केन्द्रमा हुँदाहुँदै प्रदेशमा लोकसेवा स्थापना गर्ने विषयमा पुनर्विचार गर्नुपर्छ : अध्यक्ष रेग्मी
काठमाडौं : लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभरि नै सरकारलाई आवश्यक परेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताए।
उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफुखूसी कर्मचारी माग्ने काम नगरेको स्पष्ट पारे। रेग्मीले आयोगका आफ्नै सिद्धान्त रहेकाले मायादयाका आधारमा काम गर्न नसक्ने बताए। केन्द्रमा लोकसेवा आयोग हुँदाहुँदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
उनले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरूपमा कर्मचारी नियुक्ति गर्न नसक्ने बताए। अध्यक्ष रेग्मीले देशभरि एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे।
लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरूले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !