सोमची अचार, बेलायत ठूलो बजार

काठमाडौं : रोल्पाकी निशा बुढामगरलाई सानैदेखि खाना बनाउन सौख थियो। उनी जहिले पनि खानाका विभिन्न परिकारहरू बनाइरहन्थिन् र आफूले बनाएका खानेकुरा मीठो भयो कि भएन भनेर घरमा सोध्ने गर्थिन्। मानौं उनलाई खाना बनाउनुबाहेक अरू कुनै कुरामा रुचि नै छैन। खाना बनाउनु उनको सबैभन्दा ठूलो सौख थियो, त्यसैले होला विवाहपश्चात् पतिले बारम्बार फेन्सी सप अथवा ब्युटिपार्लर गर्न सल्लाह दिँदा पनि निशाले ध्यान नै दिइनन्।
सानै उमेरमा विवाह गरेकी उनी रोल्पाबाट बागलुङ पुगिन्। बागलुङ पुगे पनि उनको दैनिकी रोल्पाको जस्तै थियो। दिनहुँ नयाँ–नयाँ खानेकुरा बनाउने, अनि के ठीक छ के ठीक छैन भन्दै परिवारमा सोध्ने। यही कुराले निशालाई खाना बनाउन चाहिने सम्पूर्ण कुरामा निखारता ल्याउँदै जान थाल्यो।
सानैमा खाना बनाउन सिकेकी उनलाई आफ्नै केही व्यवसाय गर्ने सोच थियो, तर पतिले भनेको जस्तो ब्युटिपार्लर र फेन्सी सप भने पटक्कै होइन। जाँगर भएकै कुरामा भविष्य बनाउनुपर्छ भन्ने उनमा एक खालको दृढता थियो।
‘सानैमा विवाह गरेको भएर पहिला पहिला त्यस्तो कुनै काम गरिएन। घरको काम गरेर नै दिन जान्थ्यो,’ उनले भनिन्, ‘जब पछि आफूले पनि केही गर्नुपर्छ भन्ने भयो, दिमागमा अरू केही पनि सोचिन्, जे कुरामा जाँगर छ त्यही गर्ने सोचेको थिए त्यसैले त्यही कुरामा मात्रै लागिरहें।’
उनलाई जाँगर भएको काम गरेमा मात्रै सफलता मिल्छ भन्ने थाहा थियो, त्यसैले उनले आफूलाई जाँगर लाग्ने काम गर्ने निर्णय गरिन्। काम गर्न नपाएर तड्पिएकी उनले टेकुको घरेलु महिला प्रविधि तथा गुण नियन्त्रण विभागमा महिलाका लागि विभिन्न तालिम दिइरहेको खबर पाइन् र आफू पनि तालिम लिएर व्यवसाय गर्ने सपना बुन्न लागिन्। तर सोचेर मात्रै के पूरा हुन्थ्यो र सपना, सोचेको सपना पूरा हुन त समय लाग्छ। उनको पनि त्यस्तै भइदियो।
अचार बनाउने तालिम लिनको लागि उनले २०७५ मा त दर्ता फर्म नै पाइनन्। तर उनले कतै केही नसोची अर्को वर्ष फर्म पाइने आशामा कुरिन्। त्यसको एक वर्षपछि अर्थात् २०७६ मा उनले दर्ता फर्म पनि पाइन् र ८० जनाको अन्तर्वार्तामा २६ जनाभित्र नाम निकालेर दसदिने अचार बनाउने सूचीमा समेत परिन्। बल्ल उनको सपनाले उज्यालो बाटो पहिल्याउन थाल्यो। र, उनले २०७६ मा घरेलु महिला अचार बनाउने दसदिने तालिम लिइन्। त्यहीँ उनले क्यान्डी, बिस्कुट, पनिर र अचार बनाउन पनि सिकिन्। तर, उनको त्यो यात्रा सहज भने पक्कै थिएन।
तालिम लिएको ६ महिनापछि उनले आफ्नै अचार उद्योग ‘सोमची’ सुरु गरिन्। उद्योग खोल्नका लागि उनले धेरै संघर्ष गर्नुप¥यो। उद्योग दर्ता गर्न उनलाई निकै समस्या भएको उनी बताउँछिन्।
‘काम गर्न त सहज कहाँ हुन्छ र ? तर पनि अचार बनाउनभन्दा मलाई उद्योग दर्ता गर्नमा भएको थियो। आफ्नो रुचिको विषय भएकोले होला मलाई अचार बनाउन तरकारी बनाएजस्तै लाग्छ।’
अचारको व्यापार सुरु गर्न खोज्दा सुरुमा उनले ११ बट्टामात्रै अचार बनाएकी थिइन्। अचार बिक्री हुन्छ कि हँुदैन भन्दै घर नजिकैको पसलमा दिएकी थिइन्। तर, उनले नसोचेको भयो, उनले बनाएका अचार सबैले मन पराए।
‘पहिला त अचार बिक्छ कि बिक्दैन सोचेर नजिकैको पसलमा ११ बट्टा मात्रै दिएकी थिएँ, तर नसोचेको भयो, त्यही पसलको बाटो भएर हिँड्दा अरू महिला दिदीबहिनीहरूले मैले बनाएको अचार मीठो थियो भन्दै हिँडिरहनु भएको थियो।’ मलाई त्यही कुराले अचार व्यवसाय गर्नुपर्छ भन्ने कुरामा हौसला दियो,’ उनले विगत सुनाइन्।
‘सोमची’ को बेलायतसम्मको यात्रा
‘सोमची’ अचारका पारखीहरू निशा बुढामगरलाई खोज्दै उनकै घरसम्मै आई पुग्छन्। अनि निशाले बनाएका अचार लिएर जान्छन्। काठमाडौं, रोल्पा होस् या दाङ निशाले बनाएका अचारका पारखीहरू कमै मात्र होलान्। जसको माग धान्न निशालाई कहिलेकाहीँ धौ–धौ समेत हुने गर्दछ।
‘कहिलेकाहीँ माग पनि कति आउँछ आउँछ। कता पठाउने, कता ? समस्या हुन्छ। उनले भनिन्, ‘तर आएका मागहरूलाई हामीले जसरी पनि पठाउने गरिरहेका छौं।’ उनी मासु, आँप, अकबरे खुर्सानी, टिम्मुरको छोपलगायत सबैको अचार बनाउँछिन्। त्यसमा पनि मासुको अचार सबैको रोजाइमा पर्छ। उनी बफ, चिकेन र पोर्क मासुका अचार बनाउन निकै सिपालु छिन्, त्यसैले उनले बनाएका अचार नेपालमा मात्रै होइन, विदेशसम्मै जान्छन्। विदेश जानेहरूले समेत उनकै अचार खोजीखोजी लैजान्छन्। बेलायत, अमेरिका, कोरिया, जापानमा तथा अन्य मुलुकहरूमा निर्यात हुँदै आइरहेका छन्। तर विगत केही महिनादेखि भने अमेरिकामा कडाइ गरेको हुनाले अचार पठाउन समस्या भएको उनी बताउँछिन्। ‘मैले बनाएको अचार सबैभन्दा धेरै बेलायत जान्छ, अरू देशमा पनि जान त जान्छ तर बेलायतमा धेरै जान्छ। जापान, कोरिया, अमेरिका र अरू देश जानेहरूले पनि मैले बनाएको अचार मीठो हुन्छ भनेर आफैँ लानुहुन्छ। तर अहिले अमेरिकाको नियममा कडाइ गरेको हुनाले पठाउन सकिरहेको छैन।’ उनले भनिन्।
विगत केही वर्षयता घरेलु साना तथा मझौला उद्योगहरूमा महिलाको अग्रणी भूमिका देखिएको छ। महिलाले निर्वाह गर्नुपर्ने आर्थिक, सामाजिक सांस्कृतिक दायित्व तथा अन्य कैयौं चुनौती सामना गर्दै महिला उद्यमतर्फ अग्रसर भइरहेका छन्। त्यसैले निशा महिला उद्यमतर्फ अग्रसर हुनुपर्ने कुरामा जोड दिन्छिन्। ‘हाम्रो देश नेपालको आर्थिक रोजगारीको करिब ६० प्रतिशतभन्दा बढी हिस्सा साना तथा मझौला व्यवसायले ओगटेको अनुमान गरिएको छ। जसमध्ये करिब २९ प्रतिशत हिस्सा महिलाले ओगटेका तथ्यांक छ। यसरी महिलाले आफ्नो समाज अनि परिवारप्रतिको दायित्व निर्वाह गर्दै उद्यमशीलतातर्फ पनि महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। त्यसैले हरेक महिलाले हरेक क्षेत्रमा उद्यमशीलता अग्रसर हुनुपर्छ,’ उनले भनिन्।
यस्तै निशा महिला उद्यमशीलता केवल आर्थिक यात्रामात्रै नभई जीवनको विकास, आत्मनिर्भरता र आत्मसम्मानतर्फको बाटो भएको कुरामा विश्वास गर्छिन्। ‘महिला उद्यमशीलतातर्फको यात्रा केवल आयआर्जन मात्र नभएर महिलाको आर्थिक तथा सामाजिक जीवनको विकास, आत्मनिर्भरता र आत्मसम्मानतर्फको मूल मन्त्र पनि हो। किनकि म पनि अचार व्यवसायबाट मासिक ६०, ७० हजार आय गरिरहेको हुन्छु, त्यो मैले मेरो छोराछोरीको पढाइमा लगाउला, या अन्य कुनै काममा लगानी गरुँला यसले मेरो कारण अरू पनि आत्मनिर्भर हुन पाउँछन् भने त्यो आर्थिक तथा सामाजिक जीवनको विकास हो।’ उनले भनिन्।
नेपालका महिला उद्यमीहरू विशेष गरेर कृषि, हस्तकला, होमस्टे, ट्राभल्स टाउन, रेशाजन्य उत्पादन, खाना–अचार (परम्परागत खाना), टेक्सटायलजस्ता विभिन्न व्यवसायमा लागेका छन्। जसले अझै पनि यस्ता उद्यम सञ्चालन÷वृद्धि गर्ने प्रशस्त सम्भावना समेत छ। त्यसकारण उनी महिलालाई उद्यमशीलतामा उन्मुख गराउन सकेमात्रै देश सबल हुने बताउँछिन्।
उनी भन्छिन्, ‘महिलालाई उद्यमशीलतातर्फ उन्मुख गराउन सके आर्थिक समृद्धिमा सकारात्मक सहयोग पुग्नुका साथै नेपालको सामाजिक र आर्थिक क्षेत्रमा समेत सुधार हुन्छ।’
प्रतिक्रिया दिनुहोस !
