एमालेको संसदीय दलको बैठक मंगलबार बस्ने
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमालेका सचेतक सुनिता बरालका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिएको छ। आगामी संसद्मा अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने उनले बताइन्। उनका अनुसार संसद्मा पेश हुन लागेका विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे पनि सांसदहरूलाई जानकारी गराइने उनको भनाइ छ।
गत बुधबार एमाले संसदीय दलले विज्ञहरूसमेत बोलाएर एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको थियो। हिउँदे अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ।
सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप सशक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ। संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेश गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रुपमा अघि बढाउन सरकारलाई सुझाव समेत दिने एमालेको तयारी छ।
प्रतिक्रिया दिनुहोस !