बसको ठक्करबाट बालिकाको मृत्यु
![बसको ठक्करबाट बालिकाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_7CCaGaSUWl_WXP4iLb5bX.jpg)
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क-६ नरपानीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। एकजना घाइते भएकी छिन्।
गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत नरपानीको धारा बजारमा लु२ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा-४ अमराईका १२ वर्षीय बिनिता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।
आज शुक्रबार बेलुका पौने ५ बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी बिनिताको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो।
अर्की घाइते शितगंगा-४ अमराई निवासी अन्दाजी १० वर्षीय एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ।
बस चालक र साहुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)