अस्ताइन् मानव बेचबिखनविरुद्धकी अभियन्ता

अस्ताइन् मानव बेचबिखनविरुद्धकी अभियन्ता
सुन्नुहोस्

काठमाडौं : मानव बेचबिखनविरुद्ध काम गर्ने अग्रणी संस्थामध्येको शक्ति समूहकी संस्थापक सुनिता दनुवारको सोमबार असमायिक निधन भएको छ। ४७ वर्षीया दनुवार गोकर्णेश्वर नगरपालिका–८ स्थित घरमै मृत अवस्थामा भेटिएकी हुन्। उनको सोमबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

राति सुतेको अवस्थामा ओछ्यानमै अचेत भेटिएपछि उनलाई परिवारले बिहानै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्‍याएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। 

शक्ति समूह सन् १९९६ देखि बेचबिखनमा परेका महिलाको उद्धार र पुनस्र्थापनामा काम गर्दै आएको संस्था हो। समूहका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष दनुवारको अकल्पनीय एवं असामयिक निधनले समूह स्तब्ध र मर्माहित भएको संस्थाकी अध्यक्ष नातिसरा राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘शक्ति समूहलाई अन्तर्राष्ट्रिय र्‍यामन म्यागासेसे पुरस्कार दिलाउन सफल एवं सी १० र टीआईपी हिरो जस्ता अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित उहाँको निधनले मानवअधिकार क्षेत्र विशेष गरी मानव बेचबिखनविरुद्धको आन्दोलनमा अपुरणीय क्षति पुगेको छ।’ राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले दनुवारको निधनको खबरले आफू स्तब्ध भएको जनाइन्। महिला अधिकार र मानव अधिकारको क्षेत्रमा उनको भूमिका अतुलनीय रहेको जनाउँदै दनुवारको निधनले सिंगो महिला अधिकारको क्षेत्रमा अपुरणीय क्षति पुर्‍याएको अध्यक्ष पराजुलीले बताइन्। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले आफूले दनुवारलाई दुई साता अगाडि मात्र एउटा कार्यक्रममा भेटेकाले उनको मृत्युको खबरलाई पत्याउनै गाह्रो परिरहेको प्रतिक्रिया दिइन्। 

आफैँ पीडित भए पनि सबैको आवाज बनेर लडेकी दनुवारको योगदान समग्र नेपाली महिला अधिकारको क्षेत्रमा सदा स्मरणीय रहने उनको भनाइ छ। ‘एउटा असाध्यै संवेदनशील विषय र समाजबाट बहिस्कृत वर्गको अधिकारका लागि अगाडि आएर सुनिताले निरन्तर लडिरहिन्। उनको शरीर नरहे पनि सिंगो महिला आन्दोलनको इतिहासमा उनको नाम सदा अमर रहने छ’, उनले भनिन्।  

दनुवार सुनिता फाउन्डेशनकी पनि संस्थापक अध्यक्ष हुन्। सन् २०१९मा स्थापना भएको यस फाउन्डेशन मानव बेचबिखनबाट बचेकाहरूद्वारा स्थापना गरिएको संस्था हो। 

उनको असाधारण नेतृत्व क्षमताले शक्ति समूह र सुनिता फाउन्डेसनलाई अगाडि बढाउन ठूलो भूमिका खेलेको उनलाई नजिकबाट चिनेकाहरू बताउँछन्। 

भारत सरकारले सन् १९९६ मा मुम्बईको रेड–लाइट क्षेत्रमा छापा मारेर नेपाल, भारत र बंगलादेशका करिब ५०० युवायुवतीलाई उद्धार गर्‍यो। तीमध्ये ३०० जना नेपाली युवती थिए। 

त्यतिबेला नेपाल सरकारले एचआईभी/एड्स फैलिने चिन्ताले नेपाली युवतीहरूलाई स्वदेश फिर्ता गर्न सुरुमा अस्वीकार गरेको थियो। यस्तो कठिन परिस्थितिमा ओरेक नेपाल, एबीसी नेपाल, माइती नेपाललगायतका संस्थाहरूको पहलमा १२८ जना महिलालाई सफलतापूर्वक नेपाल फर्काएर उनीहरूलाई आश्रय प्रदान गरिएको थियो। ओरेक नेपालले यीमध्ये १५ जनालाई प्रजनन् स्वास्थ्य र मानवअधिकारसम्बन्धी १० दिने तालिम प्रदान गरेको थियो। तालिमपछि शशक्त भएका उनै १५ जनाले शक्ति समूह स्थापना गरेर आफ्नो पीडालाई शक्तिमा परिणत गरेका थिए। 

दनुवारको नेतृत्वमा शक्ति समूहले नेपालका १३ जिल्लाका गरिब समुदायका २०,००० भन्दा बढी मानिसलाई स्वदेश फिर्ती सहायता, कानुनी सहायता, व्यावसायिक सीप तालिम, जीविकोपार्जन सहयोग, रोजगारी सेवा र मनोसामाजिक परामर्श प्रदान गर्न आफ्ना सेवाहरू विस्तार गरेको थियो।

दनुवारले गरिब तथा ग्रामीण नेपाली समुदायमा मानव बेचबिखन रोक्न अथक प्रयास गरेकी थिइन्।  यस विषयमा जनचेतना जगाउन उनले गाउँ–गाउँ घुमेर मानव बेचबिखनलाई चित्रण गर्ने नाटकहरू देखाइन्। उनले आफ्नो आत्मकथा ‘आँसुको शक्ति’ पनि प्रकाशित गरेकी थिइन्। 

मानव बेचबिखनविरुद्ध योगदान पुर्‍याएकोमा उनले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेकी छन्। अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ को टिफ हिरोका रूपमा दनुवारलाई सम्मान गरेको थियो। त्यसैगरी अमेरिकाको फच्र्युन म्यागेजिनको विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा उनी ३६औं नम्बरमा पर्न सफल भएकी थिइन्। उनले स्विडेनको स्टकहोममा सी १० अवार्ड पनि प्राप्त गरेकी छन्। 

दैलेखमा जन्मिएकी दनुवार आफै मानव बेचबिखनबाट प्रभावित भई मानव बेचबिखनविरुद्धको आन्दोलनमा विगत २८ वर्षदेखि सक्रिय रहँदै आएकी थिइन्। सुनिताका श्रीमान्, एक छोरा र एक छोरी छन्।  

दनुवारको कालगतीले स्वाभाविक मृत्यु भएको र कतैबाट उजुरी नपरेकाले थप अनुसन्धान नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.