झापा कप : आयोजक स्तब्ध, जागृति क्लब इटहरी क्वार्टरफाइनलमा
झापा : आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी झापा कपको आइतबार भएको खेलमा आयोजक झापा–११ लाई २–० गोल अन्तरले पराजित गर्दै जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश गरेको हो। स्टार खेलाडीले भरिएको झापा–११ पहिलो चरणबाटै बाहिरिएपछि घरेलु दर्शक स्तब्ध बनेको छ। अब क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ। राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो।
जागृतिको जितमा मिलन लाई नायक बने। उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए। खेलको ५३ औँ मिनेटमा गोल पोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए। त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए। ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे। गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो। खेलको प्लेयर अफ द म्याच जागृतिका २ गोलकर्ता मिलन राई भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरे।
सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !