आज क्वालिफायर र एलिमिनेटरका खेल

आज क्वालिफायर र एलिमिनेटरका खेल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेल सम्पन्न भएको छ। सोमबारबाट लिग चरणको खेल सम्पन्न भएसँगै प्लेअफ पुग्ने टोलीको पनि टुंगो लागेको थियो। 

लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल खेल्ने छन्। यसैगरी तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सले इलिमिनेटर खेल खेल्ने छन्। यी दुवै खेल बुधबार हुनेछ। पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। इलिमिनेटर खेलमा पराजित हुने टोलीले चौथो स्थान हात पार्नेछ। 

सुदूरपश्चिम रोयल्सले लिग चरणको सातमध्ये ६ खेलमा जित निकालेको थियो। सुदूरपश्चिमले सात खेलमा १२ अंक जोडेको छ। जसमा ६ जित र एक हार समावेश छ। चितवन राइनोजसँग ३३ रनले पराजय बेहोरेको सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रन, लुम्बिनी लायन्सलाई ४५ रन, काठमाडौं गोर्खाजलाई ७३ रन र विराटनगर किङ्सलाई ९० रन, पोखरा एभेन्जर्सलाई पाँच रन र अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो।   

विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको जनकपुरले चौथो खेलसम्म पनि आफ्नो पराजित यात्रालाई कायमै राखेको थियो। दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको जनकपुर पाँचौं खेलमा सुदूरपश्चिम रोयल्ससँगै ७२ रनले पराजित भएको थियो। त्यसपछि काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको जनकपुर लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले पराजित भएको थियो। लिग चरणमा जनकपुरमाथि फराकिलो अन्तरले जित निकालेको सुदूरपश्चिम उच्च लयमा छ। सुदूरपश्चिमको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष सबल छ। त्यसैले बुधबार सुदूरपश्चिमलाई रोक्न जनकपुरले विशेष मेहनत गर्नुपर्ने देखिएको छ।

एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै

एनपीएलमा बुधबार हुने प्लेअफको एलिमिनेटरमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सले इलिमिनेटरले प्रतिस्पर्धा गर्दै छन्।  चितवन राइनोजले प्रतियोगिताको सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। काठमाडौं गोर्खाजलाई सात विकेटले पराजित गरेको चितवनले पोखरालाई ७४ रनमा समेट्दै ८७ रनको फराकिलो जित निकालेको थियो। यस्तै तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजय बेहोरेको चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो। एकै किसिमको प्रदर्शन गर्न नसकेको चितवन लुम्बिनी लायन्ससँग ३३ रन, विराटनगर किङ्ससँग ५१ रनले पराजय बेहोर्दा लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो। सात खेलमध्ये चार खेल जितेर आठ अंक जोडेको चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा छनोट भएको हो। चितवनले तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदै प्लेअफमा छनोट भएका सुदूरपश्चिम र जनकपुरलाई पराजित गरेको थियो। शीर्ष दुई टोलीलाई हराउने चितवन एक्लो टिम हो।

चितवनको सवल पक्ष विदेशी खेलाडीको प्रदर्शन हो। चितवनका विदेशी खेलाडीले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। दुई बायाँहाते बलर सोहेल तनभिर र रिजन ढकालले विपक्षी खेलाडीलाई आच्छुआच्छु पारिरहेका छन्। रिजन सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो स्थानमा छन्। उनले सात खेलमा १३ विकेट लिएका छन्। ब्याटिङमा पनि हसन इसाखिल र रवि बोपराले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। 

यसैगरी कर्णाली याक्सले अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि रनरेटमा भाग्यमानी बन्दै प्लेअफमा स्थान बनाएको हो। चितवन, काठमाडौं र कर्णालीको समान आठ अंक भए पनि रन रेटका आधारमा चितवन र कर्णालीले प्लेअफमा स्थान सुरक्षित गरेका थिए। सुरुवाती दुई खेलमा हार बेहोरेको कर्णालीले तेस्रो खेलबाट मात्र जितको खाता खोलेको थियो। जनकपुरसँग आठ र काठमाडौंसँग तीन विकेटले पराजय बेहोरेको कर्णालीले त्यसपछि लगातार चार खेलमा जित निकालेको थियो। कर्णालीले चितवन राइनोजलाई ६ विकेट, विराटनगर किङ्सलाई सात रन,  पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गरेको थियो। लिग चरणको अन्तिम खेलमा भने सुदूरपश्चिमसँग ६ विकेटले पराजय बेहोरेको थियो। 

भारतका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेर समग्र एनपीएलकै हाइप बढाएको कर्णालीको ब्याटिङ बलियो देखिए पनि त्यसअनुसारको प्रदर्शन भने हुन सकेको छैन। विदेशी खेलाडी चाडविक वाल्टन, बाबर हयातले ठूलो पालि खेल्न नसक्दा कर्णाली दबाबमा देखिएको छ। अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोको आगमनपछि भने ब्याटिङमा सुधार देखिएको छ। चितवनलाई लिग चरणमै पराजित गरिसकेकाले त्यही उर्जा लिएर बुधबार मैदान प्रवेश गरेमा कर्णालीले सुखद् नतिजा निकाल्न सक्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.