विद्यादानं करो तुमे... !
हिन्दु धर्म र संस्कृतिअनुसार हामी बर्सेनि अनेकौं देवीदेवताको पूजाआजा बन्दना गर्दै उत्सव पर्वहरू मनाउने गर्छौं। ती अनेकौं पर्व उत्सवमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रूपमा मनाउँदै हामी वाणीको देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गर्दछौं। यसमा पनि परम्परागत रूपमा मनाउँदै आएको यो पर्व हामी हाम्रो देश रहिआएकाले नेपालभर विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा छ।
यसर्थ सरस्वतीको आराधना विद्या आर्जनको निमित्त गरिन्छ। विद्या आर्जनबाटै विनय, पात्रता योग्यता धन, धर्म, सुख र आनन्द पाइने आध्यात्मिक नीतिमा बताइएको छ। जुन भन्ने नै हो भने विद्याकी देवी सरस्वतीलाई जनबोलीमा विद्या शब्दको पर्यायवाची रूपमा लिने गरिन्छ। आजसम्म मानव जातिले हासिल गरेका सकारात्मक उपलब्धिहरू सरस्वतीको आराधनाबाट प्राप्त विद्याको सही सदुपयोग र अध्ययनका परिणाम हुन्। यसको साथसाथै वेद उपनिषद्, इतिहास भूगोल, खगोल आदिका ज्ञाता जसलाई हामी विभिन्न उपाधि जस्तै गुरु, जगद्गुरु, स्वामी, शंकराचार्य, ऋषि, महर्षि आदिको नामले पुकार्दछौं, ती सबै विद्याकी खानी सरस्वतीको उपासक भएर नै समाजमा प्रतिष्ठित र आदरणीय भएका हुन्। यसै भएर नै विद्याको महŒव र महिमालाई विद्याधनम् सर्व धनं प्रधानम् भनेर भनिएको हो।
यसै दिनदेखि वसन्त ऋतुको आगमन पनि हुने भएकाले माघ शुक्लपञ्चमीलाई मुख्य रूपले दुई अलग–अलग उत्सवको रूपमा मनाइन्छ। एक वसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीको रूपमा वसन्त पञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोटबिरुवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ। वसन्तपञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधाना गर्ने परम्परा छ। यसरी प्राचीन ग्रन्थ महाभारत आदिले पनि सरस्वतीको पूजा गर्ने कुराको उल्लेख गरेका छन्।
जुन सरस्वती ब्रह्माकी छोरी हुन् तर स्वयं ब्रह्माले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि ग्रन्थहरूमा उल्लेख छ। यसरी सरस्वतीको रूप र प्रकृतिको बारेमा ग्रन्थमा वर्णन गरिएअनुसार, सेतो कमलासनमा विराजमान भएकी, सेता वस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा वीणाधारण गरेकी र हाँस मा चढेकी सरस्वतीको प्रतीतस्वरूप पुस्तक, कमल, वीणा, आदिको पूजा गर्नाले ज्ञान र कलामा पारंगत हुन सकिन्छ भन्ने जनविश्वास छ।
हाम्रो नेपाली परम्परामा बालबालिकाहरूलाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरुवात गरिन्छ। पहिलेदेखि नै सानासाना बालबालिकालाई अक्षरारम्भ गर्दा पहिले सिद्धिबुद्धिदाता गणेशजीको पूजा गराइन्छ। त्यसपछि श्रीसरस्वती देवी र वेदव्यास जो हिन्दु वाङ्मय जगत्को गुरुको रूपमा लिइन्छ । यी सबैलाई यथोचित पूजा गरेर पढाउन सुरु गरिन्छ। अतः वसन्त पञ्चमीको दिनमा नेपालको ठाउँठाउँमा भएका सरस्वती मन्दिरहरू, प्राथमिक विद्यालय, महाविद्यालय, विश्वविद्यालय र पाठशालाहरूमा सरस्वती पूजाको समारोह नै गरिन्छ। यसमा पनि भन्ने नै हो भने खास गरेर विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरस्वतीका साधक तथा श्रद्धालु आआफ्ना पायक पर्ने सरस्वती मन्दिरहरूमा भेला भई सरस्वती देवीको विशेष पूजा आजा गर्न रमाउँछन्। यसै दिन स–साना बालबालिकाका अभिभावक उनीहरूको हात समातेर मन्दिरका भित्तामा ॐ नमो वागिश्वराय लेखेर अक्षराम्भ गराउँदछन्।
श्रीपञ्चमीको बारेमा कथन छ। जसमा लक्ष्मीले नारदलाई भनेकी थिइन्, ‘जुन सौभाग्यवती स्त्रीले यस माघ शुक्ल पञ्चमीको दिनदेखि ६ वर्षसम्म प्रत्येक महिनाको पञ्चमीको दिनदेखि ६ वर्षसम्म प्रत्येक महिनाको पञ्चमीको दिन व्रत बस्दछे, त्यो स्त्री उहाँ झैं नै सुखी र सौभाग्यवती हुन्छे’ भन्ने पौराणिक कथन भएकाले यस दिनको नाम श्रीपञ्चमी रहन गएको हो। यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानका लागि श्रद्धालु नरनारी विभिन्न नदी एवं तीर्थस्थलमा ठूलो भीड लाग्छ। यसबाहेक काठमाडौं हनुमानढोकास्थित गद्दी बैठकमा वसन्त श्रवण गर्ने परम्परासमेत छ। यस दिनमा कैयौं विद्यार्थी मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्छन्। यस अथाह विश्वमा ज्ञानको अभावमा मुक्ति असम्भव भएको पाइन्छ।
यसर्थ गीतामा भगवान् श्रीकृष्णले ‘नही ज्ञानेत सदृश पवित्रमिह बिधते’ भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिनु भएको छ। यसैले ज्ञान र विधाको देवीको आराधना ज्ञानका उपासक विधार्थीहरूले सरस्वती पूजाको अवसरमा पुस्तकको पूजासमेत गर्छन्। यसरी, वसन्त ऋतुको आगमनसँगै बौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने गर्छन्। विद्याको महŒव र महिमाको बारेमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ। मूलतः विद्या अविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो। जबकि विद्याबिनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्म विमुख र सुगन्धविहीन हुन्छ। त्यसैले त भनिएको छ रूप यौवन सम्पन्ना विशाल कुल सम्भवा विद्याहिना न शोभन्ते निर्गन्धा इव किंशुका। अर्थात् रूप र यौवनले सम्पत्र भए पनि, ठूलो कुलमा जन्मिए पनि विद्याहीन मानिस त सुगन्धरहित वासना नभएका पलाँस चाँपका फूल जस्तै शोभाहीन हुन्छन्।
त्यसैले श्रीपञ्चमी तथा सरस्वती पूजाको नैतिकता लगनशीलता र विद्याको महŒवलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुन्नति र सुखद भविष्य निर्माणका लागि अझ बढी सक्रिय भूमिका निर्वाह गर्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ। यी सम्पूर्ण कुराका आधारमा प्रज्ञा, मेधा, ध्यान, धारण, ज्ञान, विज्ञान, कला, संस्कृति, साहित्य, संगीत, सृष्टि, सिर्जनाकी आधारभूत श्रीसरस्वती माताको उत्सव मनाइने पर्व श्रीपञ्चमी, वसन्त पञ्चमीको महोत्सव जीवन र राष्ट्रिय जीवनको समग्र समुत्थानको लागि प्रार्थना गरौं। अतः सरस्वती माताले सम्पूर्ण नेपालीमा सत्य र श्रेय मार्गको अवलम्बन गर्दै अगाडि बढ्ने साहसको साथै तन, मन, धन, बल, बुद्धि र विवेकयुक्त नागरिक बन्ने प्रेरणा देऊन्।
प्रतिक्रिया दिनुहोस !