धमाधम बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
काठमाडौं : चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्ररूपमा अघि बढेको छ। धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारण देखाउँदै रंगशाला बनाउने काम छाडेपछि रगंशाला अलपत्रमा परेको थियो।
लामो समय अलपत्रमा परेको उक्त रंगशाला भरतपुर महानगर पालिकाको पहलमा संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबीचको सहकार्यमा धमाधम निर्माण भइरहेको छ।
रंगशालाको काम २०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले काम सुरु गरेको थियो। उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा रंगशाला निर्माण गरिरहेको छ। बागमती प्रदेश सरकारबाट ७५ करोड र भरतपुर महानगरपालिकाको ५ करोड रुपैयाँबाट रंगशालाको काम अगाडि बढाइएको छ। संघीय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट बिनियोजन गरेको छ। निर्माण सुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्रकुमार यादवले बताए।
रंगशालामा दैनिक १ सय ५० देखि १ सय ७५ जना कामदारबाट काम भइरहेको उनले बताए। निर्माण सुरु भएको ५ महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भएको र अहिले २ वटा टावर दर्शक बस्ने स्ट्याण्ड र खेल मैदान बनाउने काम भएरहेको इन्जिनियर रन्जित शाहले बताए।
चितवनको भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भीआइपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले बताए।