एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको बोलपत्र पुनः आह्वान
काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। लप्सीफेदी-रातमाटे-नयाँ हेटौंडा, रातमाटे-नयाँ दमौली र नयाँ दमौली-नयाँ बुटवल गरी तीन वटा खण्डमा प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको सूचनामा उल्लेख छ।
‘अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः आह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ। यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत-प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन्,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने दुई सय ९७ किलोमिटर प्रसारण लाइनका लागि गत वर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो। एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो।
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको जानकारी दिए। उनले भने, ‘निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौं।’
एमसिए-नेपालले बुटवल - गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ। उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ।
तीन वटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसिए - नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारण लाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको जनाएको छ।
एमसिए-नेपाल नेपाल सरकार तथा एमसीसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै यस खरिद कार्य र प्रसारण लाइन निर्माण कार्यलाई सम्पन्न गर्न प्रतिबद्ध रहेको एमसीएले जनाएको छ।