१३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
बेनी : पर्वतको जलजला गाउँपालिकाका तीन वटा वडामा खानेपानी ल्याएर वितरण गर्न १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन।
जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको स्थानीय तह हो। जलजला गाउँपालिका १ मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने उद्देश्यले २०६८ सालमा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो।
जलजला गाउँपालिका–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माणको काम डेढ ढशकसम्म पनि पुरा हुन नसकेको बताए। ‘तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाखका दरले मात्र बजेट आउँदा निर्माणले गति लिन नसकेको हो,’ उनले भने, ‘हालसम्म प्राप्त भएको ५० लाख रूपैयाँ खर्चेर बनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ।’
संघीयता कार्यान्वयन सुरु नहँुदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो। प्रदेश सरकारमा हस्तान्तरण नभएपछि योजनाले निरन्तरता पाए पनि बजेट पर्याप्त आएन। खानेपानी सुविधाको आसमा रहेका बासिन्दा निराश भएका जलजला कुकुुरच्यान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए।
‘खानेपानीको आशैआशमा १३ वर्ष बित्यो,’ उनले भने, ‘निर्माण गरेका इन्टेक, रिजर्भ टंकी र धाराहरू पनि पानी नआउँदै जीर्ण भएका छन्।’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाएर वितरण गर्ने योजनाको लक्ष्य छ।
स्थानीयबासीले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर, कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन्। खानेपानीको असुविधाका कारण स्थानीयबासीको दैनिकी प्रभावित भएको स्थानीयबासी पुुर्ख पुुर्जा पुनले बताए। आयोजनाले समेटेको फलामेडाडा पर्यटकीय स्थल पनि हो।
चालु आर्थिक वर्षमा भने तीन वटा शीर्षकमा सो आयोजनाका लागि दुई करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख विनियोजन गरेको छ। संघीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना १, ५ र ७ र बाँसखर्क कुकुरच्यान जलजला १–५ को शीर्षकमा एक÷एक करोड रूपैयाँ बिनियोजन गरेको छ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले संघीय र प्रदेश सरकारबाट प्राप्त भएको बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरि कार्यान्वयन हुुने वातावरण बनाउने बताए। आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक फरक योजना अनुसार काम र क्षेत्र बाँडफाड गरेर निर्माण गरिने बताए।
प्रतिक्रिया दिनुहोस !