८५४ किशोरी अझै विद्यालय बाहिर

८५४ किशोरी अझै विद्यालय बाहिर
सुन्नुहोस्

दैलेख : दैलेखमा १० वर्षदेखि १४ वर्ष उमेरसमूहका आठ सय बढी किशोरी शिक्षा प्राप्त गर्ने अधिकारबाटै बञ्चित रहेको पाइएको छ। उनीहरू विद्यालयको पहुँचभन्दा बाहिर छन्। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखले संकलन गरेको तथ्यांकले यस्तो देखाएका हो।

तथ्यांकअनुसार दैलेखमा १० वर्षदेखि १४ वर्ष उमेरसमूहका ८ सय ५४ जना किशोरी विद्यालय बाहिर छन्। खोप अभियान सञ्चालन गर्न पालिकास्तरबाट विद्यालय बाहिर रहेका किशोरीको तथ्यांक संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए। विद्यालय बाहिर रहेकालाई समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने उद्देश्यले यहाँका सबै स्थानीय तहबाट विद्यालय बाहिर रहेका किशोरीको तथ्यांक संकलन गरिएको थियो। संकलित तथ्यांकमा आठबिस नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या २ सय १२ जना छ। भगवतीमाई गाउँपालिका ३८, भैरवी गाउँपालिकामा १ सय १५, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ सय २३ जना किशोरी  विद्यालय बाहिर छन्। यस्तै दुल्लु नगरपालिकामा १ सय ३, डुंगेश्वर गाउँपालिकामा २५, गुराँस गाउँपालिकामा ४० जना किशोरी विद्यालयको पहुँचमा छैनन्। महाबु गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या शून्य रहेको तथ्यांकले देखाएको छ। नारायण नगरपालिकामा ६४, नौमुले गाउँपालिकामा ६ र ठाँटीकाँध गाउँपालिकामा १ सय २८ जना किशोरी विद्यालय बाहिर रहेको खोप अधिकृत रेग्मीले बताए।

शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका निमित्त इकाइ प्रमुख रतनबहादुर विष्ट राज्यको नीतिअनुसार कोही पनि बालबालिका, किशोरकिशोरीहरू विद्यालय बाहिर नहुनु पर्ने बताउँछन्। शिक्षामा सबैको पहुँच वृद्धिका लागि पालिकास्तरमा रहेका विद्यालयहरूले शैक्षिक सत्र सुरु हुँदा घरदैलो अभियान सञ्चालन गर्दै आएका पनि छन्। तर, आर्थिक अवस्था कमजोर र अभिभावकविहीन केही किशोरीहरू विद्यालय बाहिर रहन सक्ने विष्टको भनाइ छ।

विद्यालय बाहिर रहेकालाई पनि खोप दिइँदै

स्वास्थ्य सेवा कार्यालयका अनुसार दैलेखमा १६ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। खोप अभियानमा १० वर्षदेखि १४ वर्षसम्मका १६ हजार ६ सय ९७ जना बालिकाले खोप पाउने भएका हुन्। अभियानअन्तर्गत विद्यालय बाहिर रहेका ८ सय ५४ जना किशोरीलाई समेत खोप दिइने खोप अधिकृत रेग्मीले बताए। खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका ८ सय ५४ जना बालिकालाई खोप लगाइने खोप अधिकृत रेग्मीले बताए। उनका अनुसार यही माघ २५ गतेदेखि ३० गतेसम्म दैलेखका ११ वटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियानका लागि २ सय ४० केन्द्र कायम गरिएको छ। 

स्वास्थ्य सेवा कार्यालयका अनुसार आठबिस नगरपालिकाका २ हजार ५२, भगवतीमाई गाउँपालिकाका १ हजार ९, भैरवी गाउँपालिकाका १ हजार २ सय १९, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ हजार ८ सय ६९, दुल्लु नगरपालिकाका ३ हजार १ सय ५५, डुंगेश्वर गाउँपालिकाका ८ सय २५, गुराँस गाउँपालिकाका १ हजार ३ सय २०, महाबु गाउँपालिकाका १ हजार १०, नारायण नगरपालिकाका १ हजार ४ सय ९७, नौमुले गाउँपालिकाका १ हजार १ सय ६७ र ठाँटीकाँधका १ हजार २ सय ४ जना गरी १६ हजार २ सय ९७ किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइनेछ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गरी खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग रहनुपर्ने खोप अधिकृत रेग्मीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.