चोरी शिकारी नियन्त्रणको जिम्मा समुदायकै

चोरी शिकारी नियन्त्रणको जिम्मा समुदायकै

मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी शिकारीमा संलग्न जुम्लाको कनका सुन्दरी गाउँपालिका–१ रिय गाउँका २६ वर्षीय मानबहादुर कठायत र काब्रा गाउँका ३९ वर्षीय गोरे कठायतलाई पक्राउ गरियो। उनीहरूलाई विशेष सूचनाका अधारमा निकुञ्जका कर्मचारी र सेनाको संयुक्त टोलीले माघ १३ गते पक्राउ गरेको थियो।  

चोरी शिकारीमा संलग्न उनीहरूले डाँफे र फक्रास ओसारपोसार तथा बिक्री वितरण गर्दै गरेका बेला विशेष सूचनाका अधारमा पक्राउ गरिएको हो। यसलाई ठूलो उपलब्धि मानिएको भए पनि यो सिजनमा सुरक्षा निकायको आँखा छली संरक्षित वन्यजन्तु तथा पंक्षीहरूको ओसारपोसार गर्ने गिरोहहरू सक्रिय भएका छन्। त्यस्ता गिरोहलाई पक्राउ गर्न अझै मेसो नपाउनाले चोरी शिकारीमा संलग्नहरू झनै सक्रिय भएको पाइएको छ।

जिल्लाका चारै स्थानीय तहमा चोरी शिकारी तथा ओसारपोसार र बिक्री वितरण यो सिजनमा अत्यधिक हुने गरेको छ। स्रोतले बताए अनुसार सबैभन्दा बढी जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा चोरी शिकारीहरूको संलग्नता बढी भएको पाइएको छ। छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिकामा समेत यो सिजनमा चोरी शिकारी त्यतिकै हुने गरेको स्थानीयले बताउने गरेका छन्।

सदरमुकाम गमगढी आउने चारै स्थानीय तहका नाका तथा सिमा क्षेत्रमा प्रहरीचौकी र इलाका वन डिभिजन कार्यालय छन्। यो सिजनमा प्रहरी र इलाका डिभिजन कार्यालयले चेक जाँचममा कडाइ नगरेकै कारण चोरी शिकारीमा संलग्न गिरोहहरूले सक्रिय रूपमा ओसारपोसार तथा बिक्री वितरणमा उनीहरूलाई ठूलो राहत पुगेको छ। चोरी शिकारी नियन्त्रणका लागि विशेष गरी डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, सुरक्षा निकाय रारा राष्ट्रिय निकुञ्जको महत्वपूर्ण भूमिका छ। यसमा चारवटै स्थानीय तह र स्थानीय समुदायको समेत उत्तिकै जिम्मेवारी भएकाले सबैभन्दा बढी स्थानीय समुदायलाई सचेत बनाउनुपर्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाउँपालिकामा चोरी शिकारी हुने गरेको छ। यो गाउँपालिकामा बौद्ध धर्मालाम्बीहरूको बसोबास भएकाले उनीहरू चोरी शिकारी त्यतिका संलग्न छैनन्। छिटफुट केही व्यक्ति यसमा संलग्न भए पनि उनीहरूलाई प्रमाणसहित पक्राउ गर्न अहिलेसम्म सकिएको छैन। गाउँपालिकामा बाहिरका मान्छे आएर चोरी शिकारी गर्ने गरेको आफूले जानकारी पाएको र उनीहरूले गाउँपालिकामा रहेका दुईवटा प्रहरी चौकी र एक इलाका वन डिभिजनका कर्मचारीको आँखा छलेरै सक्रिय रूपमा बिक्री वितरण गर्ने गरेका छन्।

यहाँ पाइने सबैभन्दा बढी झारल, थार, घोरल, कस्तूरी, डाँफे कालिज र च्याखुरालगायतको चोरी शिकारी गर्ने गरेको स्थानीयहरूले जानकारी दिने गरेको भए पनि प्रमाण नभेटिँदा कानुनी प्रक्रियामा पु¥याउन नसकिएको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउछन्। अध्यक्ष लामाका अनुसार आफ्नो पालिका केन्द्र आसपासमै पहिला जंगली जनावरहरू लस्कर लागेर चरेका प्रष्टै देखिन्थे। पालिका केन्द्रभन्दा अलि अग्ला बस्तीमा पुग्दा स्थानीयहरूको अन्नबालीमा क्षति पु¥याएर घरगोठमै बसेका पाइन्थे। अहिले चोरी शिकारीकै कारण जंगली जनावर तथा पक्षीहरू कमै मात्र देखिने गरेको उनले बताए। 

मुगुम कार्मारोङ गाउँपालिका जैविक विविधता, जटीबुटी र संरक्षित जंगली जनावर बढी पाइने कर्णाली प्रदेशकै पहिलो स्थानीय तह हो। तर, चोरी शिकारीकै कारण अहिले यो गाउँपालिकामा पहिलाको जस्तो जनावर र पक्षी देख्न पाइँदैन। 

यहाँका केही भाग से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने भए पनि भौगोलिक विकटताका कारण वा अन्य कारणले से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको उपस्थिति राम्रो देखिएको छैन। उक्त निकुञ्जको उपस्थिति नहुँदा चोरी शिकारीले तिव्रता पाएको हो।

गाउँपालिकाको सभाबाटै निर्णय पास भई संघीय सरकारलाई मुगुम कार्मारोङ गाउँपालिकाको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले ओगटेको भु–भाग छुट्टयाई गाउँपालिकामा छुट्टै राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र र शिकार क्षेत्र स्थापना गर्न माग गरिएको छ। यदि यो माग संघीय सरकारले पुरा गरे यहाँको जैविक विविधता देखि जंगली जनावरसमेतको संरक्षण हुनुका साथै चोरी शिकारी समेत नियन्त्रण हुने गाउँपालिका अध्यक्ष लामाले बताए। 

चोरी शिकारमा ब्रेक वायरको प्रयोग

प्रायः चोरी शिकारमा भरुवा बन्दुक प्रयोग गर्दै आएका शिकारीहरू अहिले भरुवा बन्दुकलाई थन्क्याएर मोटरसाइकलमा प्रयोग हुने ब्रेक वायरको प्रयोग गर्ने गरेको पाइएको छ। अहिले सबैका हातमा मोबाइल, इन्टरनेट पहुँच पुगेसँगै बन्दुक प्रयोग गर्दा यसको आवाजले शिकार गरेको थाहा पाएर स्थानीयले प्रहरी प्रशासन लगायतलाई जानकारी गराउने डरले भरुवा बन्दुक लुकाएर मोटरसाइकलको ब्रेकवायरको पासो लगाएर शिकार गर्ने गरेको पाइएको हो।

बन्दुक पड्केको आवाज धेरै टाढासम्म सुनिन्छ। बन्दुक बोकेर जाँदा कोही कसैले देखि हाले आफू शिकारमा हिँडेको थाहा पाइने डरले शिकारीले आजभोलि बन्दुक प्रयोग गरेको त्यति सुनिएको छैन। आजभोलि प्रायः बे्रकवायरको पासो बनाइ चोरी शिकारी गर्ने गरेको पाइएको मुगुम कार्मारोङ गाउँपालिकाका एक स्थानीयले बताए।

सरकारले भरुवा बन्दुकलाई बेला–बेला प्रशासनमा बुझाउन सूचना दिँदै आएको छ। तर पनि अटेर गरेर लुकाइछिपाइ राखेकै छन्। 

बन्दुकको गोली भन्दा पनि बे्रकवायरको पासो खतरा हुन्छ। बन्दुकको गोली नलागे जनावर केही समयसम्म घाइते भइ बाँच्न सक्ने रहेछ। बे्रकवायरको पासोमा फसेको जनावरको छिनमै प्राण जाने गरेको स्रोतले बताएको छ। मोटरसाइकलको बे्रक वायर किनबेचमा समेत कडाइ गर्ने हो भने पनि केही हदसम्म चोरी शिकारी घट्न सक्ने स्थानीयको भनाइ छ। 

सरोकारवाला निकाय भन्छन्, सुराक पाएपछि प्रक्रिया बढ्छ 

विशेष सुराकका आधारमा माघ १३ गते रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी शिकारीमा संलग्न जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका–१ का रिय गाउँका २६ वर्षीय मान बहादुर कठायत सोही गाउँपालिका–१ काब्रा गाउँका ३९ वर्षीय गोरे कठायतलाई विशेष सूचनाको आधारमा रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र उक्त निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको  हनुमानध्वज गुल्मको संयुक्त टोलीले पक्राउ ग¥यो। 

यो एक नमुना घटना मात्र हो। अहिले पनि सरोकारवा निकायहरू भन्छन् स्थानीयले सुराक दिनुप¥यो अनि कार्यालयले प्रक्रिया अगाडि बढाउछ। आफैं अनुसन्धान तथा गस्ती गर्दाका समय यसरी वन्यजन्तु चोरी शिकारी तथा ओसापोसार गर्दा रंगेहात पक्राउ गर्न सफल भएको घटना छैन।

चोरी शिकारी नियन्त्ररण गर्न डिभिजन वन कार्यालय छ। यसका मातहतमा चारवटा पालिकामा चारवटै इलाका डिभिजन कार्यालय छन्। निकुञ्ज क्षेत्र संरक्षणका लागि रारा राष्ट्रिय निकुञ्ज र ७ वटा पोस्ट र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका ६ वटा पोस्ट छन्। नेपाल प्रहरीका चौकी पनि छन्। 

डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख जितेन्द्र महत भन्छन्। चोरी शिकारी न्यूनीकरणका लागि कार्यालयका चारै पालिकामा इलाका डिभिजन वन कार्यालय छन्। सबै पालिकामा केही समुदाय र विद्यालयमा चोरी शिकारीका बारे सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका भए पनि चोरी शिकार रोकथाममा कुनै सफलता हुन नसक्नु भनेको स्थानीयले सुराक नदिनु हो। 

चोरी शिकारीमा संलग्नलाई नियन्त्रण गर्न सबैभन्दा बढी समुदायको सहयोग चाहिन्छ। सुराक समुदायबाटै आउने भएकाले सुराकको आवश्यक महत्वपूर्ण हुन्छ। सुराक पाएपछि मात्र आवश्यक प्रक्रिया हुन्छ। कार्यालयले गर्ने भनेकै सुराकका आधारमा वा गस्ती गर्दा कहीँ कतै भेटिएपछि कानुनी प्रक्रियामा अगाडि जान सकिने हो। सबैभन्दा बढी यसमा समुदायको ठूलो सहयोग चाहिने भएका समुदाय सचेत हुन आवश्यक रहेको निमित्त कार्यालय प्रमुख महतले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.