प्रमुख प्रशासकीय अधिकृत नभएपछि शिक्षकले तलब पाएनन्
कपिलवस्तु : प्रमुख प्रशासकीय अधिकृत १ महिनाअघिदेखि बिदामा बसेपछि कपिलवस्तु नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूले ४ महिनासम्मको तलब तथा भत्ता पाउन सकेका छैनन्।
कार्यालयमा केही महिनाअघि मात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल कार्यालयमा हाजिर भए लगत्तै लामो समय बिदामा बस्दा समस्या देखिएको हो। जसका कारण शिक्षकहरूको कात्तिक, मंसिर, पुस महिनाको तलब भत्ता निकासा हुन नसकेको हो।
नगरपालिकाबाट तलब भत्ता निकासा नहुँदा नगर क्षेत्रका ५२ सामुदायिक विद्यालयका २ सय ५० बढी शिक्षक आर्थिक संकटमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत भुसाल सरुवा भएर आए पनि नगरपालिकामा बसेर कामकाज गर्ने सोचमा छैनन्। उनी पुनः अन्यत्र कार्यालयमा सरुवा गराउन भन्दै लामो समयदेखि बिदा लिएर काठमाडौंस्थित मन्त्रालयमा धाइरहेका छन्।
जिल्ला बाहिर घर भएका, शिक्षण पेशा बाहेक अन्य आयस्रोत नभएका शिक्षकहरूलाई ४ महिनासम्म पनि तलब भत्ता पाउन नसक्दा निकै समस्या उत्पन्न भएको नेपाल शिक्षक संघका जिल्ला सचिव अञ्जन सिग्देलले बताए।
‘बाहिरबाट आएर नगर क्षेत्रमा शिक्षण पेशामा संलग्न रहेका शिक्षकहरूलाई घर भाडा, रासन, बालबच्चाको पढाइ खर्च तथा घर खर्च र आफ्ना व्यक्तिगत खर्चहरू चलाउन समेत गाह्रो भएको अवस्था हो। शिक्षण पेसालाई सम्मानित पेशा भने पनि गरिने व्यवहार भने निकै निकृष्ट हुँदै आएको छ। ४ महिना भइसक्दा पनि तलब भत्ता निकासा नगरिनु कति हदसम्मको गैरजिम्मेवारीपूर्ण काम हो? यसतर्फ हामी निकै दुखी छौं। यसतर्फ सरोकारवाला निकायको गम्भीर ध्यान जान जरुरी छ,’ उनले भने।
यस बाहेक विद्यालयहरूमा निकासा गरिनु पर्ने खाजा कार्यक्रमको रकम पनि निकासा हुन सकेको छैन। विद्यालयले उधारोमा लिएर विद्यार्थीहरूलाई दैनिक खाजा खुवाई रहँदा खाजा वापतको सप्लायर्सहरूलाई करिब ४ लाख रुपैयाँ उधारो तिर्न बाँकी रहेको एक विद्यालयका प्रधानाध्यापकले बताए।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित भएको छ। विद्यालय सञ्चालनका लागि निकासा गरिनुपर्ने प्रति विद्यार्थी अनुदान रकम, नगरपालिकाले सहयोग गर्ने विद्यालय सञ्चालन अनुदान रकम समेत निकासा नहुँदा विद्यालयको दैनिक प्रशासनिक कामकाज सञ्चालनमा निकै समस्या भएको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाले बजेट संशोधनका लागि पौष मसान्त भित्र सम्पन्न गरि सक्नुपर्ने हिउँदे नगर सभा समेत हुन सकेको छैन। चालु आर्थिक वर्ष र अघिल्ला आर्थिक वर्षमा सम्पन्न भई नियमानुसार भुक्तानी गर्नुपर्ने विकास निर्माणका सबै काम तथा प्रक्रिया पूरा भए पनि बिल अनुसारको रकम भुक्तानी हुन नसकेको उपप्रमुख सुनिता गुप्ताले बताइन्।
नगर प्रमुख सहित वडाअध्यक्षहरूको बैठकले गत शुक्रबार प्रमुख प्रशासकीय अधिकृत भुसाल सम्पर्कविहीन रहेको र उनको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाई दिन अनुरोध गर्दै सामूहिक निर्णय गरेर संघको सम्बन्धित निकायमा पत्राचार गरिएको नगर प्रमुख सुदीप पौडेलले बताए। ‘आफूहरू यस सम्बन्धमा निकै संवेदनशील रहे पनि केन्द्रबाटै प्रमुख प्रशासकीय अधिकृत नआउँदा नगर क्षेत्रका विभिन्न विषयहरूमा समस्या बढी रहेको छ,’ नगर प्रमुख पौडेलले भने, ‘अब एक दुई दिन भित्र केन्द्रले अन्य कोही नयाँ प्रशासकीय अधिकृत पठाउँछ कि भन्ने आशामा हामी छौं।’
केही दिनभित्र कार्यालय प्रमुख हाजिर हुन नआए वडा अध्यक्षहरू सहितको टोली आफूहरू काठमाडौं मन्त्रालयमै गएर नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि धर्ना दिने नगर उपप्रमुख सुनिता गुप्ताले बताइन्। यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत भुसाललाई सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन।
प्रतिक्रिया दिनुहोस !