कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक
काठमाडौं : नेपालगञ्जमा अवस्थित कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ।
संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले उक्त बैंकलाई थप निक्षेप र कर्जा प्रवाहमा मंगलबारदेखि रोक लगाएको हो। यससँगै बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ। अब केन्द्रीय बैंकले ६ महिनाभित्र संस्था सुधार गर्ने नयाँ व्यवस्थापकलाई सुम्पिने छ।
राष्ट्र बैंकले २०८१ साउन ६ देखि ११ गतेसम्म यस बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गरेको थियो। यसक्रममा सो बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको औँल्याइएको थियो।
यसकारण निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम तत्काल रोक लगाएको हो।
सो व्यवस्थाअनुसार अब ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा मंगलबार गतेदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएका बारे राष्ट्र बैंकले सर्वसाधारणको जानकारीको लागि सूचना सार्वजनिक गरेको बताएको छ।