पुरानो बाटोमा बस पाउनै मुस्किल

भक्तपुर : सामाखुसी निवासी आकाश थापा प्रायः भक्तपुरको सानोठिमीमा धाइरहेका हुन्छन्। अधिकांश समय उनी आवतजावत गर्न सार्वजनिक यातायात प्रयोग गर्छन्। सानोठिमी आउँदा आकाश सानोठिमी नयाँ बसपार्क दूधपाटी रुटमा चल्ने बस चढ्छन्। बिहीबार पनि आकाश सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय आएका थिए। उनी पटकपटक रक–फरक कारणले आए। तर, आउँदा उनले यातायातमा भोग्नु परेको समस्या भने फेरिएको छैन। एउटै छ। सानोठिमी बस बिसौनीमा बस कुरिरहेका उनले घण्टौं बस कुर्नु परेको समस्या यसरी सुनाए। ‘सानोठिमीमा त म प्रायः आइरहेको हुन्छु। आज त परीक्षा नियन्त्रण कार्यालय आएको थिएँ। यता नयाँ बसर्पाकको गाडी सधैँ ढिलो नै आउँछ। कहिलेकाहीँ त घण्टौं कुर्नु परेको छ। यस रुटमा बस कम चल्ने भएकाले हामीजस्ता सेवाग्राहीलाई धेरै समस्या परेको छ’, उनले भने।
अर्का यात्रु स्वणर्िाम अवाल पनि चाबहिलतर्फ जाने बस कम भएको गुनासो गर्छन्। सिनामंगलस्थित वृजवाटर कलेजबाट केही महिनाअघि प्लस टु उत्तीर्ण भएका २१ वर्षीय उनी बस नपाउँदा कैयांै पटक त आधा बाटो हिँडेरै घर गएका छन्। ‘बिहान त बस पाइन्छ। दिउँसो त बस नै पाउन गाह्रो छ। सधैं धेरै बेर कुर्नुपर्छ। धेरैजसो त आधाबाटो हिँडेर घरतिर जान्छु। कहिले त घरसम्मै हिँडेर पनि पुगेको छु’, उनले भने।
भक्तपुरको पुरानो ठिमी रुटमा नयाँ बसपार्क जाने यात्रुलाई यो सधैंको समस्या बनेको छ। घण्टौं कुर्नुपर्ने सास्तीले उनीहरू हैरान भइसके। झन् ४ बजेपछि त बस नै पाउन मुस्किल पर्ने यात्रुको गुनासो छ।
हाल सुगम मध्यपुर यतायात सेवा प्रालिले पुरानो ठिमी रुट व्यवस्थापन गरिरहेको छ। प्रालिका अनुसार यसमा २० वटा मात्र बस दर्ता भएका छन्। दर्ता भएकामध्ये १३ वटासम्म बसले मात्र सेवा दिइरहेका छन्। दूधपाटीस्थित बसपार्कका टाइमकिपर राम राजवाहकका अनुसार प्रत्येक १५–१५ मिनेटमा भक्तपुरको बसपार्कबाट नयाँ बसपार्क जाने एउटा बस छुट्ने गरेको छ। तैपनि तुलनात्मक रूपमा बसको संख्या निकै कम हो। जबकि दूधपाटी रत्नपार्क रुटमा दर्ता भएका ६० वटामध्ये ४५ वटासम्म र दूधपाटी लगनखेल रुटमा दर्ता भएका १५ वटामध्ये आवश्यकताअनुसार अन्य रुटको पनि बस यही रुटमा गएको संख्यासहित २० वटा र सरस्वतीखेल रत्नपार्क रुटमा १७ वटा बसले सेवा दिइरहेका छन्।
बसको संख्या कम भएको कारण बसपार्क जाने यातायात चुस्तदुरुस्त नभएको सुगम मध्यपुर यातायात सेवा प्रालिले जनाएको छ। प्रालिका अध्यक्ष बाबुकाजी छुँजूले २०७७ सालमा कोरोना महामारीका कारण बस संख्या घटेको र सो समयदेखि खासै यो रुटमा नयाँ बस दर्ता नभएकाले बसको संख्या कम भएको जनाए।
‘गाडी ढिलो हुनुको कारण त गाडी नै कम हुनु हो। नयाँ बसपार्क जाने बस नै कम छन्। एकताका त १ सय ६० वटासम्म गाडी चलेको थियो। कोरोनामा ह्वात्तै घट्यो। त्यतिबेला नयाँ बसपार्कको पनि घट्यो। त्यतिबेलादेखि बसपार्कमा धेरै नयाँ गाडी आएको छैन। अहिले जति पनि छन्, अधिकांश पुरानै छन्। एउटा नयाँ गाडी खरिद गर्न ठूलो पुँजी लाग्छ। त्यस माथि यो समय यातायातमा लगानी सुरक्षित छैन’, उनले भने। यातायात क्षेत्रमा सरकारले लागू गरेको बुढो कर र सरकारद्वारा लागू गरिएको २० वर्षभन्दा बढी पुरानो सार्वजनिक यातायात चलाउन नपाइने नीतिका कारण पनि बस व्यवसायीहरू निरुत्साहित भएको उनको भनाइ थियो। जसको अप्रत्यक्ष असर रुटमा पनि परेको छ। उनका अनुसार रुटमा यही असरले गर्दा पनि नयाँ बस दर्ता आउन नसकेको हो।
चालकहरू भन्छन्, हामीले यात्रु पाउँदैनौं
यात्रुले बस ढिलो भयो, बस पाउनै गाह्रो भयो भन्दै गर्दा नयाँ बसपार्क जाने बस चालकहरूले भने अधिकांश समय आफूहरू आधा टिप खाली सिट फर्कनु परेको बताए। बिहीबार दूधपाटीमा गाडी रहेका एक चालकले न्यून यात्रु हुँदा खाली सिट फर्कनु परेको मर्का सुनाए। उनले भने, ‘नयाँ बसपार्क झिंगा मार्न जाने हो अफिस टाइममा मात्र यात्रु हुन्छन्। फर्कने बेलामा खासै हुँदैनन्। खाली टिप आउनुपर्छ। साहुलाई पनि कमाइ भए नि नभए नि दिनहुँँ पैसा बुझाउनै पर्छ। कहिलेकाहीँ तेलको पैसासमेत उठ्दैन।’
उनका अनुसार नयाँ बसपार्कको दूरी अन्य रुटको भन्दा लामो भएकाले जामलगाायतका कारणले ढिलो भएको हो। दूधपाटीदेखि नयाँ बसपार्क करिब १९ किलोमिटर टाढा छ। अरू रुटको दूरी नयाँ बसपार्कको भन्दा कम छ। नयाँ बसपार्क आउन र जान तीन घण्टाभन्दा बढी समय खर्च हुने तथा सडकमा जामलगायत अन्य कारणले ढिलाइ हुने उनले प्रतिक्रिया दिए।
हामी स्वागत गर्न तयार छौं : अध्यक्ष छुँजू
दूधपाटी नयाँ बसपार्क रुटमा बसको संख्या वृद्धि गर्न र यातायात सेवा चुस्तदुरुस्त बनाउन सुगम मध्यपुर यातायात सेवा प्रालि हरेकसँग सहकार्य र स्वागत गर्न तयार रहेको अध्यक्ष बाबुकाजी छुँजूले बताए। यसअघि ९ नं रुटले परिचित पुरानो ठिमी रुटमा साझा यातायातले सेवा सुरु गर्दा साझालाई समेत स्वागत गरेको बताउँदै उनले भने, ‘यता बसको संख्या निकै कम छ। यो रुटमा नयाँ गाडी, यातायात आयो भने हामी स्वागत गर्न तयार छौं। यसअघि साझा पनि आएको थियो। हामीले स्वागत गरेकै थियाैं।’
उनका अनुसार समिति कसरी गाडीको संख्या वृद्धि गर्ने भन्ने कुरामा केन्द्रित छ। गाडीको संख्या वृद्धि गर्न र दर्ता प्रक्रियामा ल्याउन समितिले निरन्तर विभिन्न संस्था, बस व्यवसायीहरूलाई अपिल तथा छलफल गरिरहेको छ। तर, समितिमा थप बस दर्ता नभएकै कारण बसको संख्या कम भएको हो। अहिले सेवा दिइरहेका बसहरूमा पनि थुप्रै सहकारीसँग समितिको समन्वयमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई खरिद गरिएको बसहरू रहेका उनले जनाए।
यसअघि समितिले बसले दर्ता फिर्ता गरे १० हजार रुपैयाँ फिर्ता गर्ने नीति ल्याएको थियो। तर उक्त नीति पनि प्रभावकारी हुन सकेन। न्यून संख्यामा मात्र बस दर्ता भएका थिए। हाल उक्त नीति भने स्थगित छ।
प्रतिक्रिया दिनुहोस !
