हिमालयन पुरस्कारबाट बेलायतमा सात जना सम्मानित
लन्डन : हिमालयन पुरस्कारबाट सात जना सम्मानित भएका छन्। सेन्टर फर नेपालीज कल्चर र नेपाल सेन्टरद्वारा बेलायतको हाउस अफ लर्ड्स, वेस्टमिन्स्टरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन, नवप्रवर्तन (इनोभेसन) र सामाजिक सेवाका क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने सात जनालाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा किशोर कायस्थ (नेपाल), रुबिना शर्मा (बेल्जियम), देवी गर्बुजा (पोर्चुगल), डा. विनिता कपूर (भारत), राजेश रेग्मी (बेलायत), स्नेहा श्रेष्ठ (बेलायत) र सुमन्त बत्रा (भारत) रहेका छन्। आयोजना संयुक्तरूपमा प्रदान गर्ने उक्त सम्मानको उद्देश्य विश्वभर नेपाली संस्कृति प्रवर्द्धनमा समर्पित व्यक्तिहरूलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।
सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन तथा नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा पुर्याएको निरन्तर योगदानको आधारमा उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
समारोहमा हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस वर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। पुरस्कार वितरण गर्दै उनले हालैको नेपाल भ्रमणको अनुभव साटेकी थिइन्। उनले नेपालको समृद्ध सांस्कृतिक विविधता र त्यसलाई कसरी सामाजिक-आर्थिक विकासमा रुपान्तरण गर्न सकिने बताएकी थिइन्।
भारतका कानुन विज्ञसमेत रहेका सुमन्त बत्राले भारतीय चलचित्र इतिहासको संरक्षण र सांस्कृतिक उत्सवमार्फत साहित्य प्रवर्द्धनमा गरेका आफ्ना प्रयासबारे बताएका थिए। त्यस्तै बेलायतस्थित नेपाली समुदायकी एकमात्र अभ्यासरत महिला वकिल स्नेहा श्रेष्ठले नेपालको मनमोहक प्राकृतिक सौन्दर्य र विविध सांस्कृतिक सम्पदाप्रति आफ्नो प्रेम प्रकट गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !