सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै
ताप्लेजुङ : सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको काबेली खोलामा निर्माण भएको आयोजनाको नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए।
१३ दशमलव ५ मेगावाट क्षमता रहेको आयोजनाको परीक्षण आइतबारदेखि सुरु भएको थियो। ढुङ्गानाका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यसैगरी सिरिजङ्घा –८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत्गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ। सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो।
विसं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको थियो। आयोजनामा झण्डै करिब दुई अर्ब ६३ करोड २९ लाख खर्च भएको छ।