भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ

भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
शुक्रबार बिहान वीरगन्जमा त्रिभुवन राजपथमा धर्ना दिएर सडक जाम गर्दै नारायणी अस्पतालका डाक्टर र नर्स । तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै त्रिभुवन राजपथ अन्तर्गत पर्ने अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै निस्किएका उनीहरूले सडकमै धर्ना दिएर राजपथ केहीबेर अवरुद्ध पनि पारेका छन्। 

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ३ सय ५० शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रकृया सुरु  नहुँदै शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनी (ठेकेदार) बीचको विवाद सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । 

अदालतले उक्त मुद्धाको छिनोफानो नलगाएका कारण भवन अभावले बिरामीको उपचारमा समस्या झेल्नु परिरहेको भन्दै शुक्रबार अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका हुन् । 

बिहान ११.३० बजेतिर अस्पताल परिसरबाट एप्रोन लगाएर निस्किएका उनीहरूले राजपथको बीच सडकमै धर्ना दिँदै  केहीबेर सडक अवरुद्ध पनि पारेका थिए । शुक्रबार आफूहरूले सांकेतिक विरोधका रूपमा केही बेरमात्रै सडक अवरुद्ध पारेको भन्दै भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले भने, ‘सर्वोच्च अदालतमा यो मुद्धाको पेशी यही माघ २८ गते छ । यदि त्यस दिन पनि अदालतले मुद्धाको छिनफानो लगाएन भने त्यसपछि अझ निर्मम निर्णय गरेर हामी फेरि संघर्षमा उत्रिन्छौं ।’

पर्साबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरुले संसद बैठकमै अस्पतालको भवन बारे पटक-पटक आवाज उठाउँदा पनि त्यसको कुनै सुनुवाइ नभएपछि आफूहरू बाध्य भएर सडकमा उत्रिएको उनले बताए ।

पर्सादेखि सर्लाहीसम्म चार जिल्लाका करिब ३० लाख जनताले उपचार लिंदै आएको नारायणी अस्पतालमा बिरामीको चाप थेग्ने अवस्था नरहेको भन्दै उनले भने,‘अस्पतालको सबै भन्दा पुरानो  महेन्द्र आरोग्य भवन मक्किएर जीर्ण भइसकेको छ । त्यहाँ बिरामीलाई राखेर उपचार गर्न खतरा भएको हुँदा त्यो भवनमा बिरामीको उपचार गर्न छाडेको वर्षौं भइसक्यो । टिनले छाएको अस्थायी टहरामा ओपिडी सञ्चालन गरेर त्यसैमा सकस सहेर बिरामीको उपचार गरिरहेका छौं ।’

केन्द्रीय अस्पतालमा पाँच सय शैया हुनुपर्छ । तर नारायणी अस्पतालमा २ सय ५० शैया मात्र स्वीकृत छ । तैपनि करिब ४ सय शैया जसो तसो आफूहरूले चलाइरहेको उनले बताए । जीर्ण भवन र शैया अभावको कारण दैनिक औसतमा भर्ना गर्नै पर्ने अवस्थाका २५/३० जना बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न बाध्य भएको दुखेसो उनले सुनाए । 

नारायणी अस्पतालमा रहेका प्रशासनिक र निवास (क्वार्टर) बाहेक अरू सबै भवन सरकारले नभई वीरगन्जकै दाताहरूले बनाइदिएको डा. सिंहले बताए । सरकारले निर्माण गरिदिन्छु भनेको ३ सय ५० शैयाको आधुनिक ल भवनको निर्माण कार्य पाँच वर्षदेखि अन्योलमा रहनु दुःखद रहेको उनले सुनाए । बिरामीको उपचारमा भइरहेको सास्ती देखेर नै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरू अस्पतालको नयाँ भवन अविलम्ब निर्माण होस् भन्ने पक्षमा रहेको उनको भनाइ थियो ।

नारायणी अस्पतालका प्रवक्ता तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले पनि भवन अभावकै कारण बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरूले पनि सास्ती खेपिरहेको बताए । उनले भने,‘अस्पतालमा सेवाहरू थपिँदै गएका छन् । बिरामीहरूको चाप बढ्दो क्रममा छ । तर पूर्वाधार थपिनुको सट्टा भएका पुराना भवनहरू जीर्ण भएर प्रयोगमा ल्याउनै नसकिने अवस्था छ । कहिलेकाहीँ त बिरामीलाई बरन्डामै राख्नुपर्ने हुन्छ । भर्ना गर्ने शैया खाली नुहुँदा बिरामीलाई नचाहेर पनि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हुन्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.