लुम्बिनीको मुहार फेर्ने गौरवका आयोजना

लुम्बिनीको मुहार फेर्ने गौरवका आयोजना

बुटवल : 

भैरहवाबाटै विदेश उडान

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि उपत्यका बाहिर अन्तर्राष्ट्रिय उडान हुने यो नै एकमात्र विमानस्थल हो। पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण त भएको छ, तर त्यहाँबाट उडान भइसकेको छैन। 

समग्र लुम्बिनी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल कोसेढुंगा सावित हुने आशा गरिएको छ। निर्माण भएको वर्षौंसम्म पनि सञ्चालनमा नआएपछि यस क्षेत्रका नागरिकहरू निराश थिए। सरकारले ३५ अर्ब खर्च गरेर बनाएको यो विमानस्थल २०७९ सालदेखि नियमित सञ्चालनमा छ। 

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आर्थिक राजधानी भनेर चिनिने क्षेत्र हो, बुटवल रुपन्देही। भारतीय सिमानाकासँग जोडिएको यस सहरमा विदेशी पर्यटक भिœयाउने र अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध स्थापित गर्न विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यहाँबाट अहिले फ्लाई दुबईले दिनहुँ र नेपाल वायुसेवा निगमले सातामा चार दिन उडान गरिरहेका छन्। 

यस विमानस्थलमा जहाज उडान र अवतरणका लागि आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड) प्रणाली हालै लागू गरिएको छ। अब बाक्लो हुस्सु लागेको बेला पनि भैरहवामा सहजै जहाज अवतरण हुने छन्। हुस्सु र कुहिरोमा पनि विमान सहज रूपमा उडान र अवतरणमा आइएलएस प्रणाली जडान गरिए पनि भारतले अनुमति नदिँदा उक्त प्रणाली प्रयोगमा ल्याउन सकिएको थिएन। कम्तीमा ९ सय मिटरको भिजिबिलिटीमा पनि जहाज सजिलै उडान र अवतरण हुनसक्ने विमानस्थलका सूचना अधिकारी दीपक बज्राचार्यले जानकारी दिए। यो प्रविधि सुचारु नहुँदा कम्तीमा १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्थ्यो। 

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रोल्पा, पूर्वी रुकुम, पाल्पा, गुल्मी र अर्घाखाँचीका अधिकांश नागरिकहरूको रोजगारीको गन्तव्य मुलुक दुबई, कतार हो। उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि धेरै राहत मिलेको छ।

४६ हजार किसानको खेतबारीमा सिक्टाको सिँचाइ

बाँकेका किसानहरूको जीवनशैली माथी उकास्ने राष्ट्रिय गौरवको आयोजना हो, सिक्टा सिँचाइ  आयोजना। आर्थिक वर्ष ०६१/०६२ देखि निर्माण थालिएको यो आयोजना आर्थिक वर्ष ०८९/०९० मा पूरा गर्ने लक्ष्य छ। लुम्बिनी प्रदेशभित्र सञ्चालनमा आएको महत्वपूर्ण आयोजनाका रूपमा यसलाई लिइएको छ। 

सिक्टा सिँचाइ आयोजना कार्यालय बाँकेका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार शाहका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४१ दशमलव ७७ प्रतिशत र आर्थिक प्रगति ४१ दशमलव शून्य ९ प्रतिशत पूरा भएको छ। गुरुयोजनाअनुसार आयोजनाको कुल लागत ५२ अर्ब ८९ करोड हो। 

विष्णुप्रसाद पौडेल, उपप्रधान एवं अर्थमन्त्री, नेपाल सरकार
लुम्बिनीमा राष्ट्रले गौरव गर्ने खालका अझै थुप्रै परियोजना निर्माण गर्ने योजना छ। बुटवल नारायणगढ सडकजस्तो बुटवल गोरुसिंगे सडक खण्डमा ढिलाइ हुँदैन। यो सडक समयमै पूरा हुन्छ। सिद्धबाबा सुरुङमार्गदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कतिपयले टिकाटिप्पणी गरेका थिए। अहिले दुवै आयोजनाहरू सफल रूपमा निर्माण र सञ्चालन भएका छन्। रुपन्देहीसहित सिंगो लुम्बिनी प्रदेशलाई विकासमा नमुना प्रदेश बनाउने सपना हामीसँग छ। तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल पोखरा सडक विस्तार, मेडिकल कलेज लगायतका आयोजनाहरू छिट्टै निर्माण गर्ने योजना सरकारको छ। 

तर, गुरुयोजनाअनुसार सरकारले बजेट विनियोजन नगर्दा कामले अपेक्षाकृत गति लिन नसकेको सूचना अधिकारी शाहले जानकारी दिए। ‘चालु आर्थिक वर्षमा प्रस्तावित बजेट ३ अर्ब ४ करोड थियो’, उनले भने, ‘तर बजेट आयो १ अर्ब ६० करोड मात्रै।’ उनले आयोजना कार्यालयले प्रस्ताव गरेबमोजिमको बजेट सरकारले नपठाए समयमै काम पूरा हुन नसक्नेसमेत अनुभव सुनाए। 

बाँकेका राप्ती सोनारी, खजुरा, बैजनाथ, कोहलपुर, डडुवा लगायतका ४ लाख ४९ हजार नागरिक र ४६ हजार ७ सय १५ घर यस आयोजनाबाट प्रत्यक्ष लाभांवित हुनेछन्। ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफल जग्गामा आयोजनाले बाह्रैमास सिञ्चित गर्ने छ। हालसम्म कुल २१ अर्ब ७३ करोड रुपैयाँ यस आयोजनामा खर्च भइसकेको छ। 

विश्वमा चिनाउने लुम्बिनी

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सञ्चालन गर्ने गरी लुम्बिनी विकास कोषलाई पनि राज्यले आर्थिक वर्ष ०६९/०७० देखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको छ। लुम्बिनीको विस्तृत गुरुयोजना बनाउने गरी ०७८ सालमा सरकारले सात अर्ब बजेट सुनिश्चित गरेको थियो। 

०८० सालको तथ्यांकअनुसार लुम्बिनीमा वार्षिक ११ लाख पर्यटकले अवलोकन गर्ने गरेका छन्। त्यसमध्ये सात लाख पर्यटक आन्तरिक छन्। तीन लाख १० हजार भारतीय र एक लाख १० हजार पर्यटक तेस्रो मुलुकबाट आउने गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। ‘गुरुयोजना निर्माणको काम हालसम्म ८८ प्रतिशत पूरा भइसकेको छ’, शाक्यले भने, ‘गत आर्थिक वर्ष भनेजति बजेट आएन। बजेट भएको भए अघिल्लो वर्ष नै गुरुयोजनाको सबै काम सकिन्थ्यो।’ उनले अघिल्लो आर्थिक वर्ष १ अर्ब ५० करोड बजेट आउनुपर्नेमा ४४ करोड रुपैयाँ विनियोजन हुँदा गुरुयोजनाले चाहेअनुसार गति लिन नसकेको जानकारी दिए। ०८३ सालभित्र गुरुयोजना पूरा हुनेसमेत उनले दाबी गरे। रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी लुम्बिनी विकास कोषको क्षेत्राधिकार हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि लुम्बिनीको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुगेको छ। लुम्बिनीले लुम्बिनी क्षेत्र मात्रै नभएर सिंगो देशलाई नै विश्वमाझ पहिचान दिलाएको छ। 

राष्ट्रिय गौरवपछि बल्ल गति लियो बबई

आर्थिक वर्ष ०४५/०४६ देखि निर्माण सुरु भए पनि बर्दियाको बबई सिँचाइ आयोजनाको निर्माण कार्यले राष्ट्रिय गौरबको आयोजनाको मान्यता पाएपछि मात्रै गति लिएको हो। आर्थिक वर्ष ०६९/०७० बाट यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको थियो। 

बर्दियाभरि कुल ३६ हजार हेक्टर क्षेत्रफल जग्गामा बाह्रैमास सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण गरिएको हो। हालसम्म २८ हजार हेक्टर क्षेत्रफल जग्गामा आयोजनाबाट सिञ्चित भएको छ। 

दिनेश पौडेल, सिनियर डिभिजनल इन्जिनियर, बबई सिँचाइ आयोजना, बर्दिया
आर्थिक वर्ष २०४५/४६ देखि निर्माण सुरु भए पनि आयोजनाको निर्माण कार्यले राष्ट्रिय गौरवको आयोजना भइसकेपछि मात्र गति लिएको हो। आर्थिक वर्ष २०६९/०७० बाट यसलाई राष्ट्रिय गौरबको आयोजना भनिएको हो। ३६ हजार हेक्टर क्षेत्रफल जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। २८ हजार हेक्टर क्षेत्रफल जग्गामा अहिले सिँचाइ भइरहेको छ। पछिल्लो दुई आर्थिक वर्षमा काम भएर पनि बजेट निकासा भएन। काम गरेको भुक्तानी दिन सकिएन। दायित्व सरेर आयो। आर्थिक वर्ष २०८५/०८६ सम्म योजना पूरा गर्छाैं ।

आयोजनाको हालसम्म कुल भौतिक प्रगति ७३ दशमलव ६१ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ३८ प्रतिशत भइसकेको आयोजनाका सूचना अधिकारी एवं सिनियिर डिभिजनल इन्जिनियर दिनेश पौडेलले जानकारी दिए। यसको कुल स्वीकृत गुरुयोजना अनुसारको लागत बजेट १८ अर्ब ९६ करोड हो। त्यसमध्ये हालसम्म १४ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको सूचना अधिकारी पौडेलले जानकारी दिए। 

‘बितेको दुई आर्थिक वर्षमा काम भएर पनि बजेट निकासा नहुँदा भुक्तानी दिन सकिएन’, पौडेलले भने, ‘अघिल्लो वर्षको दायित्व सरेर आउँदा आयोजना समयमै पूरा नहुने देखिन्छ।’ उनले आर्थिक वर्ष २०८२/०८३ सम्म आयोजना पूरा गर्ने सम्झौता भए पनि त्यस अवधिभित्र पूरा नभई २०८५/०८६ सम्म पुग्ने जानकारी दिए। बर्दियाको पश्चिम क्षेत्रको ४१ किलोमिटरमध्ये १२ किलोमिटर मूल नहर निर्माण गर्न बाँकी रहेको उनले सुनाए। 

नहर निर्माण र सञ्चालन सँगैसँगै गर्नुपर्ने भएकाले वर्षमा पाँच महिनामात्र आयोजनाको काम हुने पौडेल सुनाउँछन्। चालु आर्थिक वर्षमा काम गर्ने गरी १ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ। हाल बजेट समस्याले काम नरोकिएको उनले सुनाए। 

सुरुङले उत्साह

बर्खाको समयमा यात्रा गर्दा जहिल्यै त्रसित हुने यात्रुहरू बुटवल पाल्पा सीमा क्षेत्रमा निर्माण भएको सिद्धबाबा सुरुङमार्गले उत्साहित भएका छन्। सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसै साता ‘ब्रेक थु्र’ गरेका छन्। मुलुकमा दुईवटा मात्र सुरुङमार्ग बनेका छन्, त्यसमध्ये एक हो सिद्धबाबा। अर्को नागढुंगा सुरुङमार्ग हो। 

कडा चट्टान सहितको पहाड र माथीबाट आउने पहिरोले बुटवलबाट गुल्मी, पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँचीलगायत जिल्लामा दैनिक पुग्ने नागरिकहरूलाई सिद्धबाबा क्षेत्रमा त्रास हुने गरेको थियो। सरकारको आफ्नै लगानीमा निर्माण गरिएको सुरुङमार्गमा कुल ८७ अर्ब ३४ करोड लगानी हुने छ। १ हजार १ सय २६ मिटरको यस सुरुङबाट दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने छन्। अबको, एक वर्षभित्र सुरुङमार्ग निर्माणको सबै काम पूरा भइसक्ने आयोजना कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए। 

रुपन्देही २ का संघीय सांसद् एवं अर्थमन्त्री विष्णु पौडेलको सिद्धबाबामा सुरुङ मार्ग बनाउने सपना थियो। उनकै निरन्तरको जोडबलकै कारण सुरुङ निर्माण संभव भएको यहाँका नागरिकहरू सुनाउँछन्। लुम्बिनी प्रदेशकै ठूलो र गौरव गर्ने आयोजनाका रूपमा यसलाई लिइएको छ। कठिन बाटोकै कारण हालसम्म सयौं नागरिकहरूले यहाँ अकालमै ज्यान गुमाएका छन्। सुरुङमार्गको हालसम्मको भौतिक प्रगती ४० र वित्तीय प्रगति ३९ प्रतिशत पूरा भएको छ। 

अब ६ लेनमै सरर बुटवल–गोरुसिंगे

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको सडक अब ६ लेनको बन्ने छ। यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट योजनाको शिलान्यास गरे। करिब ६२ वर्षपछि यो सडक विस्तार गर्न थालिएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको मध्यखण्डमा बुटवल पर्छ। 

पश्चिमका नागरिकहरूका लागि यो सडक लाइफलाइन हो। तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक निर्माणको जिम्मा लिएका छन्। बुटवल गोरुसिंगे योजना कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कुशलता न्यौपानेका अनुसार कुल १३ अर्ब ५५ करोडमा ठेक्का सम्झौता भएको छ। 

सडक अहिले दुई लेनको छ। नयाँ बन्ने सडक जंगल क्षेत्रमा चार लेन र सहरी क्षेत्रमा ६ लेनको बन्ने छ। २० किलोमिटर जंगल र ३० किलोमिटर क्षेत्र सहरी क्षेत्रमा पर्ने न्यौपानेले जानकारी दिइन्। कुल ५० किलोमिटरको सडक क्षेत्रभित्र ३० वटा पक्कीपुल बन्ने छन्। जंगल क्षेत्र धेरै भएकाले वन्यजन्तु आवतजातका लागि १९ वटा ठाउँमा क्रसिङ निर्माण गरिने न्यौपानेले बताइन्। विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा यो योजना निर्माण हुन लागेको हो। बुटवलबाट लुम्बिनीका पश्चिम क्षेत्रका जिल्लाहरू कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा, अर्घाखाँचीसहित कर्णाली र सुदूरपश्चिम क्षेत्रका यात्रुहरू यस सडकबाट प्रत्यक्ष लाभांवित हुनेछन्। 

कृष्णप्रसाद शर्मा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश 
राष्ट्रिय गौरव र ठूला आयोजनाहरू निर्माणमा सरकारले धेरै समय लगाउनु हुँदैन। एउटा योजना बनाउन दशौँ वर्ष किन लगाउने ?   बरु थोरै योजना बनाउँ, तर समयमै सकौं। उद्योगी व्यवसायीहरूलाई झन्झट हुने खालका कतिपय नीतिगत निर्णयहरूलाई सहज बनाउनुपर्छ। निजी क्षेत्रसँग जोडिएका परियोजनाहरूलाई अझ छिटो सञ्चालन गर्ने गरी काम थाल्नुपर्छ। निजी क्षेत्रलाई शिथिल बनाएर समग्र अर्थतन्त्र चलायमान हुन सक्दैन। 

लुम्बिनीकै ठूलो अस्पताल

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नागरिकहरूको उपचार गर्ने प्रमुख थलो बुटवलमा यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त अस्पताल निर्माणाधीन छ। लुम्बिनी प्रादेशिक अस्पताललाई १२ तलाको बनाइँदै छ। कुल ६ अर्ब १८ करोड ७५ लाख लागतमा ५ सय २० वटा शय्याको हुनेछ। यस अस्पताललाई लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरबको आयोजनाको रुपमा अघि सारेको छ। चालु आर्थिक वर्षमै प्रदेश सरकारले १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

प्रदेश पूर्वाधार विकास प्राधिकरणको निगरानीमा अस्पताल निर्माणाधीन अवस्थामा छ। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलको पालामा प्रदेशको गौरबको आयोजनाका रूपमा यसलाई अघि सारिएको थियो। प्रदेश सरकार मातहत भए पनि शय्याको संख्याका आधारमा यसलाई संघीय सरकार मातहत राख्नुपर्ने नागरिकहरूले सुझाव दिएका छन्। प्रदेश सरकारको स्रोतले यसलाई थेग्न सक्ने अवस्था देखिँदैन।

रुपन्देही क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देहीका संघीय सांसद् नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल दुईपटक उपप्रधान एवं अर्थमन्त्री भए। उनकै कार्यकालमा रुपन्देहीमा कतिपय ठूला र गौरवका आयोजनाहरू अघि बढेका हुन्। उनी अहिले पनि बहालवाला अर्थमन्त्री हुन्। 

गौरव गर्ने थुप्रै योजना बनाउँछौं

​​​​​​​उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रमा राष्ट्रले गौरब गर्ने खालका थुप्रै योजनाहरू निर्माण गर्ने प्रतिबद्धता सुनाएका छन्। सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थु्र’ लाई सम्बोधन गर्दै उनले सिंगो लुम्बिनीका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने खालका ठूला आयोजनाहरू सञ्चालनको खाका तयार पारिएको सुनाएका छन्। 

बुटवल नारायणगढ सडक निर्माणमा आएका नागरिकहरूका आलोचनालाई स्वीकार्दै उनले त्यहाँको जस्तो अवस्था बुटवल गोरुसिंगे सडक खण्डमा नहुने समेत दाबी गरेका छन्। ‘५० किलोमिटरको बुटवल गोरुसिंगे सडक समयमै पूरा हुन्छ। नागरिक तहबाट पनि सहयोग गर्नुहोला’, उनले भने, ‘लुम्बिनीको मुहार फर्ने गरी अरू थुप्रै आयोजनाहरू बनाउँछौं। नागरिक तहबाट पनि सकारात्मक सल्लाह र सुझावको अपेक्षा गरेका र्छौं।’ 

सिद्धबाबा सुरुङमार्गदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कतिपयले टिकाटिप्पणी गरेको स्मरण गर्दै उनले अहिले दुवै आयोजनाहरू सफल रूपमा सञ्चालन निर्माण र सञ्चालन भएको बताए। 

‘देशले विकासका निम्ति कदम चालेको छ भने सवैले सहयोग गर्नुपर्छ’,पौडेलले भने, ‘हामी रुपन्देहीसहित सिंगो लुम्बिनी प्रदेशलाई विकासमा नमुना प्रदेश बनाउने सपना बोकेका छौं।’ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलदेखि पोखरासम्मको सडक विस्तार, तिनाउ नदीमा सिग्नेचर पुल, मेडिकल कलेज लगायतका आयोजनाहरू समेत छिट्टै निर्माण गर्ने योजनामा रहेको समेत उनले सुनाएका छन्। 

गौरव योजना बनाउन ढिलो गर्नुभएन

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राष्ट्रिय गौरब र ठूला आयोजनाहरू निर्माणमा सरकारले समय लगाउन नहुने सुझाव दिएका छन्। ‘एउटा योजना बनाउन दशौं वर्ष किन लगाउनु ? ’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘बरु थोरै योजना बनाउँ, तर समयमै सकौं।’ 

उनले उद्योगी व्यवसायीहरूलाई झन्झट हुने खालका कतिपय नीतिगत निर्णयहरूलाई सहज बनाएर लगानीमैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिए। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा निर्माणधिन अवस्थामा रहेका ठूला र गौरवका योजनाहरू समयमै पूरा भएमा यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई धेरै राहत मिल्ने उनले सुनाए। 

निजी क्षेत्रसँग जोडिएका परियोजनाहरूलाई अझ छिटो सञ्चालन गर्ने गरी काम थाल्न उनले सुझाव दिएका छन्। निजी क्षेत्रलाई सिथिल बनाएर समग्र अर्थतन्त्र चलायमान हुन नसक्नेसमेत उनको धारणा छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.