अमेरिकाका आप्रवासी, सबै आत्तिनु पर्दैन

अमेरिकाका आप्रवासी, सबै आत्तिनु पर्दैन

अमेरिका : अमेरिकामा यतिबेला कागजपत्रविहीन आप्रवासीहरूमा सन्त्रास छ। विश्वभरका १ सय ९६ मुलुकका मानिसहरूले खोजिरहेको अमेरिकी सपना के हुने हो ?  यसै भन्न सकिने अवस्था छैन। विशेषगरी कागजपत्रको प्रक्रिया पूरा गरी नसकेका आप्रवासीहरूमा त्रास देखिन्छ। सिकागो, न्युयोर्क, टेक्ससलगायतका केही राज्यमा कागजपत्र नभएका आप्रवासीहरू धरपकडमा परेसँगै यस्तो सन्त्रास थपिएको हो। आप्रवासनप्रति कठोर नीति अपनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता र कार्यकारी आदेशहरूले अमेरिकाभित्र रहेका लाखौं आप्रवासीहरूको जीवनमा अनिश्चितता थपिएको हो। यद्यपि राष्ट्रपति ट्रम्पले अनधिकृत रूपमा बसेकाहरूबाहेक अन्यको हकमा कुनै कदम नचाल्ने बताइरहेका छन्। 

राष्ट्रपति ट्रम्पले ४७औं राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै आप्रवासी नीतिसम्बन्धी कार्यकारी आदेशहरू हस्ताक्षर गरेलगत्तै आईसीई, इमिग्रेसन एन्ड कस्टुम इन्र्फोसमेन्टले निगरानी तीव्र पारिरहेको छ। सीएनए, बीबीसीलगायतका ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आप्रवासनसम्बन्धी प्रकाशित गरेका समाचारहरूलाई आधार मान्ने हो भने, ठूलो संख्यामा कागजपत्रविहीन आप्रवासीहरू माथि निगरानी भइरहेको छ। 

के कागजपत्रको प्रक्रिया पूरा नभएका सबै आत्तिनुपर्ने हो ?    

यतिबेला फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा दुई, चारवटा लाइक, कमेन्टका खातिर आधा समाचार र आधा जानकारी दिनेहरूले अमेरिकालगायत विश्वभर अमेरिकी आप्रवासन आतंक नै मच्चाएका छन्। युट्युबमा केही भ्युवर्स पाउनकै खातिर अमेरिकामा फलानालाई समात्यो, ढिमकानोलाई समात्यो भन्ने समाचारहरू देख्न पाइन्छ। न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईं भन्छन्, ‘त्यसरी सबै जना आत्तिनुपर्ने भन्ने होइन र त्यस्तो सबै डराउनुपर्ने भन्ने पनि होइन्। जो जसरी अमेरिकामा आएको भए पनि कागजपत्रको प्रक्रियामा रहेकाहरू भने आत्तिनुपर्ने छैन।’ 

सेडाईं थप्छन्, अमेरिकाको ग्रिनकार्डका लागि प्रक्रियाको थालनी नै नगरेकाहरू तथा कानुनविपरीत बसेकाहरू भने पक्कै सचेत हुनुपर्दछ। कुनै पनि मानिस, जुनसुकै माध्यमबाट अमेरिकामा पुगेको छ र त्यो व्यक्तिले अमेरिकाको स्थायी बसोबासको अनुमतिपत्रका लागि प्रक्रियाको थालनी नै गरेको छैन, भने त्यस्ता व्यक्ति पक्कै सर्तक हुनु पर्दछ।

कानुन व्यवसायीहरूको भनाइअनुसार, अमेरिकामा ग्रिन कार्डको प्रक्रियामा नगएका, ग्रिन कार्डका लागि अदालत तथा सम्बन्धित निकायबाट अयोग्य ठहरिएरसमेत लामो समय अमेरिकामा बसोबास गरिरहेका, भिजिट भिसामा अमेरिका पुगी लामो समयसम्म अमेरिकामै बसिरहेका तथा अनधिकृत रूपमा काम गरिरहेका, आपराधिक क्रियाकलापमा संलग्न रहेका तथा अदालतले दोषी ठह¥याएकाहरू भने पक्कै समातिन सक्छन्। कानुन व्यवसायीहरू भन्छन्, यता कागजपत्रको प्रक्रियाका लागि अदालतमा केस पेन्डिङमा रहेका, यूएससीआईएसमा केस पेन्डिङमा रहेका तथा कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएकाहरू आत्तिनुपर्ने छैन।’ 

कानुन व्यवसायीहरूले यतिबेला कागजपत्रको प्रक्रियामा रहेका तथा कागजपत्र भएकाहरूलाई समेत गोजीमा उपलब्ध प्रमाण बोकेर हिँड्न सुझाउँछन्। यस्तै अदालतबाट अयोग्य ठहरिएको भए पनि उच्च अदालतमा पुनर्विचारका लागि पुनः निवेदन दिएकाहरू समेत अतालिनुपर्ने छैन। यदि उच्च अदालतमा आफ्नो मुद्दा पुनर्विचारका लागि निवेदन नदिएकाहरू तथा डिपोर्टेसनको अर्डर पाएकाहरू भने सचेत हुनुपर्दछ। 

यस्तै कुनै राज्यबाट कागजपत्रका लागि निवेदन दिएकाहरू अन्य राज्यमा बसेर काम गरिहेको भए उनीहरू अतालिनुपर्ने छैन, तर सचेत भने हुनु पर्दछ। अमेरिकी कानुनअनुसार, केसको छिनोफानो नहुँदासम्म सम्बन्धित व्यक्ति सम्बन्धित राज्यमै बसेर काम गर्दा राम्रो हुन्छ। 

असाइलम मुद्दाको अन्तिम फैसला नहुँदासम्म कथम्कदाचित अन्य राज्यहरूमा बसेर थोरै समय काम गरेको भए त्यस्तो अवस्थामा न्यायाधीशलाई थोरै समय अर्थात् टेम्प्रोरी स्टे गरेको भनेर विश्वास दिलाउनुपर्ने हुन्छ। अन्यथा त्यस्तो व्यक्तिको अन्तिम फैसला सम्बन्धित राज्यबाटै हुने गर्दछ।  

अध्यागमनसम्बन्धी जानकारीमूलक पत्रकारिता गरिहेका न्युयोर्कका चर्चित पत्रकार किशोर पन्थी भन्छन्, ग्रिन कार्डसम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेकाहरू अतालिनुपर्ने, डराउनुपर्ने छैन्। पत्रकार पन्थी थप्छन्, यदि अदालत तथा सम्बन्धित निकायले अमेरिका छोड्नु भनी आदेश दिएको भए पनि अटेर गरेर बसिरहेकाहरू, अमेरिका आएर कुनै पनि प्रक्रियाको थालनी नगरेकाहरू, अदालतमा केस पेन्डिङमा हुँदा अपराधमा संलग्न भएकाहरू भने सर्तक हुनुपर्दछ।’ 

उनका अनुसार ओभर स्टे अर्थात् भिसाको निर्धारित समयभन्दा पनि बढी समय अमेरिकामा बसोबास गरिरहेकाहरू निकै सचेत हुनु पर्दछ। विभिन्न भिसामा आएर ओभर स्टे हुनेहरूसमेत उल्लेख्य संख्यामा रहेको विभिन्न तथ्यांकहरूले देखाउँदछ। यस्तै उनीहरूले यहाँ रहँदा कानुनविपरीत काममा गएको भए उनीहरू पनि समातिन सक्छन्।  

आप्रवासीहरूका लागि चुनौतीपूर्ण समय

अहिलेको परिस्थितिमा अमेरिकामा कागजी प्रक्रियामा रहेका आप्रवासीहरूले कानुनी परामर्श लिने, आफ्नो स्थिति सुधार गर्न पहल गर्ने र आप्रवासन मुद्दाहरूमा सक्रिय रूपमा संलग्न हुने प्रयास गर्नु पर्दछ।

राष्ट्रपति ट्रम्पको कार्यकालको सुरुवातमै यति भन्न्, सकिन्छ कि अमेरिकी आप्रवासी नीतिका कारण आप्रवासी समुदायमा गहिरो प्रभाव पारेको छ। आप्रवासन सुधार र मानवअधिकारका पक्षमा वकालत गर्ने निकायले थप आवाजहरू सशक्त पारेका छन्। 

विशेषगरी ट्रम्प प्रशासनले अनधिकृत रूपमा अमेरिकामा बसिरहेका तथा आपराधिक क्रियामा संलग्न रहेकाहरूलाई नियन्त्रण गर्ने कदम कडाइका साथ चालिरहेको छ। समग्रमा अमेरिकामा कुनै पनि कागजी प्रक्रियाको थालनी नै नगरेका तथा अमेरिकाको कुनै पनि निकायमा कानुनी रूपमा दर्ज नभएकाहरू भने पक्कै अप्ठ्यारोमा पर्न सक्छन्। यस्तै संसारभरको नियमअनुसार यदि कुनै व्यक्ति अन्य देशमा पुगेर आपराधिक क्रियाकलापमा संलग्न छ भने त्यस्तो व्यक्ति अमेरिकामा मात्रै होइन संसारका कुनै पनि देशमा कुनै पनि बेला समातिन र कारबाहीमा पर्न सक्छ। 

विद्यार्थीहरू आत्तिनुपर्ने छैन

अमेरिकामा विद्यार्थी भिसामा आएकाहरू कुनै पनि कारणले आत्तिनुपर्ने छैन। उनीहरूलाई कानुनअनुसार नै सम्बन्धित विश्वविद्यालयमा निर्धारित समय काम गर्न अनुमति दिएको हुन्छ। यस्तै यदि अमेरिकामा पुगेका विद्यार्थीले नेपालमा आफ्ना अभिभावकको आम्दानी कम हुँदै गएको यथेष्ट प्रमाण पेस गर्न सकेमा एफवान वर्क परमिटसमेत प्राप्त गर्न सक्दछन्। यस्तै उनीहरूले आफन्तसँग बसोबास गरी केही सहयोग पनि लिन सक्छन्।  

टीपीएस स्टाटस के हुन्छ ?     

अमेरिकामा करिब आठ, नौ हजार हाराहारीमा टेम्प्रोरी प्रोटेक्ट स्टाट्समा नेपालीहरू रहेको बताइन्छ। जसको टीपीएस स्टाट्स छ त्यो व्यक्ति यो वर्षको जुन महिनाको २४ तारिखसम्म कुनै पनि कारण आत्तिनुपर्ने छैन। नेपालको टीपीएस थपिने या नथपिनेबारे ट्रम्प प्रशासनले अहिल्यै केही घोषणा पनि गरेको अवस्था छैन। 

यद्यपि राष्ट्रपति ट्रम्पले टीपीएस खारेज गर्ने चुनावी प्रतिबद्धता जनाएका थिए। नेपालजस्तै केही देशहरूको टीपीएस नवीकरण भएको भए पनि नेपालका बारेमा अहिल्यै केही भन्न सकिने अवस्था भने छैन। यसअघि पनि नेपालको टीपीएस अदालतबाट नवीकरण भएकाले त्यो सम्भावनालाई पनि नर्कान सकिँदैन। 

आईसीईले सोधपुछ गरे के गर्ने ?    

ट्रम्प प्रशासनले इमिग्रेसन एन्ड कस्टुम इर्फोसमेन्ट आईसीईलाई अध्यागमनसम्बन्धी नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। राष्ट्रपति ट्रम्पले आईसीईलाई अनधिकृत आप्रवासीहरूलाई नियन्त्रणमा लिन देश निकाला गर्ने कार्य तीव्र पार्न आदेश दिएकाले आपराधिक क्रियाकलापमा संलग्न मात्रै नभई कानुनी प्रक्रियामै नभएकाहरूलाई धरपकड गर्न सक्दछ। 

यसर्थ यतिबेला अमेरिकामा रहेका सबै आप्रवासीहरूले आफूसँग उपलब्ध यथेष्ट प्रमाण बोकेर हिँड्नुपर्ने हुन्छ। अमेरिकाको कानुनले आप्रवासीलाई आईसीईले सोधपुछ गर्दाका बखत नबोल्न सक्ने अधिकारसमेत दिएकाले अमेरिकामा रहेका आप्रवासीहरूले कानुनविद्को आवश्यकता रहेको र आफू जवाफ दिन असमर्थ रहेको प्रतिक्रियासमेत दिन सक्दछन्। 

आईसीईले सोधपुछ गर्दा आप्रवासीहरूले आफ्नो परिचय खुल्ने परिचयपत्र, अमेरिकामा स्थायी बसोबास गरिरहेको ग्रिन कार्ड या काम गर्न अनुमति पाएको पत्र, वर्क परमिट साथमा भए सो प्रमाण देखाउन सक्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.