ढिलाइ किन गर्नु
हामीलाई सञ्चो भएन भने के गर्छौं ? आफैंलाई बिसञ्चो वा बिमारी हुँदाको अवस्था सम्झौं त । पहिलो नम्बरमा अलिकति आराम र खानपानमा नियन्त्रण गर्छौं । त्यसले भएन भने जानकार नजिकका व्यक्तिसँग परामर्श लिन्छौं । अर्थात्, औषधि तथा अन्य घरेलु उपाय अपनाउँछौं । समस्या सामान्य होस् या जटिल, तत्कालै अस्पताल वा विज्ञसँग सम्पर्क गर्न समय निकाल्दैनौं । जटिल रोग पनि सुरुमै गम्भीर नदेखिन सक्छ । गम्भीर नभएसम्म हामी भने अस्पताल पुग्न चाहँदैनौं ।
क्यान्सर भएपछि त उपचार नै हुँदैन भन्ने मान्यता छ । तर ‘समयमै उपचार गरियो भने ९० प्रतिशतसम्म निको हुने हुन्छन्’ भनेर कोशी अस्पतालका क्यान्सर विशेषज्ञ डा. रगिन कठैत बताउँछन् । उनका अनुसार, ‘सामान्यतः क्यान्सरलाई चार चरणमा विभाजन गर्ने गरिन्छ । दोस्रो चरणसम्म पुग्दा जुन अंगमा क्यान्सर भएको हो, त्यसको वरिपरिसम्म यसले असर गरेको हुन्छ । तर चौथो चरणसम्म पुग्दा यसले शरीरको अन्य अंगमा आक्रमण गरिसकेको हुन्छ । त्यसैले पहिलो चरणमा उपचार गरे निको हुने सम्भावना ९० प्रतिशतसम्म हुन्छ । बिस्तारै चरण बढ्दै जाँदा यसको सम्भावना कम हुँदै जान्छ । चौथो चरणसम्म पुगेको छ भने क्यान्सर निको हुने सम्भावना निकै न्यून हुन्छ ।’
नोबेल अस्पतालका क्यान्सर विशेषज्ञ डा. प्रदीप भण्डारी पनि क्यान्सर समयमै पत्ता लगाएर उपचार गर्ने हो भने पूर्णरूपमा निको हुने बताउँछन् । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ । विषय वा सन्दर्भ क्यान्सरको मात्र होइन । भरतपुर अस्पतालका हेपाटोलोजिस्ट डा. रूपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिनेबित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने तथ्य लेखमा उल्लेख गर्छन् । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ । ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउँछ’, लेखेका छन्, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन् । तर हल्का रूपमा लिँदा पछि गम्भीर बन्न सक्छ । सुरुकै अवस्थामा गम्भीर रूपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।’
शारीरिक समस्याहरूलाई मात्रै समयमा उपचार चाहिने होइन रहेछ । मानसिक स्वास्थ्य पनि त्यस्तै रहेछ । मानसिक समस्याहरूमा सबैभन्दा बढी ‘डिप्रेसन’ छ । मानसिक रोग विशेषज्ञ प्रा.डा. सुदर्शननरसिंह प्रधानका अनुसार डिप्रेसनको राम्रोसँग उपचार गरियो भने पूर्ण निको बनाउन सकिन्छ । भन्नुहुन्छ, ‘डिप्रेसन हेलचेक्राइँ नगरी सुरुआती चरणमा उपचार गरिएमा यो रोग पूर्ण निको हुन्छ । तर, बिरामीका साथै परिवारका अन्य सदस्यको साथ सहयोगको आवश्यक पर्छ ।’
अधिकांश जटिल रोग समान्य रोग र समस्याबाट नै सुरु हुन्छ । तर सुरुवातमा हामीलाई परीक्षण गर्न असजिलो लाग्छ । भरसक बिरामी नहोस्, अलिकति गाह्रो भइहाले चिनजानको स्वास्थ्यकर्मी तथा डाक्टरसँग फोनमै सोधेर औषधि खाएर ठीक भइहालोस् भन्ने चाहना धेरैको हुन्छ ।
अस्पताल पुग्नेबित्तिकै डाक्टरले अन्य सबै काम छाडेर आफैंलाई परीक्षण गरोस् भन्ने लाग्छ । छिटो परीक्षण गराउन अस्पतालमा कोही चिनेको छ भने त्यतै लाग्छौं । अस्पताल गएर धैर्यका साथ राम्रोसँग परीक्षण गराउनेभन्दा पनि छिटो गराउने मनसाय सबैको हुन्छ । अर्थात् अस्पताल ढिला पुग्ने तर छिटो फर्कन खोज्ने प्रवृत्तिले जरो गाडेको छ ।
हाम्रो शरीर पनि गजबको छ । शरीरभित्र अनेकौं प्रक्रिया भइरहेका हुन्छन् । जब शरीरभित्रका आन्तरिक (हर्मोनल या मेटाबोलिक) असन्तुलन हुन्छ वा बाहिरी वातावरणीय तथा संक्रमणहरूले असर गर्छ, तब पहिले शरीरको आफ्नै प्रतिक्रियाहरूले सन्तुलन कायम गर्ने प्रयास गर्छ । यिनै प्रयास तथा प्रयासको असफलता पछि बिसञ्चो हुने वा बिमारी पर्ने हुन्छ । त्यसैले बिमारी हुनबाट जोगिन सन्तुलित भोजन, व्यायाम र आराम गर्नु अति आवश्यक छ । यसका साथै प्रदूषणरहित वातावरणमा बस्ने तथा संक्रमण गराउन सक्ने जीवाणुरहित स्वच्छ, सफा हावा, पानी, खानामात्र सेवन गर्नुपर्छ । यद्यपि भनेजस्तो नहुँदा फलतः बिमारी हुन्छौं तर बिमारी हुँदैमा आत्तिनुपर्ने पनि हुँदैन । सावधानी अपनाउँदा शरीरमा रोगविरुद्ध लड्ने शक्ति तथा प्रतिरक्षा प्रणालीले निको बनाउन सक्छ ।
अस्पताल गएर आवश्यक परीक्षण गर्नभन्दा अन्दाजको भरमा औषधि सेवन गर्नेको संख्या ठूलो छ । जसले रोगको निदानभन्दा समस्या बढी हुन्छ । हाम्रो वरिपरि अस्पताल, स्वास्थ्य केन्द्र, पोलिक्लिनिक तथा क्लिनिक पक्कै छन् । चिकित्सकसँग भेट्न गाह्रो पक्कै छैन । सरकारी स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमाले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि पनि चिकित्सकको परामर्श र आवश्यक परीक्षण गर्न सहज बनाएको छ । सुरुवातमै उपचार गरे घरै छेउमा निको बनाउन सक्ने रोगको उपचारलाई ढिलाइ गरेकै कारण जटिल बनाएर उपचारका लागि देश–विदेश भौंतारिनु तर पनि पूर्णरूपले निको बनाउन नसक्नेको पीडा पक्कै असह्य हुन्छ । त्यसैले आइपरेको स्वास्थ्य समस्याको निदान तथा उपचार गर्न ढिलाइ किन गर्नु ?
(साह, जनस्वास्थ्य विज्ञ हुन् ।)