उदयपुरमा २० हजार बढी किशोरीले एचपीभी खोप लगाउँदै
उदयपुर : महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियानअन्तर्गत उदयपुरमा २० हजार बढीलाई खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार जिल्ला खोप समन्वय समिति र पत्रकारसँग आयोजना गरेको अभिमुखीकरणमा जिल्लाका आठ स्थानीय तहका बीस हजार १२२ जना किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिइएको हो।
माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन हुने उनले बताए। जिल्लाभरका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने खोप अधिकृत तथा फोकलपर्सन चिरञ्जिबी निरौलाले जानकारी दिए।
माघ २२ गते सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका १० बोक्से बालमन्दिर माध्यमिक विद्यालयबाट अभियान सुरु गरिने जनाइएको छ। एचपीभी खोपका लागि उदयपुरमा ४०३ स्वास्थ्यकर्मी र ७९९ जना स्वयंसेवक परिचालन गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !