख लेंक र बोक्सी खोलमा याकचौरीको आलो रगत खाने मेला लाग्ने गर्छ। वैकल्पिक आम्दानीको रुपमा यहाँका पशुपालक किसानले याकचौरीको भेटेरिनरी परीक्षण गराएर याकचौरी आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री गर्ने प्रचलन छ। याकचौरीको आलो रगत सेवन गर्नाले दीर्घ रोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वाश छ। याकचौरीको आलो रगत खान जिल्ला बारिहबाट उल्लेख्य सर्वसाधारण मुस्ताङ आउने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुगेको छ।

हिमाली क्षेत्रमा  सदियौ वर्षदेखि पालन गर्दै आइरहेको याकचौरी व्यवसायलाई चौरी प्रजातिको रूपमा सुचिकृत गरेकाले यहाँका किसानलाई याकचौरीको मासु जिल्ला बाहिर निकासा गर्दा कानुनी जटिलता उत्पन्न हुने गरेको छ। तर स्थानीय स्तरमा याकचौरीको मासु बेचबिखन गर्नमा भने कुनै समस्या परेको छैन। सरकारले हिमाली याकचौरीलाई चौरी गाईको सूचिबाट हटाउन महासंघले पहल गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.