आप्रवासी नेपाली गीतकार संघ(INLA) अमेरिकाको प्रथम वार्षिक महोत्सव सम्पन्न

अमेरिका : नेपाली भाषा, साहित्य, संस्कृति, र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवमा नेपालका वरिष्ठ चलचित्रकर्मी एवं विशिष्ट गीतकार नीर शाह प्रमुख अतिथि रहेका थिए। संस्थाका संरक्षक एवं लोकप्रिय गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आएका वरिष्ठ गीतकार भुषण खरेल, समाजसेवी डा. दामोदर पौडेल, मुकेश सिंह, वरिष्ठ साहित्यकार गंगाराम लामिटारे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण रह्यो।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपाली भाषी साहित्यकार, गीतकार, र संगीतकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालबाट विशेष निमन्त्रणामा आएका नीर शाह र भुषण खरेलको उपस्थितिले समारोहलाई अझ गौरवमय बनाएको थियो।
महोत्सवको शुभारम्भ माता सरस्वतीको पूजा-अर्चना द्वारा गरिएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति, साहित्यिक रचनाहरूको वाचन, नयाँ कृतिहरूको लोकार्पण, तथा INLA को प्रथम प्रकाशन ‘नेपाली मूल: प्रीतिको फूल’ (संयुक्त गीत संग्रह) को विमोचन कार्यक्रमका मुख्य आकर्षण थिए।
विगत चार दशकदेखि गीत लेखनमा सक्रिय गीतकार ज्ञानेन्द्र गदालको नाममा स्थापित ‘INLA-ज्ञानेन्द्र गदाल गीत सम्मान’ पहिलोपटक विशिष्ट गीतकार नीर शाहलाई समर्पण गरिएको छ।
एक हजार एक अमेरिकी डलर नगद राशिसहितको सम्मान ग्रहण गर्दै नीर शाहले भने, 'धेरैले कवि वा गीतकारका रचनाहरू मात्र पढ्छन्, तर म चाहिँ सर्जकहरूलाई पढ्छु। भूपी शेरचन, हरिभक्त कटुवाल, माधव घिमिरे, रत्न शमशेर थापा, दिनेश अधिकारी, ज्ञानेन्द्र गदालहरूलाई पढ्दै आएको छु। मलाई गौरवको अनुभूति भएको छ कि मैले नजिकबाट पढेको सर्जकको नाममा स्थापित सम्मानबाट आज म स्वयं सम्मानित भएँ।'
नीर शाहले नेपाली भाषा, साहित्य, र संस्कृतिको सेवामा समर्पित INLA को उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरे।
कार्यक्रममा लोकप्रिय गीतकार भूषण खरेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। खरेलले INLA लाई संस्थाको लोगो कुँदिएको विशेष उपहार प्रदान गर्दै संस्थाको उज्ज्वल भविष्यको शुभकामना दिए।
संस्थाका संरक्षक ज्ञानेन्द्र गदालले आफ्नै नाममा सम्मान स्थापित गरेकोमा INLA प्रति आभार प्रकट गर्दै, पहिलो सम्मान प्राप्त गरेका नीर शाहको सुस्वास्थ्य र प्रगतिको कामना गरे।
कार्यक्रमका सभापति एवं INLA अध्यक्ष हरि उप्रेतीले संस्थाको लक्ष्य नेपाली गीत-संगीतको उन्नति, सर्जकहरूको प्रवर्द्धन, र भाषिक-सांस्कृतिक एकता कायम गर्ने अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताए। उनले सहभागी अतिथिहरू, सर्जकहरू, र सहयोगीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गरे।
कार्यक्रमको आकर्षक सजावट गरिएको थियो भने नेपालकी लोकप्रिय अभिनेत्री सरिता लामिछाने र संचारकर्मी विज्ञान भट्टराई ले प्रभावशाली रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।
INLA को पहिलो वार्षिक महोत्सव, सांस्कृतिक संरक्षण र सर्जकहरूको सम्मानको उत्कृष्ट उदाहरण बनेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
