बेरोजगारी समस्या समाधान नभए युवाले गाउँगाउँबाट विद्रोह गर्न सक्छन्

बेरोजगारी समस्या समाधान नभए युवाले गाउँगाउँबाट विद्रोह गर्न सक्छन्

प्रस्तुति : राधा खनाल 

तपाईंको नेतृत्वमा कांग्रेसका युवाहरूले मेची–काली संकल्प यात्रा गर्नुभयो। के पाउनुभयो त्यो यात्राबाट ?

कात्तिक २३ गते पूर्वको मेचीनगरबाट युवा संकल्प सुरु गर्‍यौं। सुदूरपश्चिमको महेन्द्रनगर पुगेर अभियान भव्य रूपमा सफल भयो। १० बुँदे एजेन्डासहित यो अभियान सुरु गरेका हौं। मुख्यगरी, जनजीविका र नागरिकले भोगिरहेका समस्याहरू के कस्ता छन् भनेर ५० स्थानमा छलफल र अन्तक्र्रिया गर्‍र्यौं। हामीले उठाएका १०बुँदे एजेन्डा र जनताबाट आएका केही सुझावलाई समेटेर छलफल-अन्तरक्रिया गर्‍यौं। देशमा सुशासन कसरी कायम गर्ने भन्नेमा बहस केन्द्रित भयो। भ्रष्टाचारमा शून्य सहनशीलता कसरी अपनाउने? भ्रष्टाचारीलाई कसरी कारबाहीको दायरामा ल्याउने ? अहिलेको जल्दोबल्दो सहकारी ठगीको मुद्दाका दोषीलाई कसरी कारबाही गर्ने भन्नेमा जनताका बीच छलफल गर्‍यौं। साग बेचेर जनताले बचत गरेको सहकारीको पैसा अपचलन भएको छ। अपचलन गर्ने जुनसुकै ठगहरूलाई कडा कारबाही गर्नुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं, जनताको माग पनि त्यही आयो। सरकारले पूर्वाग्रह नराखी सहकारी ठगी गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा जोड दिएका छौं। ठगहरू समातेर मात्र भएन, पीडितको बचत पनि फिर्ता गर्नुपर्छ भन्ने माग जोडतोडले उठाएका छौं। जनताका समस्या, मर्का र मागबारे सरकारको ध्यानाकर्षण गराउने संकल्प यात्राको मुख्य उद्देश्य हो। यो अभियानलाई निरन्तरता दिन्छौं।

१० बुँदे एजेन्डामा के के विषय छन् ?

युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने विषयलाई मुख्य जोड दिएका छौं। त्यस्तै, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी–मूल्यवृद्धि नियन्त्रण, सहकारी ठगी गर्नेलाई कडा कारबाही, सहकारी पीडितको बचत फिर्ता, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानीका मुद्दा जनताबीच राख्यौं। यस्तै, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार, नागरिकलाई सहज जीवनयापनका लागि राहत र नैतिक मूल्य मान्यतामा आधारित राजनीति हुनपर्ने विषय १० बुँदामा समेटेका छौं।

स्वदेशमा रोजगारी पाइएन भन्दै सुरक्षित भविष्यका लागि दैनिक सयौंको संख्यामा युवाहरू बिदेसिरहेका छन्। संकल्प यात्राका क्रममा युवाहरूले के कस्ता अपेक्षा राखेका थिए ?

देशको मुख्य समस्या नै यही हो। बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण युवाहरू बिदेसिने क्रम बढेको बढ्यै छ। आफ्नै देशमा बसेर केही गर्छु भन्ने वातावरण र विश्वास युवामा भएन। तर, सत्य के हो भने विदेश जाने रहर कसैको पनि होइन। देशमै रोजगारी सिर्जना भए कोही पनि युवा बिदेसिन तयार छैनन्। त्यसैकारण युवामा आक्रोश छ। राज्यले युवाहरूको बेरोजगारी समस्यालाई नजरअन्दाज गर्‍यो, ध्यान दिएन भन्नेमा युवाहरूको व्यापक गुनासो छ। बेरोजगारी समस्यालाई अझै नजरअन्दाज गर्दै जाने हो भने गाउँगाउँबाट युवाले विद्रोह गर्न सक्छन्। त्यसैले हामीले बेलैमा सरकारलाई झक्झक्याएका छौं। युवाका समस्याप्रति सरकारले आँखा चिम्लेर नबसोस्।

विकृति र विसंगतिका कारण राजनीतिप्रति युवाको वितृष्णा देखिन्छ। कांग्रेसप्रति युवाको आकर्षण छ कि छैन ? के पाउनुभयो ?

अहिलेका युवा पार्टी विशेषभन्दा राज्य सञ्चालन सही ढंगले भएन भनेर आक्रोशित छन्। नहोस् पनि किन, देशमा सुशासन भएन। नागरिकले सेवा लिन जाँदा समयमा पाउँदैनन्। महँगी, भ्रष्टाचार झन्–झन् बढेको देखिन्छ। संघीयतासहितको गणतन्त्र आए पनि हामीले के पायौं त भन्ने गुनासो युवामा छ। उनीहरूले दैनिक जीवनमा परिवर्तनको महसुस गर्न सकेका छैनन्।  कांग्रेस पनि सत्तामा छ, युवा र जनताका समस्याप्रति कांग्रेसले ध्यान दिनैपर्छ भन्ने कांग्रेसलाई माया गर्ने युवाहरूको भनाइ पायौं। अरूभन्दा एक कदम अगाडि बढेर कांग्रेसले जनताका समस्या समाधानमा लाग्नुपर्छ भनेर हामीले पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेका छौं। 

यी विषयमा सरकारलाई घच्घचाउन सडकमै अभियान किन गर्नुभयो ?

हाम्रो पार्टी सरकार वा सत्तामा छ भन्दैमा चुप बस्न मिल्दैन। सरकारको दृष्टिकोण सबै ठाउँमा पुगेको हुन्छ भन्ने हुँदैन। हाम्रो गतिविधिले सरकारलाई पनि नीति नियम बनाउन तथा कार्यान्वयनमा सहयोग पुग्छ। अर्कोतिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि नै सडकमा आउनुभयो नि ! उहाँलाई पनि जनताको आवाज चाहियो नि। त्यसैकारण जनसरोकारका मुद्दाका लागि सबैले सबैतिरबाट सरकारलाई झक्झक्याउनुपर्छ।

सरकारलाई खबरदारी गर्न मात्रै हो कि कांग्रेसमा युवाको जागरण ल्याउनु पनि संकल्प यात्राको उद्देश्य थियो ?

कांग्रेसप्रति युवाको अपनत्व र आकर्षण ल्याउनु पनि हाम्रो उद्देश्य हो। तर युवाहरू पार्टीमा कसरी जोडिन्छन् ? यो गम्भीर प्रश्न हो। युवाका मुद्दा, सरोकार र समस्याबारे नबोल्ने, युवाका भावना नबुझ्ने, समस्या समाधानमा पहल नगर्ने हो पार्टीमा युवाहरू किन र केका लागि जोडिन्छन् त ? यी विषयमा कांग्रेसले के पहल गर्छ ? युवाले हेरिरहेका छन्। त्यसैकारण, हाम्रो अभियानको अर्को उद्देश्य भनेको पार्टीलाई बेरोजगारी युवाहरूको सन्देश प्रवाह गर्नु पनि थियो। पार्टीका तर्फबाट समस्या समाधानमा पहल गर्नुपर्‍यो भन्ने पनि हो। युवालाई पनि पार्टीमा अवसर दिनुपर्‍यो। कांग्रेसप्रति युवाको लहर छ। तर, उमेर भइञ्जेल पार्टीले अवसर दिँदैन भन्ने व्यापक गुनासो युवामा देखियो।  रोजगारी सिर्जना होस् भन्ने सबैको चाहना छ। युवाको यो चाहना र भावनाको सम्बोधनका लागि पार्टी र सरकार दुवैले गम्भीर रूपमा काम गर्नुपर्छ। 

जनताबाट आएका सुझाव र १० बुँदे एजेन्डा अब कसरी अघि बढाउनुहुन्छ ? 

पार्टीसँग सम्बन्धित विषय पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउँछौं। सरकारसँग सम्बन्धित विषय प्रधानमन्त्री समक्ष पेस गर्छाैं। हामीले अभियान सुरु गर्नुअघि यसबारे पार्टी सभापतिलगायत पार्टीका सबै नेतृत्वलाई जानकारी गराएका थियौं। हाम्रा मुद्दा र सरोकार बढीजसो सरकारसँग सम्बन्धित भएकाले सरकारको पनि ध्यानाकर्षण गराउँछौं। 

संकल्प यात्रा भनेको पार्टीको कुनै गुट विशेषलाई बलियो बनाउने उद्देश्यले त होइन नि !

यो अभियानमा पार्टीको महाधिवेशनसँग सम्बन्धित कुनै विषय जोडिएका छैनन्। पार्टीको गुट पनि यसमा जोडिँदैन। गुटको आरोप लगाउने हो भने पनि, यो अभियानमा पार्टी सभापति निकट जिल्ला सभापतिहरू अधिकांश जिल्लामा जोडिनुभयो। उहाँहरूसँग एकदम राम्रो सहकार्य रह्यो। त्यहाँ गुटको गन्ध आएन। यो अभियान विशुद्घ रूपमा जनजीवनसँग सम्बन्धित १० बुँदे एजेन्डामै केन्द्रित रह्यो।

ठूला पार्टी जनतासँग टाढिएको जस्तो अवस्था छ। कस्तो रहेछ, जनतासँगको पार्टीहरूको सम्बन्ध ?

जनताका चासोका विषय अति सामान्य छन्। जनताका मुद्दामा पार्टीहरू बोल्नुपर्‍यो। गरिब, निमुखा, मजदुर किसानका कुरा सुन्नुपर्‍यो। जनताका गुनासाभन्दा सरकार अलिक टाढा बसे जस्तो स्थिति छ। अर्थात्, सरकार कतै रुमल्लिएको जस्तो देखिन्छ। सत्ता र राजनीतिक मुद्दामा पार्टीहरू अल्मलिएका छन्। र यी सबै गतिविधिले जनता टाढिएका छन्। दुई ठूला पार्टीप्रति जनताको आशा ठूलो छ। यो सरकारलाई सुतेर बस्ने छुट छैन। सरकारले समयमा डेलिभरी दिन सक्नुपर्‍यो। तर, सरकार अल्मलिएर मेसो नपाएको जस्तो देखिन्छ। 

कांग्रेसमा थुप्रै युवा नेता छन्। उहाँहरू सबैजना किन यसमा जोडिन सक्नुभएन ?

यो अभियानमा पार्टीमा सबै नेताहरूको समर्थन थियो। पार्टी सभापतिदेखि लिएर टोल अध्यक्षसम्मले सहयोग गर्नुभयो। सबै नेताहरूले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुभयो।

कांग्रेसको १५औं महाधिवेशन अब समयमै हुन्छ त ?

पार्टीको महाधिवेशन समयमै हुनुपर्छ भन्नेमा दुई मत छैन। यदि पार्टीको महाधिवेशन २०८४ को संसदीय निर्वाचनसम्म धकेलियो भने पार्टीभित्रको द्वन्द्वले संसदीय निर्वाचनमै असर गर्छ। अरू पार्टीसँग प्रतिस्पर्धा गर्ने बेला हामी आन्तरिक लडाइँमा अल्मलिन्छौं। पार्टीको भविष्यका लागि पनि तोकिएकै समयमै अर्थात् २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्छ। 

भ्रष्टाचार र अनियमितताका विषयमा कांग्रेस एमालेले आफ्नो मान्छे जोगायो अरूलाई फसायो भन्ने आरोप छ ? कांग्रेसले आफ्ना नेतालाई कारबाही गर्छ त ?

जो भए पनि कारबाही हुन्छ भनेर हाम्रो पार्टी सभापति र प्रधानमन्त्रीले विभिन्न फोरममा गएर बोलिराख्नुभएकै छ। कसैलाई जोगाउने, कसैलाई कारबाहीको दायरामा ल्याउने नियत सरकारको छ जस्तो लाग्दैन। 

यो सरकारले भ्रष्टाचारी जोसुकै होस्, कारबाही गर्नुपर्छ। सरकारले खुट्टा कमाउनु हुँदैन भन्ने यो अभियानबाट पनि हामीले जनताका आवाज बोकेर आएका छौं।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.