ताप्लीको तिल्केचौरमा ‘नमुना दलित बस्ती 'अभियान
उदयपुर: उदयपुरको ताप्ली गाउँपालिका–५ तिल्केचौरलाई ‘नमुना दलित बस्ती' बनाइने भएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीयको सकृयतामा बस्तीलाई नमुना बनाउने अभियानको सुरुवात गरिएको हो ।
नमुना बस्ती निर्माणका लागि सरसफाइ, स्वच्छ खानेपानी, साबुन पानी र चर्पीको नियमित प्रयोग, धुवाँरहित चुलोको प्रयोग,सबै बालबालिकाहरूको विद्यालयमा नियमित उपस्थिति एवं अभिभावकको रेखदेख कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले बताए ।
अभियानमा सडक तथा घोरेटो बाटोको नियमित सरसफाइ, पोषणयुक्त खाना तथा स्वस्थकर आहारव्याहार, आपसी सहयोग, सद्भाव र मेलमिलापको भावनाको बिकास गर्ने जस्ता कार्यक्रम अघि सारिएको उनले बताए ।
अध्यक्ष विकका अनुसार जीविकोपार्जनका लागि सबै घरमा व्यवस्थित करेसाबारी, तरकारी खेती, उन्नतजातका पशुपालन, कुखुरा पालन, फलफूल तथा अन्य कृषिजन्य उत्पादन, व्यावसायिक सीप तथा तालिम मार्फत आयआर्जनमुलक कार्यक्रम राखिएको छ ।
त्यस्तै महिला शसक्तिकरण तथा क्षमता बिकास, दलित सचेतनामुलक कार्यक्रमको आयोजना, मदिराजन्य पदार्थको सेवनमा न्यूनीकरण गर्दै सम्मुनत र नमुना दलित बस्ती निर्माणका लागि तिल्केचौर रोजाईको बस्ती रहेको उनले बताए ।
त्यसका लागि स्थानीयबासी, गाउँपालिका तथा वडाका जनप्रतिनिधिले सामुहिक प्रतिबद्धतासमेत जनाएको तिल्केचौर नमुना टोल विकास संस्थाका अध्यक्ष राजन नेपालीले बताए । ४२ घर रहको तिल्केचौरलाई नमुना बस्ती निर्माणका लागि देउसीभैलो मार्फत संकलन भएको रकमबाट अभियान सफल बनाउन कोषको स्थापना गरिएको छ ।
पालिका अध्यक्ष विकले कृषि यान्त्रिकरण, बिउबिजन, सीप तथा तालिम तथा नमुना बस्ती निर्माणका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
वडानम्बर ५ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले वडामा आउने सिमित बजेटका कारण सबै योजना सम्बोधन गर्न संभव नभएपनि नमुना दलित बस्ती निर्माणका लागि खानेपानी, सरसफाइ, बाटोघाटो मर्मतलगायत साना योजना उपलब्ध गराउन तयार रहेको बताए ।