बाँसखर्कमा सुन्तला महोत्सव

बेनी : पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ। एक दिने महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाहरूबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो।
बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा-१ को कार्यालयले एक दिने महोत्सव आयोजना गरेको वडाध्यक्ष जगबहादुर रोकाले बताए।
अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो। अतिथिहरूलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको थियो। आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गीत प्रस्तुत गरेका थिए।
पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कको कृषि पर्यटन प्रर्वद्धन र मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पनि महोत्सवको आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।
महोत्सवमा सहभागी हुन आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिचाई, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका थिए।
‘सिचाईको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्म सहित बस्ती जोखिममा परेको र कच्ची सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधिकारीहरूलाई प्रत्यक्ष ल्याएर देखाएका छौं,’ गाउँपालिकाका अध्यक्ष आचार्यले भने ‘विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिहरुको ध्यानाकर्षण गराएका छौं।’
मुख्यमन्त्री पाण्डे, मन्त्री र संसदहरूले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाई सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए। कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिँचाई र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताए।
प्रतिक्रिया दिनुहोस !
