विवाह भोज खाएर दर्जनौँ बिरामी
डोटी : डोटीको आदर्श गाउँपालिका-१ बाँझमा विवाह भोज खाएर दर्जनौँ मानिस बिरामी भएका छन्। नर बहादुर विककी छोरीको विवाहमा गत माघ ५ गते आयोजित भोजमा सुजीको हलुवा लगायतका परिकार खाएका व्यक्तिहरूमा ज्वरो आउने, बान्ता हुने र पखालाको समस्या देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले बताए।
उनका अनुसार सुरुमा ३ जनामा स्वास्थ्य समस्या देखिए पनि माघ ६ गतेसम्म दुलही पक्षका करिब ५६/५७ जनाको स्वास्थ्यमा एउटै समस्या देखा परेको छ। बिरामी परेका व्यक्तिहरूको स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको छ भने रगतको नमुना डोटी जिल्ला अस्पतालमा परीक्षणका लागि पठाइएको छ।
हालसम्म बिरामी सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। उक्त घटनाको कारण विवाह भोजमा खाइएका परिकारमा खाद्य विषाक्तताको सम्भावना रहेको अनुमान गरिएको छ।
स्वास्थ्य कार्यालय डोटीले समेत घटनाको विस्तृत अध्ययन गरिरहेको कार्यालय प्रमुख रमेश मलासीले बताए। उनले आज दिउँसोसम्म ३० जना स्वास्थ्य चौकी उपचारका लागि आइसकेको र बाँकी मानिसहरूको खोजीका लागि टोली खटाइएको बताए। ल्याब परीक्षणपछि मात्र घटनाबारे विस्तृत बताउन सकिने मलासीको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !