महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत, उद्धव ठाकरेको राजनीति संकटमा

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत, उद्धव ठाकरेको राजनीति संकटमा

काठमाडौं : भारतको महाराष्ट्र विधानसभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन 'महायुति'ले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि भएको विधानसभा निर्वाचनमा महायुति गठबन्धनले २१२ सिटमा विजयी हासिल गरेको छ। पछिल्लो मत परिणामअनुसार महायुतिले १८ स्थानमा अग्रता लिएको छ। 

त्यस्तै विपक्षी गठबन्धन महाविकास अघाडी गठबन्धनले ४६ सिटमा जित हासिल गरेको छ भने ४ सिटमा अग्रता लिएको छ। बाँकी सिटमा दुई स्वतन्त्रसहित साना दल विजयी भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

महायुति गठबन्धनमा बिजेपी, एकनाथ सिन्धेको शिवसेना र अजित पवारको एनसीपी रहेका छन्। पछिल्लो मतपरिणामअनुसार विजेपीले १२३ स्थानमा जित हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ। शिवसेनाले ५४ स्थानमा विजयी हासिल गर्दा ३ स्थानमा अग्रता लिएको छ भने एनसीपीले ३९ सिट जितेर २ स्थानमा अग्रता लिएको छ।

यता महाविकास अघाडी गठबन्धनमा आबद्ध उद्धव ठाकरेको शिव सेनाले २० सिट जितेको छ। इन्डियन नेशनल कांग्रेसले १२ सिट जित्दा ४ स्थानमा अग्रता लिएको छ भने शरद पवारको एनसीपीले १० स्थानमा विजयी भएको छ। समग्रमा भन्नुपर्दा महुयतिले २३० स्थानमा विजयी हुने देखिएको छ भने महाविकास अघाडी ५० स्थानमा जित्ने देखिन्छ।

सन् २०१९ को निर्वाचनमा बिजेपीले १०५ सिट जितेको थियो। त्यतिबेला शिवसेनाले ५६, एनसीपीले ५४ र कांग्रेसले ४४ सिट जितेको थियो। त्यसपछि सत्ता सहाकार्यको विषयलाई लिएर महाराष्ट्रमा पाँच वर्ष नै राजनीतिक खिचातानी भएको थियो। त्यसकै परिणाम पनि निर्वाचनमा देखिएको विश्लेषकहरूले एजेन्सीहरूलाई बताएका छन्। 

राजनीतिक उतार चढावमा बितेको पाँच वर्ष

सन् २०१९ भएको विधानसभा निर्वाचनले महाराष्ट्रको राजनीतिलाई नै तहसनहस बनाइदियो। राजनीतिक दलबीच नै टुटफुट हुन थालेपछि महाराष्ट्रमा केही दिन राष्ट्रपति शासन लागू गर्नपरेको थियो। त्यतिबेला दोस्रो ठूलो दल बनेको शिवसेनाका उद्धव ठाकरेले बिजेपीसँगको सत्ता सहाकार्य अस्वीकार गरेका थिए। ठाकरेले बिजेपीको प्रस्ताव नमानेपछि एनसीपीसँग मिलेर सरकार बनाएको थियो। त्यतिबेला देवेन्द्र फडणवासी मुख्यमन्त्री बनेका थिए। तर, उनको सरकार ८० घन्टा पनि टिकेन। 

त्यसपछि ठाकरेले कांग्रेस र एनसीपीसँग मिलेर सरकार बनाएका थिए। साढे दुई वर्षपछि ठाकरेका विश्वास पात्र मानिएका एकनाथ सिन्धेले पार्टीभित्र तहल्का मच्चाएका थिए। ४० विधायक आफ्नो पक्षमा रहेको भन्दै उनले शिवसेनामाथि नै कब्जा जमाउने प्रयास गरे। त्यतिमात्र होइन, बिजेपीको प्रस्तावमा उनी मुख्यमन्त्री पनि भए। टुटफुटको क्रम शिवसेनामा मात्र होइन, एनसीपीमा पनि देखियो। शरद पवारका भतिजा अजित पवार पनि एनसीपीको एक हिस्सासहित बिजेपी गठबन्धनमा सामेल भए।

शिवसेनाको आधिकारिकता विवादपछि निर्वाचन आयोगले एकनाथ सिन्धेको पक्षमा फैसला सुनाएको थियो। शिवसेना पार्टीको आधिकारिकता र चुनाव चिन्ह अहिले सिन्धेसँग रहेको छ। यस विषयको मुद्दा अहिले पनि भारतको सर्वोच्च अदालतमा विचाराधीन छ।

संकटमा उद्धव ठाकरेको राजनीति
निर्वाचनमा उद्धव ठाकरेको शिवसेनाबाट ९५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। जसमा उनले १८ सिटमात्रै जित्न सफल भएका छन्। शिवसेनाको गढ मानिएको मुम्बईमा भने उद्धवले बिरासत जोगाएको वरिष्ठ पत्रकार अनुराग चतुर्वेदीले बीबीसी हिन्दीसँग भनेका छन्। नक्कली र असलीका बीच मतदाताले एकनाथ सिन्धेलाई बढी सिटमा जिताए पनि मुम्बईमा ठाकेरेले इज्जत जोगाएको विश्लेषक चतुर्वेदीको भनाइ छ। उद्धाव ठाकरेको राजनीतिक बिरासत मुम्बई महानगरपालिकाको नतिजाले मात्र तय गर्न सकिने उनले बताए।

अर्का विश्लेषक सुधीर सूर्यवंशीले पनि ठाकरेको राजनीति सकिनलाई सिन्धे मुख्यमन्त्री बन्नुपर्ने दाबी गरे। यता, सिन्धेले 'जसरी पार्टी फुटाएर आफूहरूले बिजेपीलाई साथ दियौं, त्यसरी नै सत्ता समीकरणका विषयमा पनि बिजेपीले मनन गर्नुपर्ने' बताउँदै आएका छन्। यस भनाइले उनी फेरि मुख्यमन्त्रीका दावेदार रहेको बुझ्न सकिने विश्लेकहरूको भनाइ छ। ऐतिहासिक जितका बावजुद बिजेपीले मुख्यमन्त्रीको विषयमा भने केही बताउन सकेको छैन। 'युज एन्ड थ्रो' नीति यदि बिजेपीले लिएको हो भने शिवसेनालाई फेरि एकजुट हुन मद्धत पुग्ने उनीहरूको बुझाइ छ। सिन्धे पक्षधरले पनि महराष्ट्रको मुख्यमन्त्रीको कुर्सी शिवसेनाको हातमै हुनुपर्ने दबी गरिरहेका छन्। 

-एजेन्सीको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.