एनपीएलपछि एनकेएल : ​​​​​​​कबड्डीको शान,अन्तर्राष्ट्रिय पहिचान

एनपीएलपछि एनकेएल : ​​​​​​​कबड्डीको शान,अन्तर्राष्ट्रिय पहिचान

काठमाडौं : कबड्डी भन्नेबित्तिकै धेरैले आफ्नो बाल्यकालको सम्झिन्छन् । बाल्यकालमा साथीहरूसँग खेलेको यो खेल सम्झियो भने धेरैको मानसपटलमा पुराना यादलाई ताजा गराइदिन्छ । नेपालीको मन, मस्तिष्कमा गढेको कबड्डी २०७४ जेठ ८ गते अघिसम्म नेपालको अनौपचारिक रूपमा राष्ट्रिय खेल थियो । 

२०७४ जेठ ८ मा सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि मात्रै यसले राष्ट्रिय खेलको मान्यता गुमाएको हो । नेपालको मनमनमा बसेको यो खेललाई लोकप्रिय र व्यावसायिक बनाउन एस्ट्रोनिक्स म्यानेजमेन्ट कम्पनी लागेको छ । धेरैको मन बसेको खेल भइकन पनि पछिल्लो समय ओझेलमा परेको कबड्डीलाई ‘फ्रेन्चाइज मोडल’मार्फत लोकप्रिय बनाउन एस्ट्रोनिक्स म्यानेजमेन्ट कम्पनी लागेको हो । 

एस्ट्रोनिक्सले फ्रेन्चाइज टिमको अवधारणामा नेपाल कबड्डी लिग (एनकेएल) आयोजना गरेर यसको साख र लोकप्रियतालाई पुनः फर्काउन लागिपरेको हो । एनकेएललाई लिएर आफू निकै उत्साहित रहेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार बेगानी बताउँछन् । कबड्डी, स्क्वास, ब्याडमिन्टन, टेबुलटेनिसलगायत थुप्रै खेलका खेलाडीसमेत रहेका बेगानी सबै खेलको मिश्रण कबड्डीमा पाइने बताउँछन् । ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ । 

जुन छोटो–मीठो छ । हामीले नेपाली कबड्डीको स्तर वृद्धि नगरेसम्म यसको आकर्षण बढाउन सकिँदैन’, उनी भन्छन्, ‘नेपाली कबड्डीलाई विश्वस्तरमै पुर्‍याउनका लागि एनकेएललाई स्तरीय बनाउन कुनै पनि सम्झौता नगरी लगानी गरेका छौं । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले एस्ट्रोनिक्स नेपाल कबड्डी लिग खेलमात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य रहेको बताए । ‘एनकेएल खेल मात्र नभएर सारा नेपालीको सपना हो । नेपाली कबड्डीलाई विश्वमञ्चमा पुर्‍याउने प्रयास हो । युवाहरूलाई माथि उठाउन, विश्वसामु नेपालको प्रतिभा पुर्‍याउनु हो,’ उनले भने ।

यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकास र विस्तारका लागि निजी क्षेत्रबाट ठूलो योगदान भइरहेको बताउँदै नेपाल कबड्डी लिगले पनि नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । गत मंसिर ३० मा भएको खेलाडी ड्राफ्ट कार्यक्रममा उपस्थित घिसिङले भनेका थिए, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुवातले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ ।’

व्यावसायिकताको मार्गमा कबड्डी

निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुवातले कबड्डीको विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ । अब कबड्डीजस्तै अन्य खेलले पनि व्यावसायिकताको बाटो 
रोज्नु पर्दछ ।  टंकलाल घिसिङ, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्

१९औं एसियाली खेलकुदपछि चर्चा 

विगतमा लोकप्रियताको शिखरमा रहेको यो खेल लामो समयसम्म गुमनाम झैं अवस्थामा रह्यो । संघका पदाधिकारीबीचको टकराब र द्वन्द्वले कबड्डीले समयानुकूल फक्रिने अवसर पाउन सकेन । राष्ट्रिय खेलकुद प्रतियोगिता र केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित बन्न पुग्यो । डेढ वर्षअघि चीनको हाङझावमा आयोजना भएको १९औं एसियाली खेलकुदमा पहिलो सहभागितामै ऐतिहासिक कांस्य पदक जितेपछि कबड्डीले चर्चा बटुलेको हो । 

१९औं एसियाली खेलकुदको महिला कबड्डीमा सात राष्ट्रले सहभागिता जनाएका थिए । थोरै राष्ट्रले सहभागिता जनाए पनि पदक जित्न नेपाली खेलाडीले धेरै मेहनत गरेका थिए । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । साबिक विजेता इरानसँगै नेपाल र बंगलादेश समूह ‘बी’मा परे । नेपाले समूह चरणको खेलमा बंगलादेशलाई पराजित गरेको थियो भने इरानसँग पराजय बेहोरेको थियो । एक जित र एक हारको नतिजासहित सेमिफाइनलमा पुगेको नेपाल सेमिफाइनलमा पराजित भएपछि कांस्य पदक पक्का गरेको थियो । त्यो पदक नेपालका लागि ऐतिहासिक थियो । यसअघि नेपालले एक रजत र २२ कांस्य पदक जिते पनि टिम इभेन्टमा भने पदक जित्न सकेको थिएन । टिम इभेन्टमा पदक जित्ने नेपालको सपना हाङझावमा पूरा भएको थियो । 

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि १९औं एसियाली खेलकुद प्रतियोगितापछि नेपाली कबड्डीले बढी चर्चा र लोकप्रियता पाएको बताउँछन् । ‘हामीले सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेका थियौं । त्यो बेला नेपालले ऐतिहासिक रूपमा ५१ स्वर्ण जितेकाले रजत पदकको धेरै चर्चा भएन’, महासचिव झा भन्छन्, ‘१९औं एसियाली खेलकुदमा कांस्य पदक जितेपछि भने धेरै चर्चा बटुल्न सफल भयो । एनकेएलपछि यसले झनै चर्चा र लोकप्रियता पाउने विश्वास छ ।’

खेलाडीको अध्ययन गरेपछि एनकेएलको अवधारणा

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमितकुमार बेगानीले नेपालमा कबड्डी खेलाडीका बारेमा अध्ययन गरेपछि मात्रै एनकेएल आयोजनाको तयारी थालेको बताए । ‘नेपालको पुरानो र चर्चित खेल भए पनि यसका बारेमा यकिन तथ्यांक कोहीसँग थिए । त्यसैले हामीले कबड्डीका विषयमा एउटा अध्ययन गर्ने निर्णय गर्‍यौं । अध्ययनका क्रममा यो खेल देशको तराई र पश्चिमी क्षेत्रमा निकै लोकप्रिय रहेको पायौं’, बेगानी भन्छन्, ‘अनुसन्धान गर्दा नेपालमा २० हजारभन्दा बढी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेलिन्छ । दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ । भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने लक्ष्य बोकेर यसमा होमिएका हौं ।’ अखिल नेपाल कबड्डी संघका महासचिव झा पनि नेपालमा खेलाडीको कमी नरहेको र काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा मात्रै सात सयभन्दा बढी खेलाडी रहेको दाबी गर्छन् । ‘अन्य खेलको तुलनामा कबड्डीका खेलाडी धेरै छन् । देशका जुनसुकै भागमा पनि यो खेल खेल्न सकिन्छ । लगानी पनि धेरै चाहिँदैन । ७ सय ५३ वटै पालिकामा हाम्रा खेलाडी छन्’, उनी भन्छन्, ‘हामीसँग खेलाडीको कमी छैन ।’

चौथो नेपाली फ्रेन्चाइज लिग

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने एनकेएल क्रिकेट, फुटबल र भलिबलपछिको चौथो फ्रेन्चाइज लिग हो । यसअघि क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल), फुटबलको नेपाल सुपर लिग (एनएसएल) र भलिबलको नेपाल भलिबल लिग (एनभीएल) आयोजना भइसकेको छ । क्रिकेट, फुटबल र भलिबलमा जस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने एस्ट्रोनिक्सका अध्यक्ष बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् । विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोडभन्दा बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिएको बताए ।

१० वर्षको सम्झौता, ६ टोलीबीच प्रतिस्पर्धा

नेपाल कबड्डी लिग शुक्रबारबाट सुरु भएको छ । फ्रेन्चाइज टिमको अवधारणामा सञ्चालन गरिएको प्रतियोगिता राउन्ड रोबिन लिग र नकआउटका आधारमा माघ १८ गतेसम्म सञ्चालन हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग दसवर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो । संघका महासचिव झा सुरुमा पुरुष लिग आयोजना र केही समयपछि महिला लिग पनि गर्ने सहमतिमा एस्ट्रोनिक्ससँग १० वर्षको सम्झौता गरिएको बताउँछन् । ‘नेपालमा पहिलो पटक पुरुष कबड्डी लिग हुन लागेको छ । पुरुष लिग भएको केही समयपछि महिला लिग पनि गर्ने गरी संघले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ’, महासचिव झा भन्छन्, ‘केही समयपछि महिला–पुरुष दुवैको फ्रेन्चाइज लिग हुनेछ ।’

भारतको प्रो–कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ । प्रो–कबड्डी लिगका प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागी छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने छन् । एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना खेलाडी नेपाल आइसकेका छन् । हरेक टिममा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन् ।

यी विदेशी खेलाडीले खेल्दैछन् एनकेएल

पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६६ स्वदेशी र १८ विदेशी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । भारतको प्रो–कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर सुरु गरिएको लिगमा थाइल्यान्ड, बंगलादेश, केन्या र श्रीलंकाका १८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी प्रो–कबड्डीलगायत विश्वका चर्चित प्रतियोगितामा सहभागिता जनाइसकेका विदेशी खेलाडीलाई एनकेएलका ६ टोलीले भित्त्याएको बताउँछन् । ‘सब टोलीले राम्रा विदेशी खेलाडी भित्त्याएका छन् । प्रो–कबड्डीदेखि विश्वका चर्चित प्रतियोगिता खेलिसकेका खेलाडी नेपाल आएका छन्’, अध्यक्ष बेगानीले भने । 

बंगलादेश, थाइल्यान्ड, केन्या र श्रीलंकाका खेलाडी नेपाल आए पनि भारतका कोही पनि खेलाडी एनकेएलमा सहभागी छैनन् । एस्ट्रोनिक्स म्यानेजमेन्टले भारतको प्रो–कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर प्रतियोगिता सञ्चालन गरेको छ । तर, प्रतियोगितामा कोही पनि भारतीय खेलाडी भने सहभागी छैनन् । संघका महासचिव झाले भारतीय कबड्डी संघलाई एसियाली कबड्डी फेडरेसनले प्रतिबन्ध लगाएको र भारतका कुनै पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट रोकेकाले भारतीय खेलाडी नआएको जानकारी दिए । 

एनकेएल खेलमात्र नभएर नेपालीको सपना हो

हामीले नेपाली कबड्डीको स्तरवृद्धि नगरेसम्म यसको आकर्षण बढाउन सकिँदैन । नेपाली कबड्डीलाई विश्वस्तरमै पुर्‍याउनका लागि एनकेएललाई स्तरीय बनाउन कुनै पनि सम्झौता नगरी लगानी गरेका छौं । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । एनकेएल खेल मात्र नभएर सारा नेपालीको सपना हो । भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने लक्ष्य बोकेर यसमा होमिएका हौं । अमितकुमार बेगानी, अध्यक्ष, एस्ट्रोनिक्स म्यानेजमेन्ट कम्पनी

एनकेएलमा काठमाडौं माभरिक्सले बंगलादेशका मोहमद मिजानुर रहमान, थाइल्यान्डका रोएंग्रोम चतुरोनफैसन र सहारत फेल्चुईलाई भित्त्याएको छ । यस्तै विराटनगर ब्यान्डिट्सले रतनकोन योसुंगनोएन र नोफाडान पोन्टेसोनलाई ल्याएको छ । यसैगरी जनकपुर नाइट्सले थाइल्यान्डका कायाफोन कामुनी र तानोङसाक श्रीहेरा तथा श्रीलंकाका दिलसान सञ्जय र लक्ष्यमोहन थामुसोनलाई टोलीमा अनुबन्ध गरेको छ । यस्तै पोखरा लेकर्सले बंगलादेशका मोहमद मोनिरुल चौधरी र मोहमद सबुज मियालाई ल्याएको छ । धनगढी वाइल्डक्याट्सले पनि तीन जना विदेशी खेलाडी भित्त्याएको छ । धनगढीले बंगलादेशका मोहमद यासिन एराफात, श्रीलंकाका अहंगमा पोलवत्था गैलाप्पथिगे र केन्याका स्टिफेन अमोलो एडोंगोलाई भित्त्याएको छ । यसैगरी हिमालयन रेडर्सले केन्याका जर्ज एम्बुगा, फ्रेङलन ओटायो, बंगलादेशका सा मोहमद सान र मोहमद रोमन हुसेनलाई अनुबन्ध गरेको छ । यी हुन् मार्की, कति पाउँछन् खेलाडीको पारिश्रमिक ? 

एनकेएलमा सहभागी ६ वटै फ्रेन्चाइज टोलीले नेपाली खेलाडीलाई मार्की खेलाडीमा अनुबन्ध गरेका छन् । विराटनगर ब्यान्डिट्सले कल्याण भुजेल, जनकपुर नाइट्सले रामु टमाटा, काठमाडौं माभरिक्सले घनश्याम रोकामगर, पोखरा लेकर्सले प्रदीप मिजार, हिमालयन रेडर्सले गणेशबहादुर पार्की र धनगढी वाइल्डक्याट्सले पद्मबहादुर विष्टलाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।

मार्की खेलाडीमध्ये सबैभन्दा चर्चित नाम हो, घनश्याम रोकामगर । काठमाडौं माभरिक्सका मार्की खेलाडी घनश्यामले यो सिजनको प्रो–कबड्डी लिग हरियाणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । घनश्यामले पछिल्लो दुई सिजन हरियाणाबाटै प्रो कबड्डी खेलेका थिए । गत सिजन उपविजेता बनेपछि हरियाणाले उनलाई टिममा रिटेन गरेको थियो । यस सिजन भने हरियाणाबाट उनले उपाधि जित्ने अवसर पाएका थिए । घनश्यामले यस सिजन दुई खेल मात्र खेल्न पाए । उनले चोटका कारण यस सिजन धेरै खेल खेल्न नपाए पनि टिम च्याम्पियन बन्दा खुसी लागेको बताए । ‘दुई सिजन प्रो कबड्डी खेल्दा राम्रो अनुभव भयो । चोटका कारण धेरै खेल खेल्न पाइनँ । तर पाएको अवसरमा आफ्नो शतप्रतिशत दिएँ’ उनले भने, ‘त्यहाँ हासिल गरेको सीप र ज्ञानलाई एनकेएलमा देखाउने छु ।’

उनले नेपालमा एनकेएल सुरु हुनु राम्रो रहेको भन्दै यहाँ प्रतिभावान् खेलाडी रहेकोकाले भविष्यमा अन्य खेलाडीले पनि प्रो कबड्डी खेल्न सक्ने सम्भावना रहेको बताए । यस्तै काठमाडौंकै लालमोहर यादवले प्रो–कबड्डीको लगातार तीन सिजन खेलेका छन् । 

७५३ वटै पालिकामा खेलाडी छन्

एनकेएलले नेपाल कबड्डीमय हुनेछ । पछिल्लो एक डेढ वर्षमा हामीले हासिल गरेको उपलब्धिका कारण फ्रेन्जाइज टोली यसप्रति आकर्षित भएका हुन् । लिगपछि कबड्डीले ठूलो फड्को मार्ने विश्वास गरेका छौं । अन्य खेलको तुलनामा कबड्डीका खेलाडी धेरै छन् । देशका जुनसुकै भागमा पनि यो खेल खेल्न सकिन्छ । लगानी पनि धेरै चाहिँदैन ।  अरविन्दकुमार झा, महासचिव, अखिल नेपाल कबड्डी संघ​​​​​​​

संघका महासचिव झाका अनुसार मार्की खेलाडीले एक लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसैगरी ‘ए’ श्रेणीका खेलाडीले ७५ हजार, ‘बी’ श्रेणीकाले ६५ हजार र ‘सी’ श्रेणीका खेलाडीले ५० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । महासचिव झाका अनुसार ड्राफ्टमा छनोट भएका ८४ खेलाडीमध्ये हरेक टोलीले ‘ए’ श्रेणीका तीन जनामात्रै खेलाडी लिन पाउने प्रावधान राखिएको छ । संघका महासचिव झाले केही सिजन ड्राफ्टमार्फत नै खेलाडी छनोट गरिने जानकारी दिए । ‘कबड्डी भर्खर चर्चामा आइरहेको छ । यस्तो अवस्थामा फ्रेन्चाइज टोलीले प्रायोजन पाउन गाह्रो छ । त्यसैले हामीले ‘अक्सन’ नगरी ड्राफ्टमार्फत नै खलाडी छनोट गर्ने नीति लिएका हौं’, महासचिव झाले भने, ‘यो मात्रै होइन, आगामी केही सिजन पनि ड्राफ्टमार्फत नै खेलाडी छनोट हुनेछ ।’

पुरुष टिम सम्हाल्दै पार्वती

एनकेएलका ६ फ्रेन्चाइज टोलीमध्ये पाँच टोलीले प्रशिक्षकको जिम्मेवारी पुरुषलाई दिएका छन् । तर, जनकपुर नाइट्सले भने प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ, पार्वती राईलाई । राष्ट्रिय खेलकुद परिषद्की मुख्य प्रशिक्षकसमेत रहेकी राई आफ्नो सफलता र प्रदर्शनलाई हेरेर टोलीले जिम्मेवारी सम्हालेको बताउँछिन् । ‘मेरा लागि यो अवसरसँगै चुनौती पनि हो । मैले यो चुनौतीलाई अवसरका रूपमा लिएको छु’, उनी भन्छिन्, ‘विगतमा मेरो प्रशिक्षणमा भएका उपलब्धिले नै जनकपुरले विश्वास गरेको हो । जनकपुरले एनपीएल क्रिकेटको उपाधि जितेजस्तै हामी एनकेएल च्याम्पियन बन्न चाहन्छौं ।’

चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वती पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदसँगै यू–१९ पुरुष विश्वकपमा कांस्य र बंगबन्धु कपमा दोस्रो स्थान हात पारेको थियो । 

७५ लाखको मुख्य प्रायोजन

एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिगका लागि केबी सामलाई मुख्य प्रायोजकका रूपमा भित्त्याएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टले केबी सामसँग तीन वर्षका लागि केबी सामसँग सम्झौता गरेको हो । सम्झौताअनुसार केबी सामले वार्षिक ७५ लाख रुपैयाँ एस्ट्रोनिक्सलाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । यो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ‘ए’ डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबैभन्दा ठूलो प्रायोजन हो । वीरगन्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.