विद्यालयबाटै बालिकालाई एचपीभीविरुद्धको खोप

विद्यालयबाटै बालिकालाई एचपीभीविरुद्धको खोप

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ ९एचपीभी० खोप अब मुलुकभरका १६ लाख ८८ हजार ७६८ बालिकालाई लगाउने भएको छ। १० देखि १४ वर्षसम्मका बालिकाहरूलाई लक्षित गर्दै माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालयबाट खोप लगाउने भएको हो। 

विशेष गरेर ६ कक्षादेखि १० कक्षासमम अध्ययनरत छात्राहरू यो उमेर समूहभित्र पर्ने भएकाले पनि सुरुवातीको यो चरणमा खोप लगाउँदा प्रभावकारी हुने भएको हो। एचपीभी खोप लगाउन जाँदा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरूले उमेर खुल्ने प्रमाणपत्र लिएर खोप लगाउन जानुपर्छ भने विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरूले विद्यालयको परिचयपत्र देखाउनुपर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्भमर केन्द्रका अनुसार देशभरका १९ हजार ८ सय विद्यालय खोप केन्द्र तोकिएको छ। विद्यालय नपढेका सोही उमेरसमूहका छोरीहरूलाई पनि खोप नछुटाउने र उनीहरूलाई पनि विद्यालयमै समेट्ने केन्द्रले बताएको छ। तर आआफ्नो गाउँ टोलमा एचपीभी खोप अभियान सञ्चालन हुने दिन फरक–फरक हुनसक्ने भएकाले यसबाट थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, विद्यालयका शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी स्थानीय तहका निवर्वाचित जनप्रतिनिधिहरूलाई सोध्न केन्द्रले अनुरोध गरेको छ। 

केन्द्रले मंगलबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै एचपीभी खोप विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनी प्रमाणित गरेकाले अत्यन्तै सुरक्षित भएको बताएको छ। यसैक्रममा बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा। अभियान गौतम विश्वका १ सय ४५ मुलुकले प्रयोग गरिसकेको यो खोप नेपालका लागि बल्ल अवसर जुटेको समेत बताउँछन्। उनका अनुसार एचपीभी खोप विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनी प्रमाणित भएपछि नेपालमा प्रयोग गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हो। एचपीभी खोप लगाएपछि सामान्य प्रकारका असरहरू देखिनसक्ने बताइएको छ। जस्तै सुई लगाएको ठाउँमा दुरुने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुरुने, जिउ दुख्ने, रिंगाटा लाग्ने मांसपेसी दरूने चकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने। तर यस प्रकारका असरहरू केही समयपछि आफैं ठीक हुने भएकाले नआत्तिन पनि अनुरोध गरिएको छ। एचपीभी खोपले किशोरीहरूको महिनावारी ९रजश्वला० भएका बेला पनि लगाउन मिल्ने उनले जानकारी दिए। 

यो खोप विद्यालय नजाने १० वर्षमुनि र १४ वर्षभन्दा माथिका किशोरीहरू, गर्भवती महिलाहरू, पहिला कुनै खोप लगाउँदा गम्भीर एलर्जी प्रतिक्रिया भएको व्यक्तिलाई यो खोप लगाउन नहुने परिवार कल्याण महाशाखाबका निर्दैशक डा।विवेककुमार लाले जानकारी दिए। उनकाअनुसारएच पीभी खोपमा भएका कनै तत्वबाट विगतमा गम्भीर एलजी भएको व्यक्ति विगतमा एच पीभी खोप लगाएका किशोरीहरूले पनि यो खोप लगाउन जरुरी छैन। यस खोपबारे थप जानकारीका लागि टोल फ्री नम्बर १११५ मा अथवा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने छ।

पाठेघरको मुखको क्यान्सर हुनबाट हामी कसरी सुरक्षित बन्ने ?

एचपीभी संक्रमण र पाठेघरको मुखको क्यान्सर हुने सम्भावनाबाट निम्न दुई तरिकाले सक्षित हुन सकिन्छ। एचपीभी खोप लगाउँदा एचपीभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ। यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरूले लगाउनुपर्छ। साथै, पाठेघरको मुखको क्यान्सरको जाँच गराउने पाठेघरको मुखको क्यान्सरको पहिचान सुरुकै अवस्थामा ने भयो भने उपचार गरेर निको हुन सक्छ।

पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो ?

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई कार्भिकल क्यान्सर पनि भनिन्छ। यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ। पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ। नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ। पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग हो र सुरुको अवस्थामा यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुनसक्छ।

पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी कसरी सर्छ ?

एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो। सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुन्छन् तर अधिकांशमा कुनै पनि लक्षण देखिँदैन। उच्च जोखिम भएका एचपीभीसँगको निरन्तर संक्रमणले असामान्य कोशिकाहरूको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ।

पाठेघरको मुखको क्यान्सर भएमा के–कस्ता लक्षण र चिन्हहरू देखिन्छन् ?

एचपीभी संक्रमण पटक–पटक भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ। तर, एचपीभी संक्रमणको सुरुको अवस्थामा कुनै लक्षण चिन्हहरू देखिँदैनन्। पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्क पछि रगत आउने, तलो पेट दुख्ने योनिबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसूस हुने जस्ता लक्षण चिन्हहरू देखिन्छन्।

एचपीभी भनेको के हो ?

यो एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। एचपीभीका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६,२१८ प्रजाति प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ।

अर्घाखाँचीका ८ हजार बढीलाई एचपीभीविरुद्धको खोप दिइँदै

अर्घाखाँची : अर्घाखाँचीका आठ हजार बढी किशोरीलाई एचपीभीविरुद्धको खोप लगाइने भएको छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी भाइरसविरुद्धको खोप यही माघ २२ गतेदेखि देशव्यापी लगाइँदै छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म एचपीभीविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो।

अर्घाखाँचीका कुल ८ हजार १ सय ६० किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए। जसमध्ये विद्यालयमा अध्ययनरत ७ हजार ८ सय ५१ छात्रा तथा विद्यालय बाहिर रहेका ३ सय ९ रहेका उनले बताए। जिल्लाका ६ स्थानीय तहमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभीविरुद्धको खोप लगाइने छ। खोप लगाउन विद्यालयस्तरमा १ सय ४५ र वडामा ६१ गरी २ सय ६ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए। खोप लगाउन जिल्लाभरमा २ सय ४ जना स्वास्थ्यकर्मी, ४ सय ६ जना महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिका खट्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले खोप अभियान सफल पार्न सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताए। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सकिन्छ। शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेरसमूहका किशोरी छनोट गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कृष्णप्रसाद पोख्रेलको भनाइ छ। 

स्याङ्जाका ९ हजार बढीलाई एचपीभीविरुद्धको खोप

स्याङ्जा : स्याङ्जाका किशोरीलाई लक्षित गर्दै यही माघ २२ देखि २७ गतेसम्म महिलाका पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाइने भएको छ। 

स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० खोप लगाइने भएको हो। 

यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए। प्रमुख चापागाईंका अनुसार यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरू र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने छ।

तीमध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन् भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ। विद्यालय नगएकामध्ये १० वर्ष उमेरका ७ जना र ११ देखि १४ वर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ। पुतलीबजार नगरपालिका १ हजार ७२०, वालिङ्का १ हजार ९८०, गल्याङका १ हजार १११ जना, चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउनेछन्। फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६, अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.