महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ। शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ।’
कार्यक्रममा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताएका छन्। ‘मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु।’,राष्ट्रपति पौडेलले भने,‘त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो।’
उनले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्ताको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे।